Logo
|
Thursday 6th March 2025
Logo

epaper

एचपिभी खोपः २६ वर्ष उमेर सम्मका महिलालाई प्रभावकारी

यस खोपको पहुँच विस्तार गर्न सके भविष्यमा क्यान्सरको जोखिमलाई ठूलो परिमाणमा कम गर्न सकिने




एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) एक प्रकारको भाइरस हो, जुन महिलाहरूमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) निम्त्याउने प्रमुख कारण हो । यो भाइरस पुरुष तथा महिलाहरूमा यौन सम्पर्कद्वारा सर्ने गर्दछ । पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युको उच्च दर निम्न र मध्यम आय भएका देशहरूमा रहेको पाइन्छ । पाठेघरको मुखको क्यान्सर रोक्न एचपिभीविरुद्ध प्रोफिलेक्टिक खोप, प्री—क्यान्सर स्क्रिनिङ र उपचार प्रभावकारी तरिका हुन् । यसमा धेरै लागत पनि पर्दैन ।

के यो ज्यान लिने क्यान्सर हो ?

नेपालमा क्यान्सर रोगले महिलाको मृत्यु हुने कारणमा नम्बर वन पाठेघरको मुखको क्यान्सर हो । अहिले पनि नेपालमा प्रत्येक दिन ३—४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान गइरहेको छ ।


पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को लगातार संक्रमणले गर्दा हुन्छ । एचआईभी नभएका महिलाको तुलनामा एचआईभी भएका महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना ६ गुणा बढी हुने विश्व स्वास्थ्य संगठनले औंल्याएको छ ।

असुरक्षित यौन सम्पर्क, मल्टिपल सेक्स पार्टनर, बाल्यावस्थमा हुने बिवाह, योनाङ्खको सरसफाइमा ध्यान नदिने, पटकपटकको संक्रमण, अत्यधिक धुम्रपान गर्ने महिलाहरुमा ह्युमन प्यापिलोमा भाइरस संक्रमण हुने जोखिम रहेको छ ।

विश्व स्वास्थ्य संगठन भन्छ—सुरुमा कुनै लक्षण नदेखिन पनि सक्छ । रोग बढ्दै गएमा योनीबाट पहिलेको तुलनामा धेरै पानी बग्ने, गन्हाउने पानी बग्ने, योनीमा पटक–पटक संक्रमण, योनीबाट रगत मिसिएको पानी निस्कने, महिनावारी नभएको समय पनि रगत देखापर्ने, पेट फुल्ने, क्यान्सर धेरै फैलिएको अवस्थामा खुट्टा सुन्निने, ढाड तथा कम्मर दुःख्ने, दिसापिसाबमा समस्या देखिन सक्छ ।

यदि ह्युमन प्यापिलोमा भाइरसविरुद्धको भ्याक्सिन लगाएमा पाठेघरको मुखको क्यान्सरबाट हुने अकालको मृत्युबाट जोगाउन सकिन्छ ।

एचपिभी खोप के हो ?
एचपिभी खोप एक सुरक्षित र प्रभावकारी खोप हो, जसले शरीरलाई यस भाइरसविरुद्ध प्रतिरक्षा दिन्छ । यो खोप विशेषगरी किशोरावस्थामा (९–१४ वर्ष) लगाउन सिफारिस गरिन्छ किनभने यस उमेर समूहमा खोप लगाउँदा सबैभन्दा राम्रो प्रतिरक्षा प्रतिक्रिया देखिन्छ ।

यसले क्यान्सरको जोखिम कम गर्नसक्छ ?
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी भ्याक्सिन निःशुल्क लगाउन शुरु गरेको छ । यो खोप एकदमै सुरक्षित र प्रभावकारी छ । त्यसैले कुनै पनि डर, त्रास र शंका लिनुपर्दैन । आफ्ना छोरीहरुलाई निर्धक्क भएर लगाउँदा पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न मद्धत गर्छ ।

खोप कतिको प्रभावकारी हुन्छ ?
अहिलेसम्म केही पनि साइड इफेक्ट देखिएको छैन । यो खोप घोचेर लगाउने भएकाले त्यो भागमा घाउ र एलर्जी हुन सक्ला । त्यो बाहेक अहिलेसम्म केही पनि साइड इफेक्ट देखिएको छैन । त्यही भएर यो डे केयर जस्तै हो । आउने, लाउने र घर जाने । त्यसैले निर्धक्क भएर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एचपिभी खोप लगाउनुहोला ।

