Logo
|
Tuesday 12th November 2024
Logo

epaper

वीर अस्पतालमा कसैले तालाबन्दी गरे आफैँ आएर ताला काट्छु: स्वास्थ्यमन्त्री बस्नेत



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताउनुभएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।’

महिलाको स्तन क्यान्सर भएरनभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिनुभयो । उहाँले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिकसत्रदेखि एमबिबिएस पढाई हुने व्यवस्था गरिएको बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस्