Logo
|
Friday 26th April 2024
Logo

epaper

अतिप्रशोधित खानेकुरा: शरीरका लागि कति घातक ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । अतिप्रशोधित खानेकुरा मुटु रोग, क्यान्सर, एङ्जाइटीलगायत ३० भन्दा बढी स्वास्थ्य समस्याहरूसँग जोडिएको छ।

अमेरिका र यूकेमा औसत खान्कीको ५० प्रतिशतभन्दा बढी प्रशोधित खानेकुरा हुन्छ। यस्ता खानेकुराको खपत विश्वभरि नै बढ्दै गइरहेको छ।

मिठाइ, पेय पदार्थ र चिकन नगेट्स त्यसकै उदाहरण हुन्। त्यसमा पाउरोटी, कर्नफ्लेक्स जस्ता ब्रेकफास्ट सिरियलहरू र दहीहरू पनि पर्छन्।

अतिप्रशोधित खानेकुरा भनेको के हो ?
अतिप्रशोधित खानेकुराको कुनै एउटा मात्रै व्याख्या छैन, तर सामान्यता यी खानेकुरा हाम्रा भान्सामा सहजै पाक्दैनन्।प्रशोधित खानेकुरामा केमिकल, रङ्ग, गुलियो पदार्थ मिसाइएको हुन्छ ताकि खानेकुरा राम्रो देखियोस् र स्वादिलो होस्।

अतिप्रशोधित खानेकुरा प्रशोधित खानेकुराभन्दा कसरी फरक ?
विभिन्न प्रकारका खानेकुराहरू चिन्नका लागि एउटा प्रणाली छ जसलाई चार भागमा बाँडिएको छ। यी चार प्रकारमा प्रशोधन नगरिएको र कम प्रशोधन गरिका खानेकुरा, प्रशोधित सामग्री, प्रशोधित खानेकुरा र अतिप्रशोधित खानेकुरा पर्छन्।

प्रशोधित खानेकुरा भनेको फलफूल, तरकारी, बदामका विभिन्न प्रकार, अन्डा र भान्सामा भएका प्रशोधित सामग्रीहरूको संयोजन हो। उदाहरणका लागि, गहुँको पिठो, पानी, नुन र इस्ट भन्ने तत्त्व राखेर बनाइएको पाउरोटी प्रशोधित खानेकुरा हो।

यद्यपि त्यसमा रङ्ग, छिट्टै बिग्रन नदिने पदार्थलगायत विभिन्न रासायनिक पदार्थहरू मिसाइएको छ भने त्यो पाउरोटी अतिप्रशोधित खानेकुरा हो।

अतिप्रशोधित खानेकुरा भनेर कसरी थाहा पाउने ?
स्पेनस्थित नभारा विश्वविद्यालयकी जनस्वास्थ्य विज्ञ प्राध्यापक माइरा बेस-रास्ट्रोलोका अनुसार कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्रीहरू मिसाइएको छ भने त्यो अतिप्रशोधित खानेकुरा हो।

अतिप्रशोधित खानेकुरामा धेरैजसो धेरै नुन, धेरै चिनी र स्याचुरेटेड फ्याट हुन्छ। यूके र अन्य केही देशहरूमा यी कुराहरूको मात्रा प्याकेटमा उल्लेख गरिएको हुन्छ।

प्याकिङमा ताजा खानेकुरा लेखिएको हुनसक्छ तर लामो समय नबिग्रियोस् भनेर प्रिजर्भेटिभुहरू हालिएको हुन्छ।

खानेकुरामा सोडियम बेन्जोएट, नाइट्रेट र सल्फाइट, बीएचए र बीएचटीलगायत के के सामग्री राखिएको छ भनेर लेबलमा हेर्ने गर्नुहोस्।

अतिप्रशोधित खानेकुरा कसरी विश्वभरि फैलिएको छ?
सबैभन्दा धेरै अतिप्रशोधित खानेकुरा खानेहरू अमेरिका र यूकेका मानिसहरू हुन्। सन् २०२३ मा औसतमा अमेरिकाका वयस्कहरूले ५८ प्रतिशत क्यालोरी प्रशोधित खानेकुराबाट लिन्छन् भने ६६ प्रतिशत क्यालोरी बालबालिकाले लिन्छन्।

