Logo
|
Thursday 21st November 2024
Logo

epaper

मस्तिष्कघात र ब्रेन हेमोरेज : जब उनको एक्कासी देब्रे हातखुट्टा चलेन र बोली पनि बन्द भयो…

न्यूरो इन्टरभेन्सन प्रविधिको प्रयोगले ब्रेन हेमोरेज र मस्तिष्कघात जस्ता जटिल रोगको उपचार सहज, सरल र सफल उपचार



धादिङ निवासी २५ वर्षीया गृहिणी, रिता तमाङ (नाम परिवर्तित) को देब्रे हात र खुट्टा एक्कासी चलेन । बोली पनि बन्द भयो । परिवारले ३ घण्टामा अस्पताल पुर्याउन सफल भयो । स्क्यान गरेर हेर्दा दिमागमा रगत पुर्याउने मोटो नसा बन्द भएको रहेछ । तुरुन्त क्याथल्यावमा लगेर खट्टाको नसाबाट दिमागको बन्द भएको नसा सम्म सानो तारको सहायताले रगतको थेग्लो निकालियो ।

डा. सुवास फुँयाल, इन्टरभेन्सनल न्युरो रेडियोलोजिष्ट

नसामा जमेको रगतको थेग्लो (क्लट) निकाल्ने बित्तिकै बिरामी पहिलाको जस्तै हातखुट्टा चलाउन सक्ने र बोल्न सक्ने हुनुभयो । यो सेवालाई मेडिकल भाषामा मेकानिकल थ्रोम्बेक्टोमी भनिन्छ ।


रक्तसञ्चारमा अवरोध भई मस्तिष्कघात भएको अवस्थामा नसा खुलाउन थ्रोम्बोलाईसिस र थ्रोम्बेक्टोमी पद्धति अपनाइन्छ । थ्रोम्बोलाईसिसमा मस्तिष्कघातको लक्षण सुरु भएको ६ घण्टा भित्र औषधीय माध्यमबाट रगतको थेग्लो पगालिन्छ । मोटो नसा बन्द भई औषधीय माध्यमले सफल नभएको वा सो समय भन्दा ढिला तर २४ घण्टा भित्र अस्पताल आइपुग्न सफल बिरामीलाई नसाबाट मस्तिष्क सम्म तार पुर्याई क्याथल्याव मेसिनको मद्धतले नसामा जमेको रगतको थेग्लो निकालिन्छ । यस पद्धतिलाई मेकानिकल थ्रोम्बेक्टोमी अर्थात न्युरोइन्टरभेन्सन भनिन्छ ।

उक्त रगतको थेग्लो निकालेपश्चात् बिरामी पुनः पहिलेको जस्तै हिड्न, बोल्न सक्ने सम्भावना रहन्छ ।


मस्तिष्कघात (स्ट्रोक) को घटना समाजमा व्याप्त भए पनि जनचेतनाको कमी देखिन्छ । रुढिबादी उपचार पद्धतिमा विश्वास हुनु, यातायात सुविधाको अपर्याप्तता, भौगोलिक विकटता, साधन–श्रोतको अभाव र सिमित मात्रामा मात्र मस्तिष्कघात सम्बन्धि सेवाको उपलब्धताले निश्चित समयमा सही उपचार पाउन गाह्रो भएको देखिन्छ ।

मस्तिष्तघात दुइ तरिकाले हुन सक्छ । एउटा मस्तिष्क भित्रको रक्तनलीमा रगतको थेक्लो (क्लट) जमेर हुने समस्या स्केमिक स्ट्रोक हो भने अर्को मस्तिष्कमा रगतको अपूर्ति गर्ने धमनीहरु फुटेर ह्यामरेजिक स्ट्रोक हुनसक्छ ।


मस्तिष्कघातलाई हामी ब्रेन अट्याक पनि भन्दछौ । दिमागको नसा बन्द भएर एक्कासी आइपर्ने समस्या हो यो । यसलाई मेडिकल इमरर्जेन्सीमा वर्गिकरण गरिएको छ ।

यसका लक्षणहरुको पहिचान गर्न छोटकरीमा विफास्टलाई मनन गर्न आवश्यक छ ।
बी–ब्यालेन्स (सन्तुलन नहुनु, रिंगटा लाग्ने)
इ–आई आँखा धमिलो देख्ने
एफ–फेस (अनुहार बागिने)
ए–आर्म (हात, खुट्टा लुलो हुने)
एस–स्पिच (बोली लरबराउने)
टी–टाइम (समय खेर नफाली अस्पताल पुर्याउने)


दिमागमा रगत लिएर जाने नसा एक्कासी बन्द हुँदा दिमागका कोशिकाहरू मर्दछन् । मरेका कोशिकालाई जीवित बनाउन सकिँदैन र यसले बिरामीको मृत्यु समेत हुन सक्दछ । बाँचिहालेमा जीवनभर विकलाङ्ग भई बाँच्नुपर्ने बाध्यता हुनसक्दछ । यसले मानसिक, सामाजिक र आर्थिक भार थपिन पुग्दछ । त्यसैले बन्द भएको दिमागको नसा जति सक्दो छिटो खोल्न आवश्यक हुन्छ । मस्तिष्कघातका लक्षणहरू देखिएमा जतिसक्दो छिटो स्ट्रोक सेवाका लागि तत्पर अस्पतालमा पुर्याउनुपर्दछ ।

न्यूरो इन्टरभेन्सन पद्धतिबाट दिमागमा जमेको रगतको थेग्लो निकाली बिरामीलाई आंशिक वा पूर्णरुपमा पहिलाको अवस्थामा ल्याउन सकिन्छ ।


विश्व मानचित्रमा चिकित्साशास्त्रले ठूलो फड्को मारेको प्रविधीमध्ये एक हो न्यूरोइन्टरभेन्सन । यस प्रविधीमा मस्तिष्कमा रगत लिएर जाने र लिएर आउने रक्तनलीमा भएका विभिन्न किसिमका जटिल रोगहरुको शल्यक्रिया टाउको नै नखोली गरिन्छ । विकसित मुलुकमा अब्बल ठहरिएको यो प्रविधी विगत केही वर्षदेखि नेपालमा पनि उपलब्ध हुँदै आएको छ । न्यूरो इन्टरभेन्सन प्रविधिको प्रयोगले ब्रेन हेमोरेज र मस्तिष्कघात जस्ता जटिल रोगको उपचार सहज, सरल र सफल बनाएको छ । (डा. फुयाल उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्