अहिलेसम्मका अनुसन्धान र खोजले पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपिभी भ्याक्सिन एकदमै सुरक्षित र प्रभावकारी छ ।

किन एचपिभी खोप आवश्यक छ ?
पाठेघरको क्यान्सरको रोकथामः एचपिभी भाइरस मुख्य रूपमा गर्भाशय क्यान्सरको कारण हुन्छ र यो खोप लगाउँदा यो जोखिम कम हुन्छ । यौनजन्य अन्य रोगहरूको रोकथामः एचपिभी अन्य प्रकारका क्यान्सर (गला, गुदा, यौनांग) को कारण पनि बन्न सक्छ ।
लामो समयसम्म सुरक्षाः अनुसन्धानहरूले देखाएका छन् कि एचपिभी खोपले लामो समयसम्म सुरक्षा प्रदान गर्छ।
कुन उमेर समूहलाई एचपिभी खोप प्रभावकारी हुन्छ ?

  • ९–१४ वर्ष उमेर समूहका बालबालिकाहरू (छोरा र छोरी दुवैले)।
  • १५–२६ वर्षसम्मका पुरुष तथा महिलाहरू (यदि पहिले खोप नलगाएको भए) ।
  • यौन सम्पर्क गरिसकेका व्यक्तिहरूलाई पनि यो खोप उपयोगी हुन सक्छ, तर यो भाइरस लाग्नु अगाडि लगाउनु प्रभावकारी मानिन्छ ।

नेपालमा एचपिभी खोप उपलब्धता
नेपाल सरकारले हालै १४ वर्षमुनिका किशोरीहरूलाई निःशुल्क एचपिभी खोप प्रदान गर्ने कार्यक्रम ल्याएको छ । निजी अस्पतालहरूमा पनि यो खोप उपलब्ध छ । सरकारले राष्ट्रव्यापी रुपमा सञ्चालन गरेको खोप अभियानबाट १४ लाख ३२ हजार ८०७ किशोरीले निःशुल्क खोप लगाएका छन् । माघ २२ (अर्थात विश्व क्यान्सर दिवस फेब्रुुअरी २०२५) देखि फागुन ६ गतेसम्म सरकारले देशैभर खोप अभियान सञ्चालन गरेको थियो । कक्षा ६ देखि १० सम्मका छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्म किशोरीहरुलाई एचपिभी खोप लगाइएको थियो ।

एचपीभी खोप कसलाई दिनुपर्छ ?
एचपीभी खोप मुख्य रूपमा किशोरीहरूलाई दिइन्छ । तर यो खोप किशोर–युवतीहरू र केटाहरूलाई पनि लाभदायक हुन्छ । पुरुषहरुलाई काडोसिल ९ दिइन्छ । यसले एचपीभी भाइरसको संक्रमण रोक्न मद्दत गर्छ, जुन विभिन्न प्रकारका क्यान्सरको प्रमुख कारण हो ।

नेपालमा कति उमेरसम्म एचपीभी खोप दिन सकिन्छ ?
नेपालमा हाल ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई प्राथमिकताका आधारमा खोप दिइएको छ । तर, अनुसन्धानअनुसार २६ वर्षसम्मका महिलाहरूलाई यो खोप प्रभावकारी हुन्छ ।

एचपीभी खोप केटाहरूलाई पनि आवश्यक छ ?
हाल नेपालमा यो खोप मुख्य रूपमा किशोरीहरूलाई दिइएको छ, तर अन्तर्राष्ट्रिय रूपमा केटाहरूलाई पनि एचपीभी खोप दिने अभ्यास छ। किनभने, एचपीभी भाइरस पुरुषहरूमा समेत संक्रमण फैलाउन सक्छ र विभिन्न स्वास्थ्य समस्याहरू जस्तै गुदा तथा घाँटी क्यान्सर निम्त्याउन सक्छ ।

निष्कर्ष
एचपीभी खोप पाठेघरको मुखको क्यान्सर लगायत अन्य क्यान्सरहरू रोक्नका लागि प्रभावकारी उपाय हो । नेपालमा ९ देखि १४ वर्षका किशोरीहरूलाई निःशुल्क दिइए पनि, यो खोप २६ वर्ष र केही अवस्थामा ४५ वर्ष सम्मका महिलाहरूले पनि लिन सक्छन् ।

सरकार र स्वास्थ्य निकायहरूले यस खोपको पहुँच विस्तार गर्न सकेमा भविष्यमा क्यान्सरको जोखिमलाई ठूलो परिमाणमा कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्