Logo
|
Wednesday 18th September 2024
Logo

epaper

निःशुल्क मिर्गौला परीक्षण शिविरबाट सानेपाका ३ सयबढी लाभाविन्त



नेपाल हेल्थ न्युज, ललितपुर । निःशुल्क मिर्गौला परीक्षण शिविरबाट ३ सय बढीले सेवा लिएका छन् । नेपाल विधावारिधि संघको आयोजनामा ललितपुर महानगरपालिका वडा नं २ स्वास्थ्य कार्यान्वयन समिति र मिर्गौला बचाऔँ अभियान बनस्थलीको सहकार्यमा शनिवार सानेपामा निशुल्क शिविर आयोजना गरिएको हो । शिविरलाई राष्ट्रिय मिर्गौला उपचार केन्द्र र नेपाल मेडिसिटी हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. नविन बहादुर बस्नेतको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले ३१४ जनाको निःशुल्क मिर्गौला सम्बन्धी पिसाब, चिकित्सकीय जाँच सेवा प्रदान गरेको थियो ।


सो शिविरमा मिर्गौला जोगाउने उपायबारे सर्वसाधारणलाई जानकारी गराइनुकासाथै पोषण विशेषज्ञबाट सन्तुलित खानपानबारे परामर्श समेत दिइएको थियो ।

डा. बस्नेतले मिर्गौला खराब हुन थालेको सुरुवाती अवस्थामा कुनैपनि लक्षण नदेखिने र मिर्गौलामा निकै क्षति पुगेपछि मात्र लक्षण देखिने हँुदा मिर्गौलालाई पूरानै अवस्थामा फर्काउन गाह्रो हुने बताउनुभयो । यस्तो अवस्थामा बिरामीले डायलाइसिस वा मिर्गौला प्रत्यारोपण गर्नुपर्नेसम्मको अवस्था आउनसक्ने भन्दै नियमित मिर्गौला सम्बन्धी जाँच गर्न सुझाउनुभयो ।

उहाँले मिर्गौला परीक्षण गरिएका धेरैजसोमा उच्च रक्तचाप, सुगर तथा मोटोपन भेटिएकाले खानपानमा विशेष ध्यान दिन सुझाव दिनुभयो । उहाँले भन्नुभयो–‘परीक्षण गरिएकामध्ये मिर्गौलासम्बन्धी जटिल समस्या नदेखिए पनि मिर्गौलाको परीक्षणसँगै यसलाई जोगाई राख्नका लागि अपनाउन सकिने उपायका बारेमा पनि सचेत गराएको छु ।’

त्यस्तै नेपाल विधावारिधि संघ काठमाडौँका अध्यक्ष डा. सुनिल बाबु श्रेष्ठले नेपालमा नसर्ने रोगको स्थिती जटिल बन्दै गएकाले देशका विभिन्न स्थानमा शिविर सञ्चालन गर्दैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं २ स्वास्थ्य समन्वय समितिका अध्यक्ष राजेश मान महर्जनले आफ्नै ठाउँमा निशुल्क मिर्गौला परीक्षण शिविर आयोजना भई उपचार तथा परामर्श सेवा पाउँदा स्थानीयवासी निक्कै हर्षित भएको बताउनुभयो । आगामी दिनमा मिर्गौला स्वास्थ्यलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु संचालन गर्ने उहाँले बताउनुभयो ।

मिर्गौला स्वास्थ्यको महत्वबारे जानकारी गराई आम सर्वसाधरणलाई बार्षिक परीक्षण गर्ने बानी बसाल्ने उदेश्यले मिर्गौला बचाऔ अभियान कार्यक्रम सुरुवात गरिएको अभियानका अनुसन्धान अधिकृत डा. सुरक्षा सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्