Logo
|
Friday 26th July 2024
Logo

epaper

थापाथलीको स्त्री तथा प्रसूति अस्पतालमा आजदेखि इको कार्डियोग्राफी सेवा सुरुः निजीको तुलनामा ३ गुणा सस्तो



नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आजदेखि गर्भवती र गर्भमा रहेको शिशुको मुटु जाँच गर्न फेटल इको कार्डियोग्राफी सेवा सुरु भएको छ ।

हरेक हप्ताको आइतबार, मंगलबार र बिहिबार गर्भवती तथा पाठेघर सम्बन्धि विभिन्न समस्या लिएर आएका आमाको इको कार्डियोग्राफी गरिने छ भने सोमबार, बुधबार र शुक्रबार गर्भमा रहेको शिशुको इको कार्डियोग्राफी सेवा लिन सकिने छ ।

सेवा लिने व्यक्तिले अपरान्ह ३ बजे नाम दर्ता गराइसक्नुपर्ने र बेलुका ५ बजेबाट सेवा लिन सकिने अस्पतालका कार्यकारी निर्देशक डा. श्रीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

डा. अधिकारीका अनुसार अस्पतालमा मुटुका डाक्टर नभएकाले अन्य सरकारी अस्पतालबाट पार्ट टाइमका लागि बोलाएर सेवा उपलब्ध गराइने छ ।

इको कार्डियोग्राफी सेवा लिन अन्य अस्पतालमा भौतारिनुपर्ने समस्याको अन्त्य भएको छ । अस्पतालले निजीको तुलनामा तीन गुणा सस्तो मुल्य निर्धारण गरेको छ । अस्पतालले आमाको लागि १ हजार ९ सय र बच्चाको इकोका लागि २ हजार ५ सय सेवा शुल्क निर्धारण गरेको छ । तर, निजी स्वास्थ्यसंस्थाहरुले आमाको इको कार्डियोग्राफी गर्न करिब ६ हजार र बच्चाको इको गर्न ८ हजार रुपियाँसम्म शुल्क लिने गरेको पाइन्छ ।

विगतमा गर्भवती महिलाको इको कार्डियोग्राफी गर्ने प्रचलन थिएन । सुविधा र ज्ञानको कमि थियो । गर्भमा रहेको बच्चाको मुटुको समस्या २४ हप्ता देखि पूर्णरुपमा थाहा हुन्छ । त्यसैले २८ हप्तासम्म इको कार्डियोग्राफी गर्दा सम्भावित मुटुका रोगी पहिचान गर्न सकिन्छ । यसबाट मुटुको समस्या व्यवस्थापन गर्न मार्ग दर्शन गर्ने अस्पतालका कार्यकारी निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्पष्ट पार्नुभयो ।

हरेक दिन २० जनाले सेवा प्राप्त गर्ने छन् । विरामीको चापको आधारमा सेवा विस्तार गरिने उहाँको भनाइ छ । हरेक दिन अस्पतालमा बहिरंग सेवा लिन आउने करिब १ हजार महिलामध्येमा गर्भवति महिलाहरु ३ सय देखि ५ सयको हाराहारीमा हुने गरेको डा. अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्