यूकेमा वयस्क र बालबालिकाले प्रशोधित खानेकुराबाट त्योभन्दा एक प्रतिशत मात्रै कम क्यालोरी लिन्छन्।

एसियाका दक्षिण कोरिया र जापानमा अनि दक्षिण अमेरिकाका चिले र ब्रजीलमा मानिसले लिने क्यालोरीको २० देखि ३० प्रतिशत खानेकुरा प्रशोधित हुन्छ। दक्षिण अफ्रिकामा भने त्यो ३९ प्रतिशत रहेको छ।

अतिप्रशोधित खानेकुरा खानु खराब हो?
अतिप्रशोधित खानेकुराको असर स्वास्थ्यमा कस्तो पर्छ भन्ने कुनै निश्चित प्रमाण छैन। यद्यपि, विश्वभरिका करिब ९९ लाख मानिसबाट प्राप्त सूचनाका आधारमा गरिएको र ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले अतिप्रशोधित खानेकुराको असर यी कुराहरूमा जोडिएको देखाएको छः

  • हृदयाघातजस्तो बिमारीका कारण मृत्यु हुने उच्च जोखिम
  • मोटोपना
  • टाइप २ डाइबिटिज
  • निद्राको समस्या
  • एङजाइटी र डिप्रेसन

यद्यपि, खाना प्रशोधनकै कारणले बिमारी भएको हो वा ती खानेकुरामा धेरै चिल्लो पदार्थ, चिनी र नुनका कारण भएको हो भन्ने कुरा प्रमाणित हुन सकेन। अतिप्रशोधित खानेकुरा खाँदा त्यसले वजन बढाउने, टाइप २ डाइबिटिज हुने, मुटु रोग लाग्ने र केही क्यान्सरसमेत हुने भनिन्छ।

‘अतिप्रशोधित खानेकुरा खाँदा हुने पहिलो कुरा भनेको वजन बढ्नु हो,’ पोषणबारे लेखेका युनिभर्सिटी कलेज लन्डनका इम्युनोलोजिस्ट क्रिश भान टुलेकेनले भने।

‘यी खानेकुरामा पहिला नै फ्याट, चिनी र नुन धेरै हुन्छ। तर त्यसलाई आकर्षक देखाउन र मिठो बनाउनका लागि रङ र बास्ना पनि मिसाइएको हुन्छ जसका कारण मानिसले धेरै खान्छन्।’

इम्पेरियल कलेज लन्डनको एउटा अध्ययनले विश्वभरिका एक अर्बभन्दा बढी मानिस अर्थात् ८ मध्ये एक जनामा अहिले नै मोटोपना रहेको देखाएको छ।

सन् १९९२ र सन् २०२२ बीचमा मोटोपना दर वयस्क महिलामा दोबरभन्दा बढी, वयस्क पुरुषमा झन्डै तीन गुणा बढी र बालबालिका र किशोर किशोरीमा पाँच गुणा बढी देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क र ग्लोबल हेल्थ अब्जर्भेटरीको सन् २०१६ को तथ्याङ्कले अमेरिकाका २८ प्रतिशतभन्दा बढी वयस्कमा, युरोपका २६ प्रतिशतमा, पूर्वी भूमध्यसागरीय क्षेत्रमा १९ प्रतिशतमा र अफ्रिकाका ९ प्रतिशतमा मोटोपना देखिएको जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक वर्ष २ अर्ब ८० करोड मानिसको बढी वजन वा मोटोपनाका कारण मृत्यु हुने गरेको छ।

‘विश्वका धेरै देशमा अतिप्रशोधित खाना सहजै पाइन्छ र त्यो बजारमा पाइने अन्य परम्परागत खानेकुराभन्दा सस्तो पनि छ,’ युनिसेफकी पोषणविद् डाक्टर क्लेयर जनसनले भनिन्।

मधुमेह
इन्टरन्याशनल डाइबिटिज फेडेरेसनका अनुसार अहिले विश्वभरि नै धेरै मानिसलाई टाइप २ डाइबिटिज अर्थात् खानपानका कारण लाग्ने मधुमेह छ।

