Logo
|
Saturday 27th July 2024
Logo

epaper

रुपन्देहीको रोहिणी गाउँपालिकाले सुरु गर्यो बालिका बीमा कार्यक्रम



जनस्वास्थ्य सरोकार, लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिकाले बालिका बीमा कार्यक्रम सुरु गरेको छ । ग्रामीण क्षेत्रमा बालविवाहको अन्त्य गर्न, समयमै जन्मदर्ता, विवाह दर्ताजस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकलाई प्रोत्साहन गर्न बालिका बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले राससलाई बताउनुभयो ।

बीमा कार्यक्रमबाट बालिकाको उच्च शिक्षामा सहयोग पुग्ने तथा आर्थिक रूपमा कमजोर परिवारलाई केही भए पनि सहयोग पुग्ने अपेक्षासहित कार्यक्रम सुरु गरिएको अध्यक्ष यादवले बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा जन्मिएका बालिकाको बीमा गरिने बताउनुभयो। यो कार्यक्रमबाट भ्रूण हत्यामा कमी आउने र छोराछोरीबीचको भेदभाव पनि कमी आउने विश्वास गरिएको उहाँले बताउनुभयो ।

रोहिणी गाउँपालिका र प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा सम्झौता भएको छ । सम्झौताअनुसार रोहिणीअन्तर्गतका स्वास्थ्य संस्थामा र स्वास्थ्य संस्थाले सिफारिस गरेकामध्ये छोरी जन्मिएकालाई यो बीमा योजनामा आबद्ध गराइने उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँपालिका अध्यक्ष बालिका संरक्षण अभियानअन्तर्गत बालिका बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले बालिका बीमा कार्यक्रमले बालिकाको उच्च शिक्षामा मात्र नभई बालविवाह अन्त्य, घरमै सुत्केरी गराउने प्रचलनलाई स्वास्थ्य संस्थामा गराउन प्रोत्साहन गर्ने बताउनुभयो ।

‘बालिकालाई संरक्षण गर्ने गाउँपालिकाको अभियान छ’, उहाँले भन्नुभयो, ‘अभियानअन्तर्गत विभिन्न कार्यक्रम हुनेछन् ।’ यसका लागि कार्यविधिअनुसार एक बालिकाका लागि गाउँपालिकाले रु २० हजार एकपटक राखिदिने र अभिभावकले स्वेच्छाले रकम थपेर बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष वीरबहादुर क्षेत्रीले चालु आर्थिक वर्षमा बालिका बीमा कार्यक्रमका लागि रु ३० लाख विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले आव २०७९/८० र २०८०/८१ मा एक सय ९० जना बालिका रोहिणी गाउँपालिकामा जन्मिएका र मापदण्डमा पर्ने बालिकाको बीमा गरिने बताउनुभयो । उहाँले आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्