Logo
|
Sunday 22nd December 2024
Logo

epaper

नेपालमा नसर्ने रोगको अवस्था भयावह, नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत



जनस्वास्थ्य सरोकार, नेपालगञ्ज । नेपालमा नसर्ने रोगको अवस्था भयावह बन्दै गएको छ । अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत बिरामीहरू नसर्ने रोगका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको सहयोगमा आज नेपालगञ्जमा आयोजना गरिएको नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यशाला गोष्ठीमा नेपालमा नसर्ने रोगबाट हुने मृत्यु ९१ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका सुजन जोशीले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार नसर्ने रोगबाट हुने मृत्यु ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको छ । नेपालमा मुख्य गरेर मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वास र मानसिक समस्या जस्ता नसर्ने रोगको ग्राफ बढ्दो छ । मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने विज्ञहरुको भनाई छ ।

कार्यक्रममा सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नसर्ने रोगको अवस्था नेपालमा भयावह बन्दै गइरहेको भन्दै ती रोगहरूको रोकथामका लागि सरकारले अभियानकै रुपमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हरेक नागरिकले आफ्नो खानपान र व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै उहाँले वार्षिकरुपमा आफ्नो स्वास्थ्य परीक्षणका लागि प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोगको उपचारका लागि सिफारिस लिन आउने मानिसहरू बढ्दै गएको भन्दै आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर बन्नुपर्ने अवस्था आएको बताउनुभयो । नसर्ने रोगहरूले समाजलाई गरिबीतर्फ धकेलिरहेको भन्दै उहाँले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याइरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका समग्र स्वास्थ्य सूचकाङ्कहरू तथा नसर्ने रोगको बढ्दो जोखिम र अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यशाला गोष्ठीमा उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। दिनेशकुमार चौधरी, सुरक्षित मातृत्व सञ्जाल महासङ्घका कोषाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नसर्ने रोग मानव र समाज विकासका लागि ठूलो चुनौती बनेको बताउनुभयो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गर्नुभएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सुरक्षित मातृत्वका लागि नसर्ने रोगहरूको जोखिम कम गर्न स्वस्थ सहर अभियानका लागि सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको सहयोगमा कार्यक्रम सुरु भएको छ । नवीन गिरी/ रेडियोनेपाल

प्रतिक्रिया दिनुहोस्