मानव स्वास्थ्य, औषधि व्यवसायी माथिको खेलवाड र शब्दयुद्धको अन्त्य कहिले ?

हाम्रो नेपालमा ऐन छ तर पालना छैन, नीति छ तर विधि छैन भनेको झै भएको छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि र औषधिजन्य सामग्रीहरुको बिक्री वितरण र व्यवस्थापनमा आखिर यो किन र कहिले सम्म ? वर्तमान समयमा नेपालको बजारमा औषधि जस्तै देखिने चिकित्सकले सिफारिस गर्ने तर औषधी हो कि न्युट्रास्युटिकल्सको नाममा अन्य जसको बजारीकरणले स्वस्थता दिने नाममा मानव स्वास्थ्यसँग खेलवाड त गरिरहेका छैनन्, यसको नियमन कसले गर्ने ? नियमन गर्ने सम्बन्धित मन्त्रालय र विभागको प्रेस विज्ञप्ती र सूचनाका नाममा गरिएको प्रतिस्पर्धाले शितयुद्ध चलिरहेको भान हुन्छ । के यो शितयुद्धले यसको समाधान वा निकास निक्लिन सक्ला ?
यदि निक्लिन सक्छ भने सुचनामा घम्सघाम्सी नभई एउटै टेबलमा बसौँ । ढिला सुस्ती किन भईरहेको छ, यसबारे समिक्षा गरेर निकास निकालौँ । यसको स्थायी निकास के हुनसक्छन् र कसले निकाल्ने होला ? यो र यस्ता प्रवृतिका कारण कहिलेसम्म साँढेको जुधाई बाच्छाको मिचाईमा परेर घरगोठको दुध र खेतवारीको पौष्टिकताले भरिपुर्ण अन्न बेचेर पौष्टिक आहारको नाममा आएका पौष्टिक आहारको एकिन नभएका नामका मात्र न्युट्रास्युटिकल्स प्रोडक्ट खानु पर्ने हो हाम्रा जनताले ?
यति भनिरहँदा बजारमा राम्रा न्युट्रास्युटिकल्स प्रोडक्टहरु छैनन् भन्न खोजेको चाहिँ हैन । बजारमा जति प्रोडक्टहरु छन् तिनीहरु पनि यसैको सेरोफेरोमा परेर मिचिनु परेको छ ।
साथै, यसको प्रत्यक्ष मारमा खुद्रा औषधी पसल सञ्चालन गरेर अहोरात्र खटि समाजलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका व्यवसायीहरु परिरहेका छन् । औषधि जगतलाई व्यवस्थित, मर्यादित बनाउने र बिरामीहरुलाई असरयुक्त, जनसुरक्षित, गुणयुक्त औषधिको उपलब्धता गराउने विशुद्ध उद्धेश्य सहित बनेको औषधि ऐन २०३५ले के औषधि व्यवसायीहरुलाई मात्र नियमन गर्ने हो र ? यो ऐन को दफा ८(क), १० र १०(क) लाई देखाएर दण्ड दिंदा नियामक निकायले दफा २७ ले निर्दिष्ट गरेको स्वास्थ्यकर्मीले लेखेको पुर्जाको पालना एवम् जनस्वास्थ्य ऐन २०७५को दफा २९(८) अनुसार नीति र विधिको पालना गर्दै गरेको किन न देख्ने?
आजको दिनमा चिकित्सकद्वारा दैनिक प्रत्येक तीन वटा मध्ये दुइवटामा न्युट्रास्युटिकल्स प्रोडक्ट लेखिएको पे्रस्कृप्सन हात पर्दा ‘न खाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बा को अनुहार’ झै भएको छ हाम्रो खुद्रा औषधी व्यवसायीहरुको व्यथा ।
हेक्का रहोस् औषधि व्यवसायीहरु प्रेस्कृप्सन लेख्ने हैन त्यसमा लेखिएको निर्देशन अनुसार उचित परामर्श सहित सेवा प्रदान गर्ने हुन् ।
औषधि व्यवसायीहरुलाई त्यो ऐनका दफाले अनुबन्धित गर्दछ भने त्यहि जनस्वास्थ्य ऐन २०७५ को दफा ३(१), १३, २९(१) र ४५(२) साथै औषधी ऐन २०३५को दफा २७ ले अन्य सम्बन्धित निकायलाई छुदैन किन? के जहिले पनि निमुखा खुद्रा औषधि पसलहरु मात्र पीडित बनिरहनु पर्ने ? कसैको निहित स्वार्थपूर्तिका लागि सामाजिक प्रतिष्ठा गुमाइरहनु पर्ने ? कसैको सफलताको लागि गहभरी आँशु लिई बैसाकी बनिरहनु पर्ने ?
