Logo
|
Wednesday 1st May 2024
Logo

epaper

कुर्कुच्चामा पीडा



अचेलका पहिलेका झैँ माटो, बालुवा, घाँस भएका सडक हुन छाडे । त्यस्ता नरम सडकको ठाउँ अलकत्रा, ढुंगा, कंक्रिट भएका सडकले लिए । त्यस्तै सतहमा निरन्तर हिँड्नुपर्ने अवस्थामा हामी बाँचिरहेका छौँ ।

परिवर्तित सडक र सतहको अवस्थाले हाम्रो कुर्कुच्चालाई प्रभावित गर्न थालेको छ । त्यसमा पनि अनुपयुक्त, अवैज्ञानिक जुत्ताचप्पल र फेसनको नाउमा हाई हिल आदिको प्रयोगले धेरै मानिसलाई कुर्कुच्चा दुख्ने समस्याले सताउन थालेको छ । हाम्रो समाजका धेरैजसो व्यक्ति यस्तो शारीरिक समस्या –प्लान्टर फेसियाइटिस_ बाट आक्रान्त हुन थालेका छन् ।

यो रोगबारे हाम्रो मुलुकमा कुनै खास अध्ययन भएको छैन । तर हाडजोर्नीसम्बन्धी समस्या लिएर चिकित्सक कहाँ पुग्नेहरूमध्ये करिव १५ प्रतिशतमा प्लान्टर फेसियाइटिस अर्थात् कुर्कुच्चा दुख्ने समस्या हुने गरेको छ । यस्ता समस्या भएकाहरू युवा र मध्य आयु अर्थात् ३०–५० वर्ष उमेर समूहका बढी रहेको हाडजोर्नी तथा खेलकुद र जोर्नी प्रतिस्थापन शल्यचिकित्सक डा. चक्रराज पाण्डेको अनुमान छ ।

‘कुर्कुच्चा दुखाइलाई समस्या हाम्रो समाजमा अत्यन्त सामान्य रूपमा लिने गरिएको छ,’ डा. पाण्डे भन्छन्, ‘महिला, दिनहुँ धेरैबेर उभिनुपर्ने व्यक्ति, हिल भएको वा कडा सोल भएका जुत्ता/चप्पल लगाउनेहरूलाई यो समस्या बढी हुने गरेको छ ।’

बिहान उठेर केही पाइला हिँड्दैमा कुर्कुच्चामा तीव्र दुखाइको अनुभूति भए यो प्लान्टर फेसियाइटिसको लक्षण हुन सक्छ । यो तीव्र दुखाइले गर्दा पीडितहरू खुट्टा भुइँमा राख्न सक्दैनन् ।

उसो त थाइराइडको उपयुक्त उपचार नपाएका, हाडको घनत्व -बोन डेन्सिटी_कम भएकाहरूमा समेत यो समस्या भेटिएको छ । पैतालामा बोसोको मात्रा कम हुँदै गए पनि यो समस्याले दु:ख दिन थाल्छ ।

प्लान्टर फेसिया खुट्टाको तल अर्थात् कुर्कुच्चामा बाक्लो तन्तु भएको खण्ड हो । यसले कुर्कुच्चाको हाडलाई खुट्टाका औँला सग जोड्छ र खुट्टाको चाप -आर्क_ बनाउँछ । यो एक प्रकारले हाम्रो शरीरको तौललाई सहन गर्नसमेत सहयोगी हुन्छ ।

‘जब यो तन्तु सुन्निन्छ तब यसलाई प्लान्टर फेसियाइटिस भनिन्छ,’ डा पाण्डे भन्छन्, ‘यो सुन्नाइ त्यतिखेर हुन्छ, जब कुर्कुच्चामा भएको तन्तुको वाक्लो तह -फेसिया_ धेरै बढी तन्किन्छ ।’ यस्तो हुँदा निकै दुख्छ, हिँड्नै नसकिने हुन्छ ।

दीर्घकालीन प्लान्टर फेसियाइटिसले गर्दा कुर्कुच्चाको हाडको प्लान्टर फेसिया जोडिने ठाउँमा हाडको निर्माण हुन्छ । यसलाई हिल स्पर सिन्ड्रोमसमेत भनिन्छ ।

अमेरिकन कलेज अफ फुट एन्ड एंकल सर्जन्सका अनुसार, प्लान्टर फेसियाइटिस खेलका लागि डिजाइन नगरिएका जुत्ता लगाउँदा पनि हुन सक्छ । खुट्टाको दोषपूर्ण सरचनासमेत प्लान्टर फेसियाइटिसको समस्या हुने सामान्य कारण हुन सक्छ । यति मात्र नभई, तनाव हुनु, हाड भाँच्चिनु, तन्त्रिकामा चोट लाग्नु जस्ता कारणबाट पनि यो समस्या निम्तिन सक्छ ।

डा पाण्डेका अनुसार कुर्कुच्चाको दुखाइ सामान्य उपायले नगए हाडजोर्नी विशेषज्ञसँग सल्लाह लिएर नियमित हेरचाह गर्नुपर्छ । चिकित्सकीय सल्लाहमा उपयुक्त हिल प्याड लगाउने गर्दा पनि फाइदा पुग्छ । यो समस्या हटाउन कहिलेकाहीं शल्यक्रियाको समेत आवश्यकता पर्न सक्छ ।

