Logo
|
Sunday 26th January 2025
Logo

epaper

शल्यक्रिया गर्दा डाक्टरले बिरामीलाई मुक्का हानेपछि…



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनमा एक चिकित्सकले शल्यक्रिया गर्दै गर्दा एक बिरामीलाई मुक्का हानेको देखिने एउटा भिडिओ सार्वजनिक भएपछि अधिकारीहरूले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

गत साता चिनियाँ सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि त्यसले अनलाइन माध्यममा ठूलो तरङ्ग उत्पन्न भएको थियो। उक्त घटना सन् २०१९ को भएको बताइएको छ।

यद्यपि अस्पताल सञ्चालन गर्ने समूह आइअर चाइनाले ती शल्यचिकित्सकलाई निलम्बन गरेको छ भने अस्पतालका प्रमुख कार्यकारीलाई पदमुक्त गरेको छ। बीबीसीले आइअर चाइनालाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।

हातपात किन
एक वृद्धाको आँखाको शल्यक्रिया गर्न लागेका चिकित्सकले उनको टाउकोमा कम्तीमा तीन पटक मुक्का हानेको भिडिओमा देखिन्छ।

आँखाका अस्पतालहरूको सञ्जाल सञ्चालन गर्ने आइअर चाइनाले उक्त घटना दक्षिणपश्चिम चीनको गुइगाङ सहरमा अवस्थित आफ्नो एउटा अस्पतालमा भएको पुष्टि गरेको छ।

शल्यक्रिया गरिएकी बिरामी ८२ वर्षे भएको र उनलाई दिइएको लट्ठ्याउने औषधिका कारण शल्यक्रियाका क्रममा उनले सहन नसकेको जनाइएको छ। उक्त समूहले जारी गरेको विज्ञप्तिका अनुसार ती महिलाले टाउको र आँखा धेरै पटक चलाएकी थिइन्।

ती महिला एउटा स्थानीय भाषिका मात्र बोल्न सक्थिन्। मान्डारिनमा दिएको चेतावनी उनले नबुझेकाले चिकित्सकले ती बिरामीलाई आपत्कालीन अवस्थामा हातपात गर्नुपरेको उक्त समूहले दाबी गरेको छ। स्थानीय अधिकारीहरूका अनुसार ती महिलाको निधारमा नीलडाम बसेको थियो।

क्षतिपूर्ति र कारबाही
शल्यक्रिया सकिएपछि अस्पताल प्रशासनले क्षमायाचना गर्दै ५०० यूआन (७० डलर) क्षतिपूर्ति दिएको ती महिलाका छोराले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्।

उनका अनुसार उनकी आमा अहिले देब्रे आँखा देख्दिनन्। तर उक्त घटनासँग उनको अवस्थाको सम्बन्ध भए वा नभएको स्पष्ट छैन।

आइअर चाइनाका अनुसार उक्त घटनाबारे अस्पतालले आफ्नो मुख्यालयलाई खबर गरेको थिएन। उक्त समूहले बिहीवार गुइयाङ अस्पतालका प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त र शल्यक्रिया गर्ने चिकित्सकलाई निलम्बन गरिएको घोषणा गरेको छ। ती चिकित्सक उक्त अस्पतालका डीन पनि हुन्।

आइआर चाइनाले उनलाई उक्त समूहका नियमहरूको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएको छ। उनलाई अरू कसुर गरेको आरोप पनि लागेको छ। तर ती खुलाइएको छैन।

घटना अहिले कसरी सार्वजनिक भयो
चिकित्सकले गरेको त्यस्तो व्यवहारको घटना सन् २०१९ को हो। तर चीनकी एक अग्रणी चिकित्सक आई फेनले शल्यक्रियाको सीसीटीभी फुटेज सार्वजनिक गरेपछि त्यो सार्वजनिक चर्चाको विषय बन्यो।

चीनको वुहानमा कोभिड महामारी फैलिएको भन्दै सर्वसाधारणलाई सतर्क गराउने चिकित्सकहरूमध्ये डा आई पनि थिइन्। उनले सामाजिक सञ्जाल वेइबोमा उक्त भिडिओ पोस्ट गरेकी थिइन्। वेइबोमा उनका २० लाखभन्दा बढी फलोअरहरू छन्।

सन् २०२१ देखि डा आई र आइअर चाइनाबीच कानुनी विवाद चलिरहेको छ। उनी त्यति बेल आइआर चाइनाले सञ्चालन गरेको एउटा अस्पतालमा आफ्नो शल्यक्रिया गराउन गएकी थिइन्।

त्यहाँ गरेको शल्यक्रियाका कारण आफ्नो एउटा आँखाको दृष्टि झन्डै गुमेको उनको दाबी छ। तर आइआर चाइनाले उनले लगाएको आरोप खण्डन गर्दै आएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्