यसैको सेरोफेरोमा रहेर हेर्दा हामी र सेवाग्राहीहरु अनावश्यक झमेला र दुविधामा रुमल्लिदै व्यवसाय र स्वास्थ्य माथि संकट पैदा भइरहेको छ । यसको आवश्यकता र वैज्ञानिक प्रमाणिकरणको आधारमा नियमन र नियन्त्रण गर्नु अति नै जरुरी भइसकेको छ । तसर्थ, नेपालमा रहेका यस बिषयसँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायहरुले एक आपसमा मिलेर सहकार्य, समन्वय र सहजीकरण गरी निकास दिनु अति नै आवश्यक छ । मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने अति नै संवेदनशील औषधि र औषधि बजारमा विकराल समस्या सिर्जना गरिरहेको बिषयलाई नियमन गर्न हाम्रा सरकारी निकाय र संस्थाहरू जिम्मेवार हुनुपर्दछ । जसको उद्देश्य नै गुणस्तर, सुरक्षा र प्रभावकारीता सुनिश्चित गर्नु हो । तर, सम्बन्धित निकायहरूले आफ्नो भूमिका, जिम्मेवारी र कर्तव्यहरूको पालना कहिले गर्ने ?
माथिका सम्पूर्ण कुरालाई मध्येनजरमा राखी केही क्षण बुझौँ यसबारे केही सामान्य कुराहरु,
हाम्रो छिमेकी राष्ट्र भारतको FSSAI का अनुसार Food Safety and Standards (Health Supplements, Nutraceuticals, Food for Special Dietary Use, Food for Special Medical Purpose (FSMP), Functional Food, and Novel Food) Regulations, 2016″ अन्तर्गत, FSMP लाई यसरी परिभाषित गरिएको छः
(d) Food for special medical purpose” means food intended for dietary management of persons with specific medical conditions and used only under medical advice.
अहिले हाम्रो औषधि बजारमा देखिएका मध्ये अधिकांश यहि FSMP भित्र पर्दछन् । उपरोक्त निर्देशानुसार न्युट्रास्युटिकल्स प्रोडक्ट र डायट्री सप्लिमेन्टमध्ये यसै प्रकृतिका विशेष सप्लिमेन्टलाई FSMP को रूपमा वर्गीकृत गरिएको छ । तसर्थ, यसको एप्रुभल प्रक्रिया पनि कसको निगरानीमा राख्दा उचित हुन्छ त्यो बुझ्नु अघि बुझौँ के हो त FSMP र यस अन्तर्गत के कस्ता विशेष सप्लिमेन्टहरु पर्दछन् ?
Food Safety and Standards Authority of India (FSSAI) का नियमहरू अनुसार, Foods for Special Medical Purpose (FSMP) अन्तर्गत यस्ता प्रकृतिका उत्पादनहरू पर्छन् । जसको उद्देश्य चिकित्सकीय अवस्थाहरूको आहार व्यवस्थापन हो । यी उत्पादनहरू विशेष प्रकारका व्यक्तिहरूको पोषण आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएका हुन्छन् । जसलाई सामान्य आहारबाट मात्र पर्याप्त पोषण प्राप्त गर्न सम्भव हुँदैन् ।
FSSAI का अनुसार FSMP उत्पादन सामान्य व्यक्तिका लागि होइन । यो चिकित्सकीय निगरानीमा मात्र सेवन गर्नुपर्छ । यो उत्पादनको उद्देश्य विशिष्ट रोग वा अवस्थाको आहार व्यवस्थापन हो । यो चिकित्सकीय आवश्यकताका लागि विशेष खाद्य पदार्थ (FSMP) उत्पादनहरू निम्न अवस्थामा पोषण पूर्ति गर्न प्रयोग गरिन्छ ।
