Logo
|
Sunday 12th January 2025
Logo

epaper

रुपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने



नेपाल हेल्थ न्युज, रुपन्देही । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रुपन्देहीका ५९ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ गते पहिलो चरणमा र फागुन १ गते दोस्रो चरणको खोप अभियान सञ्चालन हुने भएको हो । खोप अभियन्ताहरूले विद्यालयमै पुगेर छ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई खोप लगाउने छ ।

विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २५ देखि माघ ९ गतेसम्म जिल्लाले पालिका स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन कार्य भइरहेको छ । यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेको ज्ञवालीले बताउनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. बिबि राउतले समयमै रोगको पहिचान र निदानका लागि पाठेघरको मुखको जाँच नियमित गराउनु पर्ने बताउनुभयो । ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउन उहाँले आग्रह गर्नुभयो।

नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्