Logo
|
Thursday 30th January 2025
Logo

epaper

भेरी अस्पतालका बिग्रेका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले बनाउने  



नेपाल हेल्थ न्युज, नेपालगञ्ज । भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबिच बिग्रिएका उपकरणको मर्मत गर्ने सम्झौता भएको छ । सम्झौता भयसँगै आविष्कार केन्द्रले अस्पतालमा रहेका बिग्रिएका उपकरण मर्मत गर्नेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी तथा आविष्कार केन्द्रका तर्फबाट आविष्कार अधिकारी, अभिनव आनन्द दत्त र देवेन्द्र कुमार साह सहभागी हुनुभएको थियो । भदौ ५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रसँग बिग्रिएका उपकरण मर्मतको सम्झौता गरेको थियो ।

उक्त सम्झौता अनुसार देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएर वा प्रयोगविहीन अवस्थामा रहेका स्वास्थ्य उपकरणको मर्मत र उपकरणको अवस्था राष्ट्रिय आविष्कार केन्द्रले पत्ता लगाउने काम अहिले गरिरहेको छ । त्यसै क्रममा भेरी अस्पतालसँग पनि सम्झौता भएको हो ।

बिग्रिएको उपकरण कसैले मर्मत गर्न तयार नहुने भएकाले आफूहरूले सेवा भावको हिसाबले काम गरिरहेको केन्द्रका  आविष्कार अधिकारीले बताउनुभयो । अस्पतालमा जे–जे उपकरण बिग्रिएका छन् । त्यसको मर्मत गर्छौं,’ उहाँले  भन्नुभयो, ‘वारेन्टी सकिएको उपकरणलाई बनाउँछौँ । मर्मत गर्न नसक्ने उपकरणलाई बनाउन सक्दैनौँ भनेर सिफारिस गर्छौं ।’

सुरुमा आविष्कार केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने वा नसकिने छुट्टाउनेछन् । त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी मर्मत हुनेछ ।

अस्पतालका प्रमुख मेसु डा. सुवेदीका अनुसार अस्पतालका प्राविधिक र आविष्कार केन्द्रका जनशक्तिले अब बिग्रिएका उपकरण सङ्कलन र मर्मतको लागत अनुमान गर्ने काम गर्नेछन् । सरकारले ठूलो धनराशी खर्च गरेर खरिद गरेका र दाताले दिएका धेरै स्वास्थ्य उपकरणहरू अस्पतालको स्टोरमा थन्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्