दक्षिण अफ्रिकी देशमा फैलिएको एमपक्स प्रकोप के हो, कसरी सर्छ ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको एमपक्सका कारण त्यहाँको जनस्वास्थ्यसम्बन्धी निकायले महादेशभरि स्वास्थ्य आपत्काल घोषणा गर्नेबारे छलफल गरिरहेको छ।
अहिले फैलिइरहेको एमपक्स नयाँ भेरिअन्टको भएका कारण यसअघिका भन्दा थप चिन्ताजनक देखिएको छ। विज्ञहरूले आफूहरूले अहिलेसम्म देखेको मध्येकै यो सबैभन्दा खतरनाक अवस्था भएको बताएका छन्।
एमपक्स कति सामान्य हो र कुन-कुन देशमा देखिएको छ?
मङ्कीपक्स भाइरसको सङ्क्रमणका कारण एमपक्स हुने पर्छ। यो मानिसहरूलाई बिफर गराउने समूहकै भाइरसको एक प्रजाति हो। तर यो कम घातक भएको बताइन्छ।
यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ। यो रोग प्रायः उष्णतटीय वर्षावन नजिक रहेका डीआर कङ्गोजस्ता अफ्रिकी देशहरूमा पाइन्छ। यो क्षेत्रमा वर्षेनी हजारौँ व्यक्तिमा यसको सङ्क्रमण हुने गरेको छ भने सयौँको मृत्यु हुने गरेको छ।
पन्ध्र वर्ष मुनिका बालबालिका यसबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन्। यो भाइरसका प्रमुख दुई वटा प्रकार धेरै फैलिएका छन्।
“क्लेड १” मध्य अफ्रिकामा समुदायस्तरमा फैलिएको छ। “क्लेड १बी” चाहिँ नयाँ प्रजाति हो र यो थप सङ्क्रामक छ। पछिल्लो प्रकोप यही प्रजातिका कारण फैलिएको बताइएको छ।
अफ्रिकाको द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार सन् २०२४ को आरम्भदेखि जुलाईको अन्त्यसम्ममा मात्रै १४,५०० जनाभन्दा धेरै यसबाट सङ्क्रमित भएका छन्। यो अवधिमा एमपक्सबाट ४५० जनाको मृत्यु भएको तथ्याङ्क छ। सन् २०२३ को यही अवधिसँग तुलना गरेर हेर्दा सङ्क्रमणमा १६० प्रतिशत र मृत्युदरमा १९ प्रतिशत वृद्धि भएको देखिएको छ।
एमपक्सका ९६ प्रतिशत सङ्क्रमण डीआर कङ्गोमा भए पनि यसको सङ्क्रमण छिमेकी राष्ट्रहरू बुरुन्डी, केन्या, रवान्डा र युगान्डामा पनि फैलिइसकेको छ। तर ती देशहरूमा समुदाय स्तरमा यसको सङ्क्रमण देखिएको छैन।
यसको कम गम्भीर र कम सङ्क्रामक रहेको भेरिअन्ट “क्लेड ११” ले सन् २०२२ मा पश्चिम अफ्रिकामा देखिएको थियो र विश्वव्यापीरूपमा फैलिएको थियो। सन् २०२३ को जुनमा नेपालमा पनि पहिलो पटक एक जना विदेशी महिलामा एमपक्स सङ्क्रमणको पुष्टि भएको थियो। तर नेपालमा उक्त सङ्क्रमण फैलन पाएन।
एमपक्स त्यसबेला युरोप, एशिया र अफ्रिकाका करिब १०० देशहरूमा फैलिएको थियो। त्यसपछि जोखिम समूहमा रहेका मानिसहरूलाई यसविरुद्ध खोप दिन सुरु गरिएको थियो। डीआर कङ्गो जस्ता देशहरूमा यसको खोप सहजै उपलब्ध छैन। जसकारण स्वास्थ्य अधिकारीहरू यो प्रकोपको नियन्त्रणलाई लिएर चिन्तित देखिएका छन्।
एमपक्सका लक्षणहरू के हुन्
यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन्। जब ज्वरो उच्च हुन्छ त्यसपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन्। यो अनुहारबाट सुरु भएर शरीरका अन्य भागमा फैलिन्छ। हात र पैतालामा बढी देखिन्छ।
बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ र त्यो बिस्तारै फोका बनेर आफै झरेर जान्छ। तर बिमिरा आएका ठाउँमा दाग रहिरहन सक्छ। यसको सङ्क्रमणबाट आउने बिमिरा १४ देखि २१ दिनमा आफैँ निको भएर जाने हुन्छन्। तर गम्भीर बिरामीहरूमा शरीरभरि नै बिमिराहरू आउने हुन्छन्। मुख, आँखा र यौनाङ्गमा बिमिरा बढी फैलने र दुख दिने हुन्छ।
यो कसरी सर्छ?
