नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा आगामी फागुन १७ गते अन्तर्राष्ट्रिय मधुमेह सम्मेलन हुने भएको छ ।
धनयोगा फाउन्डेसनको आयोजना र डायबिटिज एण्ड इन्डोक्राइनोलोजी एसोसिएसन नेपालको समन्वयमा काठमाडौंको रोयल टुलिप द म्यासिफ होटेलमा सो सम्मेलन हुने भएको हो ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युनिभर्सिटी अफ म्यासुच्युसेट अमेरिका र नेपाल हेल्थ क्रप्सको सहकार्य रहने छ ।
सम्मेलनमा विश्व स्वास्थ्य संगठन , स्वास्थ्य मन्त्रालय , एनसिडि अलायन्स लगायतका २० जना बक्ता हुनेछन् भने २०० जना सहभागीहरु हुनेछन् । सम्मेलनमा ‘की नोट स्पिकर’ का रुपमा अमेरिका र भारतका अनुसन्धानकर्ता तथा विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहनेछ ।
धनयोगा फाउण्डेशनका संयोजक कमल विश्वकर्माका अनुसार, सम्मेलनमा भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजको इन्डोक्राइनोलोजी विभाग प्रमुख डा नितिन कपुर, बेइस्टेट मेडिकल सेन्टरमा कार्यरत डा. राजु पन्त, अमेरिकाबाट डा अजय चौधरी, प्रा.डा मेरेडिथ हकिन्स, डा. राल्फ डेफरेन्जो, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रोबिन मास्के, भारतका डा. निहाल थोमस, विश्व स्वास्थ्य संगठनबाट डा. ग्याम्पो दोर्जी लगायतको सहभागिता हुने छ ।
नेपाल र दक्षिण पूर्वी एसिया क्षेत्रमा बढ्दो मधुमेहको बोझलाई सम्बोधन गर्न नेपालमा पहिलोपटक एक दिने मधुमेह सम्मेलनको आयोजना गर्न लागिएको धनयोगा फाउन्डेसन नेपालकी अध्यक्ष स्मृति शर्मा तिवारीले जानकारी दिनुभयो ।
‘मधुमेह उपचार र निगरानीमा आविष्कारः जीवनको गुणस्तरमा वृद्धि’ सम्मेलनको मुल विषयवस्तु रहेको छ । सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष सरकारले बनाउने मधुमेहको रोकथाम र उपचारसम्बन्धि नीतिका लागि सहयोगी हुनसक्ने साइन्टिफिक कमीटी चेयर डा प्रज्वल प्याकुरेलले जानकारी दिनुभयो ।
मधुमेहमा कुन देशमा नयाँ नयाँ अध्ययन भइरहेको छन् भन्नेबारे जानकारी गराइने र मधुमेहमा भएका अनुसन्धान बारे छलफल हुने भएकाले यस सम्मेलनमार्फत मधुमेहको रोकथाम र व्यबस्थापनमा सहज हुने बताइएको छ ।
धन योगा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैरनाफामुलक संस्था हो । यसले सीमान्तकृत समुदायको आँखा स्वास्थ्य, मधुमेह हेरचाह तथा शिक्षामा काम गरिरहेको छ ।