१.कुपोषण
२. मधुमेह
३. क्यान्सर
४.मिर्गौला विफल
५. न्यूरोलोजिकल डिसअर्डर
६. पाचनसम्बन्धी समस्या
यस एफएसएमपी अन्तर्गतका उत्पादनहरूको प्रकृति वा मिश्रणहरु निम्न रहन्छन्ः
१. Complete Formula Products (सम्पूर्ण पोषण प्रदान गर्ने): यी उत्पादनहरूले एक व्यक्तिको सम्पूर्ण पोषण आवश्यकता पूरा गर्न सक्छन । जस्तै, Enteral Nutrition Formula: ट्यूब फिडिङ (tube feeding) का लागि प्रयोग हुने फर्मुला ।
२. Partial Nutrition Products (आंशिक पोषण प्रदान गर्ने): विशिष्ट पोषण तत्वको कमि पूर्ति गर्न डिजाइन गरिएका । Protein Supplements: Renal patient का लागि low-protein formula ।
३. Disease-Specific Formula (रोग विशेषका लागि) : मधुमेह, क्यान्सर, वा मिर्गौला रोग जस्ता अवस्थाको लागिः जस्तै, Diabetic formula (मधुमेह भएका व्यक्तिका लागि कम ग्लाइसेमिक इंडेक्स फर्मुला) र Renal Formula (किड्नी रोगीका लागि कम सोडियम र कम पोटासियम मिश्रण )
४. Elemental or Semi-Elemental Formula (पचाउन सजिलो): पाचन प्रणाली कमजोर भएका व्यक्तिका लागि । जस्तै, अमीनो एसिड र ग्लुकोजमा आधारित फर्मुला ।
५.Special Infant Formula (शिशुहरूका लागि): जन्मजात समस्या भएका शिशुहरूका लागि । जस्तै, ल्याक्टोज फ्रि फर्मुला र Protein hydrolysate फर्मुला ।
यो FSMP उत्पादनको लेबलिङ सम्बन्धी नियमहरु FSSAI का को रेगुलेसनमा स्पष्ट रुपमा लेखिएको छ, उत्पादनको नाम नजिकै “FOOD FOR SPECIAL MEDICAL PURPOSE भनेर प्रष्ट लेख्नुपर्छ । चिकित्सकीय सल्लाह आवश्यक छ भन्ने बुझाउन RECOMMENDED TO BE USED UNDER MEDICAL ADVICE भनेर लेबलमा उल्लेख गर्नुपर्छ ।
माथि FSSAI रेगुलेसन २०१६ले निर्देशित गरेको उत्पादनहरुको उत्पादन र सेवन विधि RDA अनुरुपको मापदण्ड अनुसार गर्ने गरिन्छ । RDA को भूमिका न्युट्रस्युटिकल्स लगायत माथि भनिएका शिर्षकहरुमा महत्वपूर्ण रहन्छ । किनभने, यसले पोषक तत्वहरूको अनुशंसित मात्रा प्रदान गर्दछ । जसले शरीरलाई आवश्यक पोषण प्रदान गर्दछ ।
के हो आरडीए ?
Recommended Dietary Allowance (RDA) मानव शरीरलाई स्वस्थ रहन दैनिक आवश्यक पर्ने पोषक तत्वहरूको मात्रा सूचक हो ।
भिटामिन ए को आरडीए
–पुरुषः 900 mcg/day
–महिलाः 700 mcg/day
फोलिक एसिडको आरडीए
–पुरुष र महिलाः 400mcg/day
म्याग्नेसियमको आरडीए
–पुरुषः
–१९–३० वर्षः 400mcg/day
–३१ वर्ष र माथिः 420mcg/day
– महिलाः
– १९–३० वर्षः 310mcg/day
–३१ वर्ष र माथि 320mcg/day
यो उमेर, तौल र अवस्था अनुसार केही मात्रामा परिवर्तन हुनसक्छ ।
उल्लेखित आरडीएको मात्रा युएस नेशनल एकेडेमिज अफ साइन्सेस इन्जिनियरिङ एन्ड मेडिसिनद्धारा प्रकाशित डायन्ट्री रिफ्रेन्स इन्टेक्स (डिआरआइएस) मा आधारित छन् ।
