
जनस्वास्थ्य सरोकार, मनहरी । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री जोशीले यस अस्पताललाई प्रदेशकै उत्कृष्ट बनाउने गरी काम गरिरहेको बताउनुभयो। मानसिक स्वास्थ्यका कारण आत्महत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उहाँको भनाइ थियो ।
प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्यको उपचार थप भएसँगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिनुभयो । अब महँगो खर्चमा हेटौँडाका निजी मेडिकलमा मानसिक रोग लागेका बिरामीको उपचार गर्नुपर्ने समस्या हटेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताउनुभयो ।
“पहिलेदेखि नै वहिरङ्ग सेवा (ओपिडी) मा आएका मानसिक समस्या भएका बिरामीको उपचार गरिँदै आइएको थियो”, उहाँले भन्नुभयो “मनोचिकित्सा वार्ड सञ्चालनमा आएसँगै अब भर्ना गरेर उपचार गर्न सहज हुनेछ ।” प्रसाईँका अनुसार अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइको हो ।
गत असारदेखि अस्पतालमा एकजना मनोरोग विशेषज्ञ नियुक्त भई ओपिडीमार्फत सेवा प्रवाह गरिएकामा अहिले सेवा विस्तार गरी आकस्मिक तथा भर्ना सेवासमेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ ।
वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट पाँच लाख खर्च गर्ने योजनाअनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईँले बताउनुभयो । आगामी आवदेखि अस्पतालमा तीन जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रूपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेका मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनःस्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ । रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
