Logo
|
Saturday 27th July 2024
Logo

epaper

कोरोनाकालमा अनुदानमा आएकामध्ये दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोग विहीन , अन्यत्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी

कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ। कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताउनुभयो ।

“अहिले कोरोना भाइरसको सङ्क्रमण छैन । त्यतिबेला दातृ निकायले नेपालका लागि कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्यका उपकरण दिएका थिए”, उहाँले भन्नुभयो, “अहिले बिरामी नभएर र भौतिक संरचनाको नभएकाले उपकरण त्यत्तिकै थन्किएका छन् ।” उहाँका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरीकन उपलब्ध गराएका थिए ।

महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन रहेको बताउनुभयो । उहाँका अनुसार अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसियु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेशथेसिया वर्कस्टेशन प्रयोग नै नभई थन्किएका छन् ।

कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए । महाशाखाका निर्देशक डा.शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताउनुभयो । प्रयोग नै नभई थन्किएका उपकरणलाई अन्यत्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्