Logo
|
Sunday 23rd March 2025
Logo

epaper

विश्व दृष्टि दिवस २०२३: ‘कार्यस्थलमा आँखालाई माया गरौँ’

कार्यस्थलमा आँखालाई कसरी सुरक्षित राख्ने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज विश्व दृष्टि दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइएपिबीको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ । यसवर्षको विश्व दृष्टि दिवसको मुल नारा ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ तय गरिएको छ ।

डब्लुएचओ, आइएपिबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर काम गर्ने उमेरका करिब १ करोड ३० लाख ब्यक्तिहरु दृष्टि कमजोरीसँगै बाँच्ने गरेका छन् । वार्षिक रुपमा अनुमानित ३५ लाख मानिसहरुलाई कार्यस्थलमा नै दुर्घटनाबाट हुने आँखा सम्बन्धि चोट लाग्ने गरेको छ । त्यस्तै सामान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरुको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशत भन्दा कम रहेको छ ।

पछिल्लो अनुसन्धान (आरएएबी सर्भे २०२०) अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर छ । दृष्टिविहीन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) पहिलो कारण रहेको छ । अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपना रहेको छ ।

चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुँनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ । हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ । पुरुषको तुलनामा महिलाहरुमा दृष्टि विहिनता बढी छन् । नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ ।

दृष्टि कमजोर भएका बालबालिकाहरुको औपचारिक शिक्षा ५ गुणाले कमि हुने सम्भावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ । ५ जना अन्धोपना भएको बालबालिकाहरु मध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ । यो आँकडा अनुसार विगतमा भएको सर्भेक्षण भन्दा रोगको भार कम हुँदै गएपनि बुढ्यौलिपन, नयाँ रोगको बृद्धि र मुख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नुपर्ने हो त्यो अनुरुप भएको पाइदैन ।

नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखा रोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ । यसका अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मुल्याङ्कन समय समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनिकरण गर्दै उत्पादकत्व बृद्धि गरी राष्ट्रलाई समृद्धि तर्फ उन्मुख गर्न सकिन्छ ।

रोजगार दाताले प्रत्यक कार्यस्थलमा कर्मचारीको खतराको जोखिमलाई रोक्न, आँखा स्वास्थ्यको रक्ष गर्न, उमेरका कारणले प्राकृतिक रुपमा हुने दृष्टि सम्बन्धि समस्या कम गर्न आवश्यक छ ।

कार्यस्थलमा आँखालाई कसरी सुरक्षित राख्ने ?

  • आँखाको तनाव कम गर्न कार्यस्थलमा राम्रोसँग उज्यालो भएको सुनिश्चित गर्ने ।
  • आफ्नो आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउने । आँखा धेरै नै सुख्खा महशुस भए कृत्रिम आँसु प्रयोग गर्ने ।
  • आँखाको तनाव कम गर्न २०–२०–२० नियम पालना गर्न प्रत्यक २० मिनेटमा, २० सेकेन्ड ब्रेक लिइ आँखालाई आराम दिन कम्तिमा २० फिट टाढा हेर्ने ।
  • आँखाको तनाव कम गर्न काम बाहिर डिजिटल स्क्रिनहरु समावेश हुने गतिविधिहरुमा कम संलग्न हुने ।
  • आँखाको मांशपेशी बलियो बनाउन र तनाव कम गर्न आफ्नो आँखा घुमाउने वा टाढाको बस्तुमा ध्यान केन्द्रित गर्ने जस्ता अभ्यास गर्ने ।
  • सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडि मर्मतस्थल, मोटरसाइकल गाडी चलाउँदा, ट्राफिक प्रहरीहरु ड्यूटिमा रहँदा आदि) काम गर्नुहुन्छ भने सुरक्षात्मक चश्मा नियमित प्रयोग गर्ने ।
  • आँखाको स्वास्थ्य कायम राख्न र आँखा सुख्खा हुनबाट जोगिन पर्याप्त पानी पिउने ।
  • आँखा स्वास्थ्यको जाँच गर्न र दृष्टिसम्बन्धि कुनै पनि समस्यालाई तुरुन्तै सम्बोधन गर्नका लागि नेत्र सहायक/अप्टोमेट्रिस्ट वा नेत्र रोग विशेषज्ञसँग नियमित आँखा जाँच गर्ने ।

प्रतिक्रिया दिनुहोस्