Logo
|
Tuesday 25th June 2024
Logo

epaper

चिनी र रोगः खुसीको क्षणमा खाइने चिनीले दीर्घकालमा खोस्न सक्छ खुसी

कति खाने गुलियो ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । दिल्लीकी १५ वर्षीया रियाको गर्दन, काखी र ‌औँलाको कापको छालामा पिगमेन्टेशन अर्थात् गहिरो रङ्गको दाग देखिएर समस्या भइरहेको थियो।

छालाका डाक्टरले उनलाई एन्डोक्रिनलजिस्टकहाँ पठाइदिए। जाँच गर्दा रियाको भोको पेटमा उनको ब्लड सुगर ११५ र खाना खाएपछि १८० पाइयो।

डाक्टरहरूका अनुसार भोको पेटको ब्लड सुगर १०० र खाना खाएपछिको ब्लड सुगर १४० सम्म सामान्य मानिन्छ।

रियाको उपचार गरिरहेका डा. सुरेन्द्रकुमार भन्नुहुन्छ–“रिया जङ्क फूड खान्थिन् र उनको परिवारमा मधुमेह भएको इतिहास थियो। उनी कसरत पनि गर्ने गरेकी थिइनन्। यदि बुवाआमालाई मधुमेह छ भने छोराछोरीलाई पनि मधुमेह हुने खतरा ५० प्रतिशत हुन्छ।”

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयस्थित पीडिएट्रिक एन्डोक्रिनलजिस्ट तथा सुगर, द बिटर ट्रूथ पुस्तकका लेखक डा रोबर्ट लस्टिगका अनुसार वयस्कहरूलाई हुने मधुमेह अब बालबालिकामा देखिन थालेको छ।

बालबालिकामा वयस्कलाई हुने रोग
डा. रोबर्ट लस्टिग भन्नुहुन्छ– “हिजोआज बालबालिकामा वयस्कलाई हुने रोग देखिन थालेका छन्। उदाहरणका लागि टाइप २ मधुमेह र फ्याटी लिभर।”

डा. लस्टिगका अनुसार सन् १९८० को दशकमा ती रोग वयस्कलाई हुन्थे। फ्याटी लिभरको समस्या सामान्यतया मदिरा पिउने व्यक्तिहरूलाई हुन्छ।

तर अमेरिकामा २५ प्रतिशत बालबालिकामा अहिले त्यो समस्या छ जबकि बालबालिका मदिरा सेवन गर्दैनन्।

बालबालिकाहरूले तुलनात्मक रूपमा पहिलाभन्दा अहिले क्यान्डी र चकलेटहरू धेरै सजिलैसँग पाउन थालेको उनी बताउँछन्।

शरीरलाई किन चाहिन्छ कार्बोहाइड्रेट

खाद्य पदार्थहरूमा कार्बोहाइड्रेट, चिल्लो र प्रोटीन पाइन्छ। मानव शरीरलाई ऊर्जाका निम्ति कार्बोहाइड्रेटको आवश्यकता पर्छ।

कैयौँ खाद्य पदार्थमा प्राकृतिक रूपमा कार्बोहाइड्रेट पाइन्छ। चिनीमा कार्बोहाइड्रेट हुन्छ।

चिनीबाहेक अरू सामान्य कार्बोहाइड्रेट पाइने चामल अथवा आटाका परिकार हाम्रो पेटमा पुगेपछि हाम्रो आन्द्राले ग्लूकोज निकाल्छ।

ग्लूकोजले शरीरमा इन्धनको काम गर्छ, अर्थात् यसबाट ऊर्जा प्राप्त हुन्छ।

मुम्बईस्थित डाइबीटीज केअर सेन्टरमा कार्यरत डा. राजीव कोविल र डा. सुरेन्द्र कुमार इन्स्युलिन रेसिस्टेन्सबारे बुझाउँदै भन्नुहुन्छ, “इन्स्युलिन हर्मोनले हाम्रो शरीरमा चालकको काम गर्छ। त्यसले ग्लूकोजलाई मिर्गौला र मुटुसहित अन्य कोशिकामा पुर्‍याउँछ।”

“इन्स्युलिनको मात्रा बढेपछि यसले काम गर्न बन्द गर्छ। त्यस्तो अवस्थामा ग्लूकोज अन्य विकल्पमार्फत्‌ प्रवेश गर्ने प्रयास गर्छ जसबाट कोशिकामा समस्या उत्पन्न हुन्छ। अनि त्यही ग्लूकोज हाम्रो शरीरमा बोसोको रूपमा जम्मा हुन थाल्छ र हामीलाई समस्या हुन थाल्छ।”

चिकित्सकहरूका अनुसार त्यसबाट हाम्रो शरीरमा चिनीको मात्रा बढ्न थाल्छ र विभिन्न रोगले शरीरलाई सताउन थाल्छ। त्यसबाट मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोग र क्यान्सरको समेत खतरा रहन्छ।

