Logo
|
Sunday 28th April 2024
Logo

epaper

१८ औँ सार्क फेडरेसन अफ अंकोलोजिस्टस् क्यान्सर सम्मेलन काठमाडौंमा सम्पन्न

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत भन्नुहुन्छ -'क्यान्सर न्यूनीकरणका लागि सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नुपर्छ'



जनस्वास्थ्य सरोकार, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्ने बताउनुभएको छ।

सार्क फेडरेसन अफ अंकोलोजिस्टस् र सार्क फेडरेसन अफ अंकोलोजिस्टस् नेपालको आयोजनामा राजधानीमा शुक्रवारदेखि सुरु भएको १८ औँ सार्क फेडरेसन अफ अंकोलोजिस्टस् क्यान्सर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले क्यान्सर न्यूनीकरणका लागि सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिएर समस्याको समाधान खोज्नु पर्ने बताउनु भएको हो ।

हिजोमा दिनमा क्यान्सर भनेपछि निको नै नहुने रोगका रूपमा चित्रण गरिएको भए पनि वर्तमान अवस्थामा विज्ञहरूको मेहनत र नयाँ खोज अनुसन्धानले क्यान्सर पनि उपचार पछि निको हुने रोगको रूपमा लिन थालिएको बताउँदै मन्त्री बस्नेतले सार्क राष्ट्रका विज्ञहरूले आपसी अनुभव आदान प्रदान र उपचार विधिका विषयमा गहन छलफल गरेर ठोस परिणाम निकाल्न सक्ने विश्वास व्यक्त गर्नुभयो । क्यान्सर रोगको उपचारमा संलग्न चिकित्सकहरूको प्रशंसा गर्दै मन्त्री बस्नेतले भन्नुभयो- ‘ तपाईँहरूको मेहनत र प्रयासले हामी क्यान्सर विरुद्धको लडाई जित्न सक्छौ । यो अभियानमा सबैको संयुक्त अठोट आवश्यक छ । ’ आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि थुप्रै प्रयास अगाडि सारेको बताउँदै मन्त्री बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपालीले मृत्युवरण गर्न नपरोस् भन्ने अभिप्रायले काम गरिरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा सार्क राष्ट्रका क्यान्सर विज्ञहरूले क्यान्सर विरुद्धको लडाइँमा सबैको सहकार्य हुनुपर्नेमा जोड दिएका थिए । बलिउड अभिनेत्री मनीषा कोइरालाले क्यान्सर विज्ञहरूकै मेहनतका कारण आफूले क्यान्सरमाथि विजय प्राप्त गरेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विज्ञहरू डा‍. मदनकुमार पिया, डा विवेक आचार्य र डा. सन्ध्या चापागाईँ लगायतले क्यान्सर क्यान्सर विरुद्धको लडाइँमा सार्क देशका विज्ञहरूको संयुक्त पहल आवश्यक परेको बताउनुभएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रस्तुतीकरण गरेका चिकित्सकहरूलाई पुरस्कृत गरिएको थियो । सम्मेलनमा सार्क देशका वरिष्ठ क्यान्सर रोग विज्ञहरू सहभागी रहेको वरिष्ठ क्यान्सर रोग विज्ञ डा.राजेन्द्र प्रसाद बरालले जानकारी दिनुभयो ।

सन् २००१ मा स्थापना भएको यो संस्थाले पालै पालो सार्क देशहरूमा सम्मेलन आयोजना गर्दै आइरहेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्टसको आगामी १९ औँ सम्मेलन बंगालादेशको ढाकामा आयोजना हुने छ । शुक्रवार सुरु भएको सम्मेलन तिन दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्