Logo
|
Friday 26th April 2024
Logo

epaper

उपत्यकामा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने



नेपाल हेल्थ न्युज, काठमाडौँ । उपत्यकाको समुदायमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरिने भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्राविधिक सहयोग लिएर यो साताभित्र तालिम सकाएर अर्को साताबाट समुदायमा परीक्षण (सेरो प्रिभिलेन्स अध्ययन) अघि बढाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

‘उपत्यकामा ट्राभल हिस्ट्री नभएका संक्रमित देखिएको र महिला संक्रमित प्रतिशत बढेको हुनाले संक्रमण समुदायमा फैलिएको हो कि भन्न सकिन्छ, समुदायको अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गर्न लागेका हौं,’ ईडीसीडीका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने ।

संक्रमितको संख्या बढेकाले समुदायस्तरमा सेरो प्रिभिलेन्स अध्ययन गर्न मन्त्रालयलाई आफूहरूले सुझाव दिएको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । ‘यो अध्ययनले काठमाडौं उपत्यकाको कुल जनसंख्यामा कति संक्रमण भएछ, कति प्रतिशतको मृत्यु भयो भन्ने थाहा हुन्छ । त्यसैले हामीले यही सुझाव दिएका हौं,’ उनले भने, ‘यो अध्ययनको नतिजाबाट योजना बनाउन पनि सहज हुन्छ ।’ यो अध्ययनमा तोकिएको क्षेत्रका सर्वसाधारणको रगत निकालेर संक्रमण भएको छ कि छैन भनेर परीक्षण गरिन्छ । पीसीआर गर्दा तत्काल कोरोना भएको मात्रै थाहा हुन्छ तर, कोरोना लागेर निको भइसकेको हो भने थाहा हुँदैन । समुदायमा एन्टिबडी परीक्षण गर्नका लागि ‘र्‍यान्डम स्याम्पलिङ’ का आधारमा कुल जनसंख्याको निश्चित प्रतिशत छानिन्छ ।

‘सबैको परीक्षण गर्न सकिँदैन । निश्चित ठाउँमा गएर नमुना लिएर अध्ययन गरिन्छ,’ बाँस्तोलाले भने । समुदायका धेरै व्यक्तिको परीक्षण गर्ने र अवस्था पत्ता लगाउने उपयुक्त विधि एन्टिबडी परीक्षण भएको उनले बताए । ईडीसीडीका निर्देशक डा. पाण्डेले एन्टिबडी सेरोलोजिकल टेस्ट विश्वसनीय र भरपर्दो हुने भएकाले समुदायमा ठूलो समूहको परीक्षण हुने बताए । एन्टिबडी परीक्षणमा शरीरमा कोरोना भाइरस संक्रमण छ भने त्यसविरुद्ध शरीरले उत्पादन गरेको भाइरसप्रतिरोधी प्रोटिन भए/नभएको हेरिन्छ ।

सेरो प्रिभिलेन्स अध्ययनका क्रममा परीक्षण गर्दा ‘इम्युनोग्लोब्युलिन–एम’ (आईजीएम) वा ‘इम्युनोग्लोब्युलिन–जी’ (आईजीजी) रगतमा भए/नभएको हेरिन्छ । आईजीएम शरीरमा संक्रमण भएको थोरैमा पनि तीन दिनपछि मात्रै उत्पादन सुरु हुन्छ । संक्रमण भएको केही सातापछि (थोरैमा पनि दुई साता) आईजीएमको स्थानमा शरीरले आईजीजी निकाल्न थाल्छ ।

सामान्य रूपमा बुझ्दा शरीरमा आईजीएम देखिनु भनेको संक्रमणको सुरुवाती अवस्था हो भने आईजीजी देखिए संक्रमण भएर पनि त्यसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता विकास भएको भन्ने बुझिन्छ । दुवै देखिनु भने शरीर संक्रमणमुक्त भई नसकेको अवस्था हो । सेरो प्रिभेलेन्समा आईजीजी वा आईजीएम छुट्याएर परीक्षण गरिन्न । जुनसुकै एन्टीबडी भए पनि परीक्षणमा देखिने भए रिपोर्टको नतिजा राम्रो आउने विज्ञहरू बताउँछन् । ईडीसीडीका जनस्वास्थ्यविज्ञ उत्तमकुमार कोइरालाले उपत्यकामा संक्रमितमध्ये ट्राभल हिस्ट्री भएका संक्रमित मुस्किलले १० प्रतिशत मात्रै छन् ।

संक्रमित महिलाको संख्या ३० प्रतिशत हाराहारी रहेको उनले बताए । ‘सुरुमा महिला संक्रमितको संख्या १० देखि १५ प्रतिशत हाराहारी मात्रै हुन्थ्यो । यो तथ्यले पनि संक्रमण समुदायमा गइसकेको अनुमान गर्न लगाउन सकिन्छ,’ उनले भने ।

उपत्यकामा आइतबारसम्म संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी ४ सय २९ जनालाई कोरोना पुष्टि भयो । काठमाडौंमा ४ हजार ३ सय ३२, भक्तपुरमा ४ सय ७६ र ललितपुरमा ६ सय १८ जनालाई संक्रमण भइसकेको छ । एउटै परिवारका १४ जनासम्म संक्रमित भएका छन् । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्