यो समस्या आफैं नियन्त्रित हुन पनि सक्छ र निको हुन ६ महिनादेखि डेढ वर्षसम्म लाग्न

पनि सक्छ ।

टार्सन टनेल अर्थात् पैतालामा जाने नसाको बाटो साँघुरो हुँदा पनि प्लान्टर फेसियाइटिससँग मिल्दोजुल्दो लक्षण देखिन्छ, पैताला झमझाउने र दुख्ने हुन्छ ।

बालुवामा हिँड्दा पैतालाको स्वास्थ्यमा सकारात्मक परिवर्तन आउँछ । मधेस वा पहाडका नदीको बगरमा नांगा खुट्टा आधा घण्टासम्म हिँड्ने गरे यो समस्याबाट चाँडै मुक्ति पाउन सकिन्छ ।

स्ट्रेचिङ व्यायाम उपयोगी

कुर्कुच्चा दुख्ने समस्याबाट पीडितहरूका लागि पैताला तन्काउने -स्ट्रेचिङ_ व्यायाम फाइदाजनक हुन्छ । तर यो व्यायाम विशेषज्ञको सल्लाह लिएर मात्रै गर्नुपर्छ । प्रारम्भिक सुन्नाइ कम नहुन्जेल खुट्टामा पर्ने दबाबलाई यो व्यायामले रोक्न सघाउँछ ।

तातो पानीले सेक्नु हुन्न

यो समस्या भएकाहरूले सामान्यत: तातो पानीले पैताला सेक्नु हन्न, बरफले सेक्नुपर्छ । तातोले सुन्नाइ बढाउँछ, चिसोले भने घटाउँछ । तर मधुमेह भएकाहरूले बढी बरफको उपयोग गर्नु हुन्न ।

तेल मालिस राम्रो

सुत्ने बेला पैतालामा गरिने तेल मालिसले यो समस्याबाट उन्मुक्ति दिन्छ । हल्का हातले बिस्तारै पैताला मिच्दै मालिस गर्दा फाइदा पुग्छ ।

गहनामा हैन, जुत्तामा लगानी गरौँ

जन्मदेखि मरणसम्म नभई नहुने र अत्यावश्यक प्रक्रिया हो– हिँडाइ । यो प्रक्रियामा तपाईंले हिँडने सतह र लगाउने जुत्ता–चप्पलले प्रभाव पारिरहेका हुन्छन् । कुर्कुच्चको पीडा मात्रै नभई खुट्टासम्बन्धी थुप्रै समस्या र जटिलताका लागि तपाईंले लगाउने अनुपयुक्त र अवैज्ञानिक जुत्ता–चप्पलसमेत जिम्मेवार हुन्छन् ।

उपयुक्त र वैज्ञानिक जुत्ता–चप्पल उपयोग गरेर प्लान्टर फेसियाइटिसजस्ता खुट्टासम्बन्धी थुप्रै समस्याबाट बच्न सकिने औंल्याउँदै डा. पाण्डे भन्छन्, ‘गरगहना र लुगाफाटामा मात्र हैन स्वस्थ रहन जुत्ता–चप्पलमा पनि लगानी गर्नुस् ।’ जुत्ता–चप्पल हेर्नमा हमात्र हैन, लगाउनमा समेत राम्रो, अनुकूल हुनुपर्छ । हाल वाकिङ अन एयर प्रविधि अन्तर्गत बनेका, पैतालामा बढी भार नपर्ने खालका जुत्ता–चप्पलसमेत पाइन्छन् । शरीरको भार पैतालामा नभई खुट्टाको बीचभागमा लिने जुत्ता–चप्पल लगाउनु उपयुक्त हुने डा. पाण्डे सुझाउँछन् ।

तलुवा नरम भएको, खुट्टालाई न बढी खुकुलो न बढी टाइट हुने जुत्ता उपयोग गर्नुपर्छ । यस्तै, निश्चित समयमा जुत्ता–चप्पललाई फेर्दै गर्नुपर्छ ।

लक्षण

कुर्कुच्चाको तल्लो खण्डमा दुख्नु

खुट्टातल पोल्नु र दुख्नु

खुट्टा हल्का सुन्निनु वा रातो हुनु

पैतालामा कडापन हुनु

पैतालाको पीडा कुर्कुच्चाभन्दा बाहिर निस्किरहेको अनुभव हुनु

किन दुख्छ <

खुट्टामा दबाब बढी हुँदा

लामो दूरीसम्म ओरालो झर्दा

उबडखाबड सतहमा दौडिँदा

अचानक शरीरको तौल बढ्दा

पिँडौलाको जोर्नी निर्माणमा भाग लिने बलियो नशा कडा हुँदा

पैताला र खुट्टाको आकार–प्रकारसँग मिल्दो जुत्ता नलगाउँदा

दिनहु घण्टौँ उभिनुपर्दा

हाई हिल लगाउने व्यक्तिले एक्कासि हिल नभएको जुत्ता लगाउन थाल्दा-कान्तिपू्रबाट

प्रतिक्रिया दिनुहोस्