Logo
|
Saturday 22nd March 2025
Logo

epaper

आर्कलाईट के हो, यसबाट रेटिनोब्लास्टोमा क्यान्सर कसरी पहिचान हुन्छ ? जान्नका लागि यहाँ क्लिक गर्नुहोस्



समाजमा आँखा डेढो भएका तथा कालो भागको बीच भाग सेतो भएका बालबालिकाहरुलाई भाग्यमानी ठान्ने चलन छ । र यी पनि रोगको लक्षण हुन सक्छन् भन्ने ज्ञान छैन । कतिपय मानिसले भने यी लक्षणका जटिलतालाई बुझेका हुदैनन् भने कतिपयले बच्चाको रोगलाई लुकाउन अस्पताल जानमा ढिलाई गर्छन् । यीनै कारणले गर्दा यो रोग लागेका बालबालिकाहरुलाई अस्पताल ल्याउँदा रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ । समयमै उपचार गर्न सके आँखा तथा ज्यान जोगाउँन सकिन्छ ।

के हो आर्कलाइट ?
आर्कलाइट एक साधारण र सजिलै ओसारपसार गर्न सकिने उपकरण हो । जसले बालबालिकाको आँखामा रेटिनोब्लास्टोमाको प्रारम्भिक चिन्ह, सेतो रिफ्लेक्स पत्ता लगाउन प्रयोग गरिन्छ । यसलाई दृष्टि परिक्षण र आँखासँगै कानको विस्तृत परीक्षणको लागि पनि प्रयोग गर्न सकिन्छ ।

आर्कलाइटबाट ५ वर्ष भन्दा कम उमेरका बालबालिकाको आँखाको स्क्रिनिङ्ग र रेटिनोब्लास्टोमाको जाँच गर्न सकिन्छ ।

के हो रेटिनोब्लास्टोमा ?
रेटिनोब्लास्टोमा बालबालिकाको एक वा दुवै आँखाको भित्री भागको पर्दा (रेटिना) बाट पलाउने क्यान्सर हो । यो नवजात शिशु देखि पाँच वर्ष मुनिका बालबालिकाहरुको देखा पर्दछ । १५ हजार नवजात शिशुु जन्ममध्ये एक जनामा देखिने यो रोगले बालबालिकामा हुुने सम्पुुर्ण क्यान्सरको ५ प्रतिशत ओगटेको छ । यो रोगको उपचार ढिलो भएमा आँखाको सम्पूर्ण भागमा फैलिएर ज्यान समेत जान सक्दछ । नेपाल लगायत विकासोन्मुख देशहरुमा यस रोगबाट हुने मृत्युदर अधिकतम ५० प्रतिशत रहेको छ । तर विकसित देशहरुमा भने ५ प्रतिशत भन्दा कम पाइएको छ ।

रेटिनोब्लास्टोमा एउटा जटिल रोग भएता पनि यस रोगको लक्षणलाई बुझी प्रारम्भिक अवस्थामानै चिकित्सक कहाँ गई रोग पत्ता लगाएर उपचार गरेको खण्डमा बालबालिकालाई पूर्ण रुपमा क्यान्सरमूक्त बनाउनुका साथै बालबालिकाको दृष्टि तथा ज्यान जोगाउन सकिन्छ ।

रेटिनोब्लास्टोमाका के–कस्ता लक्षण देखिन्छन् ?
रेटिनोब्लास्टोमाको प्रमुुख लक्षण आँखाको कालो नानीको बीच भागमा असाधारण सेतो ज्योति देखिनु हो । यस्तो लक्षण देखिएता पनि बालबालिका भने स्वस्थ नै देखिन्छन् । जसका कारण बालबालिका तथा अभिभावकलाई यो विषयमा थाहा हुदैन र उपचारको लागि ढिलो हुने कारणमध्ये यो पनि एक हो ।

यसका साथै रंगीन फोटोमा आँखाको नानी सेतो टिका देखिनु अथवा दुवै आँखाको नानी उस्तै नदेखिनु, आँखा डेढो हुनु, आँखा रातो हुनु, दुख्न, दृष्टि कम हुनु,आखाँको आकार ठूलो हुदै जानु र बाहिर तिर आउनु यसका अन्य लक्षण हुन् । उपचार नभएमा आँखाको डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्य रुपमा बढिरहने हुन सक्छ ।

यो क्यान्सर बिस्तारै आँखाको बाहिर तथा शरिरको अन्य अङ्ग जस्तै दिमाग, कलेजो, बोनम्यारो आदिमा फैलिएर बच्चाको ज्यान सम्म जाने जोखिम रहन्छ ।

कसरी गरिन्छ उपचार ?

यो रोग लागेका बालबालिकाहरुमध्ये ६० प्रतिशतमा एउटा मात्र आँखामा असर देखिन्छ भने ४० प्रतिशतमा दुवै आँखामा रोग देखिन्छ ।

दुवै आँखमा देखा परेमा यो रोग वंशाणुगत हुने तथा शरिरका अन्य भागमा पनि क्यान्सर देखिने संभावना धेरै हुन्छ । यो रोग लागेका बिरामीका परिवारका अन्य सदस्यमा पनि यो रोग भएको हुन सक्ने हुनाले अन्य सदस्यको पनि जाँच गराउनुपर्छ ।

यो रोगको उपचारको लागि लेजर तथा शल्यक्रिया बाहेक केमोथेरापी,थरमोथेरापी,क्रायथेरापी र रेडियोथेरापी इत्यादी प्रमुख उपचार पद्दतिमा पर्दछन् । प्रतिष्ठानमा भएको एक अनुसन्धानमा आँखा सहित आँखा वरपरका हड्डी समेत निकालिने जटिल शल्यक्रियाको प्रमुख कारण मध्ये ३२.१ प्रतिशत रेटिनोब्लास्टोमा भएको देखिन्छ ।

निजगढका स्वास्थ्यकर्मीलाई आर्कलाईट वितरण
निजगढका प्राथमिक स्वास्थ्य सेवा कार्यकर्तालाई रेटिनोब्लास्टोमा (बालबालिकाको आँखामा हुने क्यान्सर) को प्रारम्भिक पहिचानको महत्व र प्रविधिबारे एकदिने तालिम दिइएको छ । ओपन आइज नेपाल र निजगढ तिलगंगा सामूदायिक आँखा अस्पतालको सहकार्यमा ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरुलाई रेटिनोब्लास्टोमा क्यान्सर सचेतना र आर्क लाईट वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

तिलगंगा आँखा प्रतिष्ठानमा यस रोगको उपचार १५ वर्ष देखि हुदै आईरहेको छ । विगत ६ वर्ष देखि आँखाको क्यान्सर रोग विभागबाट नेपालकै पहिलो आँखाको क्यान्सर रोग विशेषज्ञ डा. पुर्णिमा राजकर्णिकारद्धारा अझ विस्तृत रुपमा यसको उपचार भईरहेको छ । वर्षेनी ३५ देखि ४५ नयाँ बिरामीको संख्या उपचारको लागि आउने गरेका छन् जसमध्ये १५ जनाको दुबै आँखामा रोग लागेको पाइएको छ । यस रोग लागेका आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेकाको लागि प्रतिष्ठानले ओपन आईज नेपालको सहयोगमा निःशुल्क उपचार प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्