Logo
|
Saturday 26th October 2024
Logo

epaper

रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



नेपाल हेल्थ न्युज, रुकुम पश्चिम । रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको बैठकबाट रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा घोषणा गरिएको हो ।

जिल्लामा रहेका १६ महिना देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूले पाउनुपर्ने सबै १३ प्रकारका खोपको पूरा मात्रा पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

घरधुरी सर्वेक्षणबाट जिल्लामा १६ देखि ५९ महिना उमेर समूहका ८ हजार ७ सय ८८ बालबालिका फेला परेका थिए । उनीहरूमध्ये ९ जनाले खोप नपाएको र १ सय ५४ जनाले बिचमै खोप लगाउन छाडेको फेला परेकामा उनीहरूमा पनि खोपको मात्रा पुरा गरेको खड्काले बताउनुभयो ।

हरेक वर्ष लक्षित समूहका बालबालिकाले पुरा खोप लगाए नलगाएको बारेमा अनुगमन गर्ने र सबैले खोप पाएको सुनिश्चित भएको खण्डमा जिल्लालाई प्रत्येक वर्ष खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्