
जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर अस्पताल चाँडै तीन सय श्ययामा विस्तार हुने भएको छ । चन्द्र शम्शेरको पालामा १९६१ असार १७ गते ‘चन्द्रलोक डिस्पेन्सरी’का नामबाट सञ्चालित उक्त अस्पताललाई केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्न लागिएको हो ।
बागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई तीन सय श्ययामा स्तरोन्नतिको निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत एक हजार छ सय ६९ जना (प्राविधिकसहित) कर्मचारीको सङ्गठन संरचना स्वीकृत गर्दै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमै खरिद गर्ने गरी करिब आठ करोडको सिटीस्क्यान मेसिन खरिद गर्न भक्तपुर अस्पताललाई बजेट विनियोजनसमेत गरेको छ । “भक्तपुरका बासिन्दालाई गुणस्तरीय उपचारका लागि उपत्यकाका महँगा निजी अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास छ, स्थानीयस्तरमा सुविधा सम्पन्न स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रदेश सरकारको नीतिअनुसारनै यो निर्णय भएको हो”, ढकालले भन्नुभयो ।
उपत्यकाकै पुरानो अस्पताल भए पनि सरकारबाट उपेक्षित हुँदै ७५ श्ययामा सञ्चालन हुँदै आएको यो अस्पताल बागमती प्रदेश सरकार मातहतमा गएपछि कोरोना महामारीको समयमा तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमको पालामा भेन्टिलेटरसहितको आइसियु सेवासहित एक सय ८६ श्ययासम्म सञ्चालन गरिएको थियो ।
डा.गौतमले भन्नुभयो, “अस्पताल व्यवस्थितरुपमा सञ्चालन गर्नसके बिरामीले अन्य अस्पताल धाउनुपर्दैन ।” प्रदेश सरकारले भक्तपुर अस्पताललाई एम्बुलेन्ससमेत प्रदान गरेको छ ।
अस्पतालका मेसु डा.त्रिभुवनचन्द्र झाले प्रदेश सरकारको निर्णयले आफूहरुलाई उत्साहित बनाएको उल्लेख गर्दै दरबन्दी थपसहितको परिपत्र आएपछि सेवा विस्तारका प्रक्रिया थालिने बताउनुभयो । “अब नयाँ भवनमा सेवा सञ्चालनको तयारी छ । भवनको अभाव हुँदैन,” उहाँले भन्नुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले एक वर्ष अगाडिनै भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल र यस वर्ष देशकै उत्कृष्ट अस्पताल घोषणा भएर प्रदेश सरकारबाट पुरस्कृत भएको अवस्थामा तीन सय श्ययामा स्तरोन्नति भएर थप प्रोत्साहन पाएको बताउनुभयो । उपचारका लागि अन्य अस्पतालबाट रिफर गरेर आउने गरी सेवा विस्तार गरिने उहाँको भनाइ छ । रासस
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
