Logo
|
Friday 26th July 2024
Logo

epaper

झापामा आठ लाखले सेवन गरे हात्तीपाइले रोगविरुद्धको औषधि



नेपाल हेल्थ न्युज, बनियानी (झापां) । झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो ।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीका अनुसार १५ दिने अभियानअन्तर्गत आठ पालिकामा लक्ष्यअनुरुप औषधि खुवाइएको छ । बिर्तामोडमा सबैभन्दा धेरै एक लाख २० हजार चार सय ४८ जनाले औषधि सेवन गरेका छन् । सबैभन्दा न्यून भद्रपुर नगरपालिकामा ३२ हजार पाँच सय ४८ जनाले औषधि सेवन गरेका उहाँले जानकारी दिनुभयो ।

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशतभन्दा बढी औषधि सेवन दर आवश्यक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बिर्तामोडले एक सय प्रतिशत, मेचीनगरमा ८१ दशमलव १२, बुद्धशान्तिमा ९१, कनकाईमा ८५ दशमलव १३, शिवसताक्षीमा ८८ दशमलव २६, गौरीगञ्जमा ८६ दशमलव ५९, बाह्रदशीमा ८६ दशमलव ६२ तथा कचनकवलमा ८६ दशमलव ६३ प्रतिशतले औषधि सेवन गरेका छन् ।

यस्तै, अर्जुनधारामा ७४ दशमलव ४४ प्रतिशत, कमलमा ७१ दशमलव ३९, दमकमा ७२ दशमलव ९५, गौरादहमा ६६ दशमलव ९२, झापा गाउँपालिकामा ७६ दशमलव ६८, हल्दिबारीमा ७१ दशमलव ९७ र भद्रपुरमा ४५ दशमलव ७४ ले औषधि सेवन गरेका छन् ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनुभयो । ‘एक पटक खाऔँ, यो वर्ष अन्तिम बनाऔँ’ भन्ने नाराका साथ झापामा वैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औँ चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भएको थियो । कार्यालयले नौ लाख ६२ हजार आठ सय ६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिएको थियो ।

जिल्लामा औषधि सेवनका लागि ६ सय ६ स्वास्थ्य स्वयम्सेविका र सात सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्