Logo
|
Sunday 15th September 2024
Logo

epaper

धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन



नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको ९७ औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबिचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिनुभएको हो । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो । 

“विश्वविद्यालयले तत्कालै नयाँ अस्पताल खोल्न र त्यसका लागि सरकारले लगानी गर्न नसक्ने भएकाले धुलिखेल अस्पतालसँगको सम्बन्ध र सहकार्यलाई कम्तीमा पाँच राखिनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस अवधिभित्र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने गरी तयारी गर्नेछ । यीलगायत नीतिगत विषयमा आगामी भदौभित्र विश्वविद्यालयको अर्को सिनेट बैठक गरेर निर्णय गरिनेछ । त्यही बैठकमा अन्य चुनौती र कठिनाइका विषयवस्तुलाई पनि छलफलमा राखिनेछ ।” 

सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा भोला थापालाई स्पष्ट पार्न समय दिनुभएको थियो । पूर्व उपकुलपति डा सुरेशराज शर्मासहितको राय लिएर कुलपति ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठान्नुभएको हो ।

प्रधानमन्त्री ओलीले सिट क्षमता अनुसार विश्वविद्यालयमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिनुभयो । 

नेपाल सरकारको गत आर्थिक वर्षमा अनुमानभन्दा २४ प्रतिशतले राजस्व कम उठेको र खर्च डरलाग्दो गरी बढेकाले चाहेर पनि सरकारले विश्वविद्यालयलाई थप अनुदान दिन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईको उपस्थितिमा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा अच्युतप्रसाद वाग्लेबाट प्रस्तुत रु चार अर्ब ३० करोड ९० लाख बजेट पारित भएको छ । यस्तै सभाले आगामी २९ औँ दीक्षान्तका लागि विभिन्न सङ्कायबाट दीक्षित हुने दुई हजार तीन सय १४ विद्यार्थीको ग्रेसलिष्ट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्