‘अतिप्रशोधित खानेकुरामा हुने चिनी, नुन र चिल्लो पदार्थ सबैले नै टाइप २ डाइबिटिज गराउने खतरा बढाउँछन् त्यस्तै यी खानेकुरामा क्यालोरी धेरै तर पोषण कम हुन्छ,’ युनिभर्सिटी अफ हेलसिन्कीस्थित जनस्वास्थ्यका प्राध्यापक जाक्को टौमिलेटोले भन्नुभयो ।

मध्यपूर्व र उत्तर अमेरिकामा टाइप २ डाइबिटिज देखिएका मानिसहरूको धेरै वृद्धि भएको छ। ‘यीमध्ये धेरै देशले खानेकुरा आफैँ उत्पादन गर्दैनन्, प्राध्यापक टौमिलेटोले भन्नुभयो ।

‘अतिप्रशोधित खानेकुरालाई भण्डारण गर्न र ढुवानी गर्न सजिलो हुन्छ। त्यसैले खाद्य कम्पनीहरूले धेरैजसो त्यही पठाउँछन्।’

कुपोषण
अतिप्रशोधित खानेकुराले धेरैजसो अफ्रिकी सब सहारा देशहरूमा कुपोषण देखा परेको जोनसन बताउनुहुन्छ ।

‘अतिप्रशोधित खानेकुरामा परम्परागत खानेकुरामा जस्तो आइरन, मिनरल र भिटामिनजस्ता पोषक तत्त्वहरू पाइँदैन,’ उहाँले भन्नुभयो ।

यद्यपि, अमेरिकास्थित पर्ड्यू विश्वविद्यालयका वैज्ञानिकहरूले अतिप्रशोधित खानेकुरामा केही फाइदा हुनसक्ने बताएका छन्। ती फाइदामाः

  • भिटामिन ई र क्याल्सियमजस्ता पोषक तत्त्व
  • कम आय भएका मानिसलाई ताजा खानेकुराभन्दा अतिप्रशोधित खानेकुरा किन्न सस्तो पर्छ
  • खानेकुरा कम फ्याँकिन्छन्

ब्रिटिश न्युट्रिशन फाउन्डेसन जसले खानेकुरा बनाउने कम्पनीसँग काम गर्छ र दान लिन्छ उसले सबै अतिप्रशोधित खानेकुराहरू समान नभएको बताउँछन्।

‘होलग्रेन (अन्नबाट कुनै तत्त्व नफ्याँकिकने बनाइएको) सिरियल, होलमिल ब्रेड र लो–फ्याट योगर्ट (चिल्लो तत्त्व कम गरिएको दही) जस्ता खानेकुरामा कम चिनी, नुन र फ्याट हुन्छ र त्यो पनि अतिप्रशोधित खानेकुरामा वर्गीकृत छ, विज्ञान निर्देशक सारा स्ट्यानर भनिन्छ । यी खानेकुरामा आवश्यक पोषक तत्त्व र फाइबर पाइन्छ।

अतिप्रशोधित खानेकुराविरुद्ध कस्तो कदम चाल्दै आइएको छ?
यूके सरकारले सन् २०१८ मा चिनी मिसाइएका पेय पदार्थमा थप कर लगाएको थियो र कैयौँ उत्पादकहरूले चिनीको मात्रा घटाएका थिए।

सन् २०२३ मा कोलम्बियाले चिनी भएका पेय पदार्थ र अतिप्रशोधित खानामा समयसँगै बढ्ने गरी १० प्रतिशत थप कर लगाएको थियो।

सन् २०१६ मा चिलेले चिनी, फ्याट र धेरै क्यालोरी भएका खानेकुरामा चेतावनीको लेबल लगाएको थियो।

विश्वमा धेरै मोटोपना हुने बालबालिकाको सङ्ख्या चिलेमा धेरै छन्। चिलेले चिनी, नुन र क्यालोरी धेरै हुने बालबालिकाको खानेकुराको विज्ञापन र प्रचारप्रसारमाथि पनि रोक लगाएको थियो।

यद्यपि, त्यस्ता प्रतिबन्ध लगाए यताको चार वर्षमा त्यहाँ बालबालिकाको मोटोपना दर निरन्तर रूपमा बढिरहेको छ। बीबीसीनेपालीबाट साभार

प्रतिक्रिया दिनुहोस्