एकपटक, स्वतन्त्र भई विचार गरौँ त, हाम्रा बजारमा आएका यस्तै प्रकृतिका वस्तुहरु केहि न्युट्रस्युटिकल्स प्रोडक्टको नाममा अनलाइनको माध्यमबाट बिक्री वितरण भईरहेका छन् । जसमध्ये म एउटा व्यापक प्रचार प्रसार गरिएको एक प्रोडक्टको कुरा गर्न चाहन्छु जसमा भिटामिन ए १६०० एमसीजी फोलिक एसिड ४०० एमसीजी र म्याग्नेसियम १०० एमजी छ । जसमा भिटामिन ए आरडीए भन्दा धेरै भयो फोलिक एसिड बराबर छ भने म्याग्नेसियम धेरै नै कम छ । यो कस्तो समिश्रण होला ? यसलाई औषधि पुरक वा पौष्टिक आहार पुरक वा खाद्य पुरक के भन्न सकिन्छ ? यदि न्युट्रास्युटिकलमा आरडीए अनुसार मात्रा छैन भने, यसले उचित रूपमा काम गर्दैन । आरडीएको मात्रा धेरै भए स्वास्थ्य समस्या पैदा गर्न सक्छ । जबकी धेरै कम मात्राले पोषक तत्वको कमी वा अप्रभावी परिणाम दिनसक्छ । यसर्थ उचित मात्रा (आरडीए अनुसार) नभएको न्युट्रास्युटिकलले आशा गरिएको स्वास्थ्य लाभ प्रदान गर्न सक्दैन भनेर अध्ययनले भनिसकेको छ ।
माथि भनिएको न्युट्रा र म्याग्नेसियमको मात्रा RDA अनुरुप खाने हो भने दिनमा ४ क्याप खानुपर्ने भो । यो सेवन गर्दा भिटामिन ए ६४०० एमसीजी र फौलिक एसिड १६०० एमसीजी पुग्ने भयो । जुन आरडीए भन्दा धेरै नै हुनजान्छ । यो स्वास्थ्यका लागि हानीकारक हुन्छ । यदि एक क्याप मात्र खाने होभने म्याग्नेसियमको आरडीएले तोकेको मात्रा नै पुग्दैन । तर भिटामिन ए को मात्रा धेरै हुन्छ । अब भन्नुस् आरडीए अनुरुप मात्राको संयोजन मिलेन भने त्यसबाट हुनसक्ने सम्भावित क्षयको जिम्मेवार को ? आयातकर्ता कि बिना अध्ययन दर्ता गरी बजारीकरण गर भनी प्रमाणपत्र जारी गर्ने संस्था ?
यो एउटा नितान्त प्रतिनिधि प्रोडक्ट मात्र हो । तसर्थ, स्वतन्त्र व्यापार गर्न पाउनुपर्छ । लगानीको सुनिश्चितता हुनुपर्दछ । सरकारको नीति व्यवसायीमुखी हुनुपर्दछ भन्ने बिषय भन्दा भिन्न मत कदापी पनि हैन् । तर, सेवाग्राहीको पनि ख्याल राख्नु जरुरी छ, जसका कारण सेवाग्राहीलाई अनावश्यक मानसिक या आर्थिक भार सहन गर्न बाध्य नपारियोस् । सेवाग्राही जनता पनि स्वस्थ हुन जनसुरक्षित, असरयुक्त र गुणयुक्त औषधी वा औषधिजन्य वस्तु सुपथ मुल्यमा सर्वसुलभ प्राप्त गर्न पाउनुपर्दछ । यसबारे यस पेशा र व्यवसायसँग सम्बन्ध राख्नेहरुले मनन गर्नुपर्दछ ।
अन्त्यमा, यस्ता प्रकारका विकृति र विसंगतिलाई चिर्दै सम्बन्धित नियामक निकाय र सरोकार राख्ने संघसंस्थाले जुधेर हैन मिलेर यसको शिघ्र निकाश निकाली नीति र विधिको शासनको अनुभूति दिनुपर्दछ । सेवाग्राहीले सहि उपचार र निदान पाउनु पर्यो भने व्यवसायीहरुलाई दण्डित हैन औषधि बिक्रीमा व्यवस्थित र मर्यादित बन्न प्रेरणा मिल्ने वातावरण सिर्जना गर्नुपर्दछ । समयमा नै सम्बन्धित निकायको यसै लेख मार्फत ध्यानकर्षण गराउन चाहन्छु ।
(लेखक श्रेष्ठ औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाको महासचिव हुनुहुन्छ । )