सङ्क्रमित व्यक्तिसँगको नजिकको संसर्गबाट एमपक्स सर्न सक्छ। यो भाइरस शरीरमा घाउ वा श्वासनली वा आँखा वा मुख वा नाकबाट छिर्न सक्छ। अहिलेसम्म यसलाई यौन रोगका रूपमा हेरिएको छैन तर यौन क्रियाकलाप गर्दा हुने नजिकको सम्पर्कमा यो सर्न सक्छ।
भाइरसबाट सङ्क्रमित भएका वस्तु जस्तै रगत, लुगा कपडा वा तौलिया छोएर पनि यो सर्न सक्छ। त्यस्तै बाँदर, मुसा वा लोखर्के लगायतका जनावरका माध्यमबाट पनि यो सर्न सक्छ। सन् २०२२ को प्रकोपमा यो भाइरस यौन संसर्गबाट फैलिएको पाइएको थियो। यो पटक डीआर कङ्गोमा सङ्क्रमण फैलनुमा पनि यौन संसर्ग जिम्मेवार रहेको ठानिएको छ।
एमपक्सको जोखिममा को छन्?
एमपक्सका अधिकांश सङ्क्रमणहरू यौन क्रियाकलापमा सक्रिय मानिसहरूमा र समलिङ्गीसँग यौन संसर्गमा संलग्न पुरुषहरूमा देखिएको छ। धेरै यौन जोडी बनाएका वा नयाँ जोडी बनाउनेहरू पनि यसको जोखिममा हुन्छन्। एमपक्सको लक्षण भएका मानिसहरूसँग निकट रहेका मानिसहरू र स्वास्थ्यकर्मी तथा उनीहरूका परिवारका सदस्यहरू पनि जोखिम रहन्छन्।
एमपक्स सङ्क्रमित मानिसहरूसँग निकट सम्पर्कमा नआउन मानिसहरूलाई सुझाव दिइएको छ। आफ्नो समुदायमा भाइरस फैलिएको अवस्थामा बारम्बार साबुन पानीले हात धुन भनिएको छ। यसबाट निको भए पनि १२ हप्तासम्म यौन सम्पर्क गर्दा कन्डमको प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ।
उपचार के हो?
बिफरको उपचारका लागि विकास गरिएको थेरापी एमपक्सको उपचारमा पनि उपयोगी देखिएको छ। तर यो कति प्रभावकारी छ भन्ने अनुसन्धान भएको छैन। सङ्क्रमण रोकथाम गरेर यसको प्रकोप नियन्त्रण गर्न सकिन्छ। यसको उपचारका लागि सबैभन्दा राम्रो चाहिँ खोप हो।
एमपक्सविरुद्ध तीन वटा खोप विकास भएका छन्। तर खोप जोखिममा रहेका वा सङ्क्रमितसँग निकट सम्पर्कमा रहनुपर्ने मानिसहरूका लागि मात्रै यसको खोप सिफारिस गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले सबै मानिसहरूले यसको खोप लगाउनुपर्ने आवश्यकता नरहेको जनाएको छ। एमपक्सको नयाँ प्रजातिविरुद्ध अहिले उपलब्ध खोपहरू कति प्रभावकारी छन् भन्ने पनि अध्ययन हुन बाँकी छ।
विश्व स्वास्थ्य सङ्गठनले खोप उत्पादकहरूलाई एमपक्सको खोप आपत्कालीन प्रयोगका लागि मात्रै उपलब्ध गराउन भनेको छ। खोपको आवश्यकता भएको भनिएका देशहरूमा पनि यस विरुद्धको खोपले औपचारिक स्वीकृति पाएको छैन। बीबीसी