Logo
|
Sunday 28th April 2024
Logo

epaper

टाउकोमा लाग्ने चोट: ट्रमाटिक ब्रेन इन्जुरीको कारण, असर, उपचार र रोकथाम

हाम्रो देशमा राज्यस्तबाट न्युरो रिह्याविलिटेसनमा लगानी शून्य



डा. गोपाल सेढाईं-वरिष्ठ न्यूरो सर्जन/सह-प्राध्यापक

टाउकोमा अचानक लाग्ने चोट हो ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआइ) । यसलाई हेड इन्जुरी पनि भनिन्छ । सवारी दुर्घटना, खेल खेल्दा लागेको चोट, हिंसा, विस्फोटक व्लाष्ट आदिले टाउकोमा लाग्ने चोट ट्रमाटिक ब्रेन इन्जुरी हो । स्ट्रोक, ट्युमर, एन्युरिजम, न्युरोलोजिकल समस्या, संक्रमण आदि कारणले ब्रेनलाई गराउने इन्जुरी नन ट्रमाटिक ब्रेन इन्जरी हुन् ।

ट्रमाटिक ब्रेन इन्जुरीको असर
टाउकोमा लागेको चोटले व्यक्तिको सोच्ने क्षमतालाई असर गर्नसक्छ । साथै ट्रमाटिक ब्रेन इन्जुरी घातक पनि हुनसक्छ । कतिपय व्यक्ति कोमामा समेत पुगेका हुन्छन् ।

वयस्क उमेर समुहका व्यक्ति ट्रमाटिक ब्रेन इन्जुरीबाट बढी प्रभावित छन् । ट्रमाटिक ब्रेन इन्जुरीलाई माइल्ड, मोडरेट र सिभियर गरी तीन भागमा वर्गिकरण गरिएको छ । यसले व्यक्तिको ठूलो धनराशी खर्च गराइरहेको छ ।

दिमागको झिल्ली बाहिर चोट लागेमा त्यो एक्स्ट्राड्युरल हेमाटोमा हो । भित्र भएमा सबड्युरल हेमाटोमा भनिन्छ । यसलाई रगत जमाउने हेमाटोमा पनि भनिन्छ । गिदीमा चोट लागेर थिलथिलो भएमा त्यसलाई कन्ट्युजन भनिन्छ । वास्तवमा ब्रेन सामान्य पिठोको डल्लो जस्तै हुन्छ । तर त्यसमा माइक्रोस्कोपिक रूपमा धेरै तारहरू हुन्छन् । चोट लाग्दा ति तार (एक्जन) हल्लिएमा डिफ्युजन एक्जोनल इन्जुरी हुने गर्छ ।

‘सर्ट टर्म मेमोरी लस’
टाउकोमा चोट लागेर रगत जम्ने समस्या प्राइमरी ब्रेन इन्जुरी हो । रगत जमेपछि दिमागलाई थिच्दै मस्तिष्कमा अक्सिजन नपुग्ने समस्या सेकेन्डरी हो । चोटले ब्रेनलाई असर नगरोस् भनेर प्रि हस्पिटल केयर कन्सेप्टको अभ्यास पनि चल्तीमा छ । टाउकोमा लाग्ने सामान्य समस्यालाई कन्कसन भनिन्छ । यसले मस्तिष्कलाई हानी पुर्याउँदैन । कतिपयलाई ‘सर्ट टर्म मेमोरी लस’ हुनसक्छ । यसमा चोट लाग्नुभन्दा पहिला वा पछिका घटनाको याद रहँदैन ।

सरकारी अस्पतालमा पुनःस्थापना सुविधा शून्य
ब्रेन इन्जुरीको रिकभरी ढिलो गतिमा हुन्छ । न्युरो रिह्याविलिटेसन गृहको अभावमा धेरैजसो बिरामीलाई अस्पतालमा लामो समयसम्म राख्नुपर्छ ।

हाम्रो देशमा राज्यस्तबाट न्युरो रिह्याविलिटेसनमा लगानी शून्य छ । कुनै पनि सरकारीस्तरमा रिह्याविलिटेसन र फिजियोथेरापी सुविधा छैन । तर विकसित मुलुकमा यस प्रकारको सुविधा राज्यस्तरबाट नै उपलब्ध गराइएको हुन्छ ।


के हो कोमा ?
बिरामीलाई बाहिरको केहीपनि चेतना नहुने समस्या हो यो । चिसो, तातो, चिमोटेको केही थाहा हुँदैन र प्रतिक्रिया गर्न सक्दैन । ६ महिनोेदेखि १ वर्षसम्म चेतना नफर्कने समस्या भएमा बिरामी कोमामा गएको मानिन्छ ।

रोकथाम

तीब्र र मादक पदार्थ सेवन गरेर सवारी साधन नहाँक्ने, सवारी साधन कन्डिसनमा राख्ने, मोटरसाइकल सवार गर्ने दुवैले अनिवार्य हेलमेट लगाउने आदि गर्नाले केही हदसम्म संभावित क्षति न्युनिकरण गर्न सकिन्छ ।

सरकारले ट्रमाटिक ब्रेन इन्जुरी भएका सिकिस्त बिरामीलाई उपचार खर्चवापत् एक लाख रुपियाँ र पक्षघात भएकाहरूलाई स्थानीय निकायले मासिक ५ हजार निर्वाह भत्ता दिँदै आएको छ । तर यो अवस्थासम्म बिरामी नपुगोस् भन्ने हाम्रो मान्यता हो ।

(लेखक त्रि.बि.शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्