अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
जनस्वास्थ्य सरोकार । आमाशय वा आन्द्राको भित्री भागमा विभिन्न कारणले कोतरिएर घाउ हुनुलाई अल्सर भनिन्छ । विगतमा नेपाली समाजमा यो समस्या धेरे देखिन्थ्यो र शल्यक्रियाबाट धेरै उपचार गरिन्थ्यो । हेलिकोब्याक्टर (एच) पाइलोरी जिवाणु संक्रमणका कारण अल्सर हुने मुख्य कारण मानिएको छ । यो जिवाणु खाने नली र पाकाशयको एनट्रममा धेरै बसेको हुन्छ । यो दुषित खाना, पानी आदिबाट मानिसमा सर्छ । यो एक किसिमको सरुवा रोग हो ।
· कतिपय व्यक्तिमा एचपाइलोरी संक्रमण हुँदैमा अल्सर भएको हुँदैन । तर एचपाइलोरी भएका व्यक्तिमा अल्सर हुने संभावना धेरै हुन्छ ।
· धेरै चुरोटको सेवन, तनाव, व्यायाम नगर्ने व्यक्तिलाई अल्सर हुने सम्भावना हुन्छ ।
· तर भाग्यवस अल्सरका लागि निकै प्रभावकारी औषधि मेडिकल बजारमा आइसकेका छन् ।
· खासगरी एचपाइलोरी किटाणुलाई नै हटाउने एन्टिवायोटिक आइसकेकाले निर्मुल पार्ने थेरापी लिने, औषधि सेवन गर्ने र जीवनशैली परिवर्तन गरेमा अल्सर विना शल्यक्रिया पूरै निको बनाउन सकिन्छ ।
के ग्याँस्ट्रिक बिग्रेमा अल्सर हुन्छ ?
ग्याँस्ट्रिक बिग्रिएर अल्सर हुन्छ भन्ने धेरैको भ्रम पाइन्छ । तर त्यस्तो होइन । कोहीकोही मान्छेलाई सोझै अल्सर हुनसक्छ । कसैलाई जीवनभर ग्याँस्ट्राइटिसको समस्या भएर पेट डम्म फूलेर बस्ने र अल्सर नभए पनि अल्सर जत्तिकै पेट पोल्ने, दुख्ने जस्ता समस्या हुनसक्छ ।
औषधि खाएको ३ देखि ६ महिनासम्म कुनै पनि अल्सर निको नभएमा त्यस्ता अल्सर क्यान्सर हुनसक्छन् । खासगरी पेटको ग्याँस्ट्रिक अल्सर क्यान्सरमा परिणत हुने संभावना धेरै हुन्छ । त्यसैले यस किसिमका अल्सरलाई नियमित जाँच गराएर औषधि सेवन गरेर निको पार्नुपर्छ । यसरी औषधि सेवनबाट निको नभएमा शल्यक्रिया गरेर निकाल्नुपर्छ ।
लक्षण
-भोकै बस्न नसक्ने
– पेट दुख्ने
– पोल्ने
– खाना खाएपछि अलि आराम जस्तो हुने
– दुब्लाउने आदि ।
अल्सरको जटिलता
-ड्यूडेनम, सानो आन्द्राको अल्सरका कारण धेरै कम्प्लिकेशन भएपछि मात्र शल्यक्रिया गर्नुपर्छ । अन्यथा औषधिले निको हुन्छ ।
– पाकाशयको अल्सर क्यान्सरमा परिणत हुनसक्ने भएकाले राम्रोसँग उपचार गर्नुपर्छ । अन्यथा शल्यक्रियाको विकल्प हुँदैन ।
– ड्यडेनमको अल्सरका कारण धेरै कम्प्लिकेशन आउनसक्छ । यसले सानो आन्द्रा फूट्नसक्छ वा धेरै रगत जानसक्छ ।
-अल्सरका कारण आन्द्रा सुक्न पनि सक्छ । यस्तो समस्यामा तुरुन्त शल्यक्रिया गर्नुपर्छ ।
औषधिले अल्सर
एकथरी अल्सरमा ब्लिडिङ हुने र फुट्नसक्ने समस्या आउनसक्छ । यसलाई नन स्टीरोइडल इन्ड्युस अल्सर भनिन्छ । यो औषधिका कारण हुने समस्या हो । आजकल सानो समस्या हुने वित्तिकै दुखाई कम गर्ने ब्रुफिन जस्ता औषधि खाने चलन छ ।
खाली पेटमा औषधि खान हुँदैन । कहिलेकाँही हामीले एउटा चक्की खाएर अल्सर फुटेका कारण भर्ना भएका बिरामीको पनि शल्यक्रिया गर्दै आएका छौं । खासगरी पेन किलर, नन स्टीरोइडल एन्टिइन्फ्लामेटरी औषधि खाँदा धेरै सावधानी अपनाउनुपर्छ ।
यी औषधिले गराउने अल्सर कम्पलिकेसन र अल्सर फुट्ने सम्भावना अलि बढि हुन्छ । यसको लागि शल्यक्रिया भन्दा अर्को विकल्प हुँदैन ।
ड्यूडेनल अल्सर
पाकाशय वा स्टोमक अल्सरको जटिलता भनेकै क्यान्सर नै हो । सानो आन्द्राको पहिलो भागलाई ड्यूडेनम भनिन्छ । ड्यूडेनममा अल्सर धेरै हुने भएकाले यसलाई ड्यूडेनल अल्सर भनिन्छ । त्यसैले यो अल्सर र पाकाशय वा स्टोमकमा हुने अल्सर हामीले छुट्याउन सक्नुपर्छ । स्टोमकमा हुने अल्सरको सबै भन्दा ठूलो चिन्ताजनक जटिलता भनेको स्टोमक क्यान्सर हो । ड्यडेनल अल्सरले अक्सर क्यान्सर गराउँदैन ।
रोकथाम
-हत्तपत्त पेनकिलर नखाने
– समयमा खाना खाने
– चुरोट नखाने
– चुरोट खाने व्यक्तिको पेटमा एच पाइलोरी पनि छ भने उसलाई अल्सर हुने सम्भावना ९५– ९९ प्रतिशत सम्म हुनसक्छ ।
– खाली पेट नबस्ने
-सँधै अल्कोहल नपिउने ।
अल्सरका बिरामीले के गर्ने ?
– समयमा खाने
– थोरै थोरै खाने
-वजन घटाउने
-चुरोट र मदिरा सेवन नगर्ने
· तनाव र चिन्ता कम गर्ने
– जीवनशैलीमा परिवर्तन ल्याउने
पेटको अल्सरका बिरामीले गर्न नहुने ?
– अत्यधिक तातो, चिसो खानाबाट टाढै बस्ने ।
– खाना एक दुइ पटक मात्र धेरै नखाने । थोरै थोरै बारम्बार खाने कुरा खाइरहने ।
-तातो खाना छिटो छिटो नखाने ।
-धेरै बेर भोकै बस्नुपर्ने मौका आउन नदिने
-मानसिक तनाव र चिन्ता नलिने
– दुखाइ हटाउने औषधि आफूखुशी नखाने
(डा. शर्मा नेपाल मेडिसिटी हस्पिटलमा मेडिकल डाइरेक्टर हुनुहुन्छ ।)