Logo
|
Saturday 27th July 2024
Logo

epaper

फार्मेसीहरुलाई अभिभावकत्व प्रदान गरिदिन महानगरपालिकासँग नेपाल औषधि व्यवसायी संघको अनुरोध

विवादास्पद अभिव्यक्ति दिने महानगर स्वास्थ्य विभाग प्रमुख पौडेललाई प्रमाण पेस गर्न चुनौति



जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि व्यवसायीहरुले महानगर भित्र रहेका फार्मेसीहरुलाई अभिभावकत्व प्रदान गरिदिन काठमाडौं महानगरपालिकासँग आग्रह गरेका छन् ।

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलले केही मिडियामा हवाला दिँदै फार्मेसीहरुले औषधिमा लुट मच्चाइरहेको भनी तथ्यहीन र भ्रामक समाचारबारे खण्डन गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष (आयात) रामचन्द्र शर्माको नेतृत्वमा काठमाडौँ जिल्ला शाखाका महासचिव शुभ मान श्रेष्ठलगायतले महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई ध्यानकर्षण पत्रसहित सर्वसुलभ, गुणस्तरीय, उपभोक्तामुखी र गुड फार्मेसी प्राक्टिसमा जान अहम भूमिका निर्वाह गदिदिनसमेत आग्रह गरेका छन् ।

महानगरको स्वास्थ्य विभागजस्तो जिम्मेवार अधिकारीले दिएको आरोपयुक्त वक्तव्यले देशैभरका पीडित बिरामी उपभोक्तालाई सर्वसुलभ र समान मूल्यमा गुणस्तरीय एवं जनसुरक्षित औषधिहरु उपलब्ध गराई आम नेपाली जनताको स्वास्थ्योपचारमा महत्वपूर्ण योगदान गरिरहेका औषधि व्यवसायी तथा फार्मासिस्टहरुको मानमर्दन भएको पत्रमा उल्लेख गरिएको छ ।


काठमाडौं जिल्ला शाखाका महासचिव श्रेष्ठले औषधि व्यवसायीहरुले स्वास्थ्य प्रमुखले भने झै संविधान, ऐन, नियम र कानून विपरीत व्यापार व्यवसाय सञ्चालन गरेको र आफ्नो मनोमानी मूल्य निर्धारण गरी वास्तवमा लुट मच्चाइरहेको फेला पारेमा नेपालको कानून अनुसार सजाय भोग्न तयार रहेको बताउनुभयो । विवादास्पद अभिव्यक्ति दिने महानगर स्वास्थ्य विभाग प्रमुख पौडेललाई प्रमाण पेस गर्न समेत चुनौति दिइएको छ ।


मुलुकले अङ्गीकार गरेको अर्थ नीति, संवैधानिक व्यवस्था, मौजुदा ऐन र कानूनले निजी क्षेत्रबाट सञ्चालित उद्योग र व्यवसायको नियमन गर्ने र लगानी सुरक्षाको प्रत्याभूति गर्ने कार्य तीनै तहको सरकारको क्षेत्राधिकारमा पर्ने भएकोले काठमाडौं महानगरले पनि कार्यक्षेत्रलाई विषयान्तर नगर्न भनिएको छ । महानगरसँग हातेमालो गरी स्वास्थ्य सेवाको क्षेत्रमा सहयोगी भूमिका निर्वाह र हरपल सहकार्यका लागि तयार रहेको समेत उपप्रमुख डंगोल समक्ष बताइएको छ । सो अवसरमा उपप्रमुख डंगोलले यो विषयलाई सकारात्मक रूपले लिएको र तुरुन्त यस विषयमा सम्बन्धित निकायसँग विशेष छलफलका लागि लैजाने वचनबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्