चिनी के हो?
सर गङ्गाराम अस्पतालस्थित एन्डोक्रिनोलजी तथा मेटाबोलिजम विभागका डा. सुरेन्द्र कुमारका अनुसार चिनी विभिन्न किसिमका हुन्छन्।

चिनीका अन्य प्रकारमा ग्लूकोज, ल्याक्टोज, सूक्रोज र फ्रक्टोज पर्छन्। डा. सुरेन्द्र कुमार भन्नुहुन्छ, “फलफूलमा ग्लूकोज र फ्रक्टोज बढी पाइन्छ। दूध, पनिरजस्ता डेरी उत्पादनमा ल्याक्टोज पाइन्छ। मह र फलहरूमा ग्लूकोज पाइन्छ र त्यो हानिकारक हुँदैन।” प्रशोधित चिनी अर्थात् सूक्रोज हालिने खानेकुरा बढी खाँदा शरीरलाई हानि पुग्छ।

गुलियो कति खानुपर्छ ?

वर्ल्ड ओबीसिटी एटलसको सन् २०२३ को प्रतिवेदन अनुसार सन् २०३५ सम्म संसारभरि ५१ प्रतिशत अर्थात्‌ चार अर्ब मानिस मोटोपनको सिकार हुनेछन्।

बालबालिकामा मोटोपन दुई गुनाले बढ्नेछ भने केटाहरूको तुलनामा केटीहरूमा मोटोपनको दर दुई गुनाभन्दा पनि बढीले वृद्धि हुने प्रतिवेदनमा उल्लेख छ।

भारतमा सन् २०३५ सम्म ११ प्रतिशत वयस्क मोटोपनको सिकार हुनेछन् जसका कारण अर्थव्यवस्थामा करिब १३,००० करोड भारुको भार थपिने अनुमान छ।

अमेरिकन हार्ट असोसिएशनका अनुसार एकजना पुरुषले प्रतिदिन ३६ ग्राम अथवा १५० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन। एकजना महिलाले भने २५ ग्राम अथवा १०० क्यालोरीभन्दा बढी चिनी खानु हुँदैन।

डा. राजीव कोविलका अनुसार सामान्यतया विकसित देशहरूमा चिनीको प्रयोग बढी हुन्छ। तर भारतमा अझ बढी प्रयोग हुन्छ।

सन् १९८० को मध्य अथवा सन् १९९० को दशकमा समृद्ध परिवारका मानिसहरूमा मधुमेहको समस्या देखिएको थियो।

त्यसको एउटा कारण खानालाई उनीहरूले विलासिताका सामानको रूपमा लिन्थे।

धेरै गुलियो खानुका बेफाइदा
जानकारहरूका अनुसार अत्यधिक मात्रामा गुलियो खाँदा त्यसबाट शरीरमा विभिन्न प्रकारका हानि पुग्छन्। यसका कारण मोटोपन हुन्छ भने त्यसपछि रक्तचाप, कोलस्ट्रोल, मधुमेह र मुटुसम्बन्धी रोगहरू निम्तिन्छन्।

तर चिकित्सकहरूका अनुसार अत्यधिक गुलियो खाँदैमा सुरुमै मोटोपनको समस्या हुन्छ भन्ने जरुरी छैन। अरू समस्या पनि हुन सक्छन्। उदाहरणका लागि महिलाहरूमा पीसीओडीको समस्या हुन्छ सक्छ, छालामा कालोपन अथवा पिगमेन्टेशन हुन सक्छन्।

चिनी र क्यान्सरको सम्बन्ध
कृत्रिम चिनीको प्रयोग लामो समयसम्म गर्दा शरीरलाई हानि पुर्‍याउँछ। चिकित्सकहरूका अनुसार क्यान्सरको एउटा कारण शरीरमा इन्सुलिनको मात्रा अत्यधिक हुनु पनि हो।

के क्यान्सरका बिरामीले गुलियो खानु हुँदैन त?

डा. राजीव कोविलका अनुसार क्यान्सरको बिरामले चिनी छोड्नैपर्ने खालको कुरा आएको छैन। तर शरीरमा अत्यधिक सुगर हुँदा क्यान्सरका लागि अनुकूल माहोल बन्छ। उनका अनुसार क्यान्सरको सम्बन्ध मोटोपन र मधुमेहसँग छ। किनकि त्यस्ता बिरामीमा क्यान्सरको समस्या २० प्रतिशत बढी पाइएको छ।

डा. सुरेन्द्र कुमार भन्नुहुन्छ–“यदि क्यान्सरको बिरामीलाई मधुमेह पनि छ अथवा ग्लूकोज सहन गर्न नसक्दा रगतमा चिनीको मात्रा बढ्न थाल्छ भने गुलियो खानु हुँदैन। तर त्यस्तो समस्या नरहेको खण्डमा बिरामीले सीमित मात्रामा गुलियो खान सक्छन्।” बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्