Logo
|
Friday 21st February 2025
Logo

epaper

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट ह्याकरको कब्जामा



नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट ह्याक भएको छ । आफूलाई ‘क्याप्टेन स्मोकर ३ आर’ बताउने ह्याकर समूहले मन्त्रालयको वेबसाइट ह्याक गरेको हो ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित कर्माचारीको नामसमेत परिवर्तन गरिएको थियो । हाल भने मन्त्रालयको वेबसाइट डाउन अवस्थामा छ ।

ह्याकबाट मन्त्रालयको डाटामा कति हानी भयो भन्ने यकिन भइसकेको छैन । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले वेबसाइट फिर्ता ल्याउन प्रयास भइरहेको जानकारी दिनुभएको छ ।

प्रवक्ता डा.बुढाथोकीले वेबसाइट ह्याक भएको थाहा पाएपछि हिजै (बिहीबार) आईटी सेक्सनमा तत्काल ठीक गर्न निर्देशन दिएको र सूचना प्रविधि मन्त्रालयबाट बनाउनुपर्ने भएकाले समय लागेको जानकारी गराउनुभयो ।

कुख्यात ह्याकर ग्रुप क्याप्टेन स्मोकर ३आरले विशेषगरी सरकारी वेबसाइट र हाईप्रोफाइल संस्थाहरूलाई लक्षित गरी साइबर आक्रमण गर्दै आएको पाइन्छ । यस ग्रुपले वेबसाइटहरू ह्याक गरी आफ्नो ग्रुपको नाम, फोटो र टेलिग्राम लिङ्क राख्ने गरेको छ । विभिन्न अनुसन्धानकर्ताका अनुसार यो बङ्गलादेशी ह्याकर समूह थन्डर साइबर टिमु अन्तर्गत रहेको विश्वास गरिन्छ ।

पछिल्लो समयमा नेपालका सरकारी वेबसाइटमाथि निरन्तर आक्रमण भइरहेको छ । केही दिनपहिले मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको थियो । यस्तै, कोशी प्रदेश सरकारको मुख्य डोमेनमा रहेका २१ भन्दा बढी सबडोमेन वेबसाइटहरू ह्याकरको कब्जामा रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्