Logo
|
Thursday 18th April 2024
Logo

epaper

लक्षण र दीर्घरोग नभएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधि उपयोगी



नेपाल हेल्थ न्युज, काठमाडौँ । विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझावसमेत दिएका छन् ।

येटिचेम वितरक प्रा. लि.ले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुङ्गानाले लक्षण देखिएका तर दीर्घरोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताउनुभयो । नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोनाभाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको सङ्ख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ ।

उहाँले भन्नुभयो, “तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा रेम्डिसिभिरको प्रयोगले सङ्क्रमितको शरीरमा भाइरस वृद्धि हुनबाट रोक्छ ।” निमोनियासहित उच्च भाइरल लोडका कारण कतिपय बिरामीले ज्यान गुमाएका छन् । त्यस्ता बिरामीमा रेम्डिसिभिरको प्रयोग गर्नु लाभदायक हुने उहाँले बताउनुभयो । ढुङ्गानाले रेम्डिसिभिरको प्रयोगले बिरामीमा अन्य असर गर्न सक्नेतर्फ सचेत गराउनुभयो । उहाँका अनुसार बिरामीको कलेजोमा असर गर्नुका साथै लिभरमा इन्जाइम बढाउने र बान्ता आउन सक्ने हुँदा औषधि प्रयोगपछि बिरामीलाई उच्च निगरानीमा राख्न सुझाव दिनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले दीर्घरोगीमा रेम्डिसिभिरको प्रयोगबाट बच्न सुझाउनुभयो । उहाँले परिषद्ले हाल एक सय बिरामीमा रेम्डिसिभिरको प्रभावकारिता सम्बन्धमा अध्ययन गरिरहेको खुलाउनुभयो । उहाँले पहिलो पटक सन् २००९ मा इबोला प्रकोपको समयमा रेम्डिसिभिरको प्रयोग अफ्रिकी राष्ट्रहरूमा गरिएको जानकारी दिनुभयो । नेपालमा पहिलो पटक कोभिड–१९ का बिरामीमा रेम्डिसिभिरको प्रयोग गरिँदैछ ।

औषधि व्यवस्था विभागका सन्तोष केसीले मन्त्रालयले हाल रेम्डिसिभिरको छ हजार डोज आपूर्तिको व्यवस्था मिलाएको जानकारी दिनुभयो । जसका लागि तीनवटा आपूर्तिकर्ता तोकिएको छ । प्रत्येक आपूर्तिकर्तालाई तत्काल दुई/दुई हजार गरी छ हजार डोज आयात गर्न अनुमति दिइएको छ ।

भारतमा माइलान, सिप्ला र हेटेरो ड्रग्सले नेपाली वितरकसँग समन्वय गरी रेम्डिसिभिर नेपाल ल्याउने जिम्मेवारी दिइएको छ । येटिकेमले सिप्लासँगको समन्वयमा नेपालमा पहिलो चरणमा ४८० डोज रेम्डिसिभिर भित्र्याएको छ ।

नेपालमा आकस्मिक प्रमाणीकरणको व्यवस्था नहुँदा रेम्डिसिभिर आपूर्ति गर्न ढिलाइ भएको थियो । विभागका प्रवक्ता केसीले सङ्क्रमणको प्रकोप बढिरहेकोले सही समयमै अनुसन्धान परिषद्सँगको समन्वयमा औषधि निर्यातको बाटो खुला भएको जानकारी दिनुभयो । ऐटिकेमका प्रभु वैद्यले भारतबाट औषधि निर्यात गर्ने सिप्लासँग रेम्डिसिभिरको पाँच हजार अतिरिक्त डोज सुरक्षित गरेको जानकारी दिनुभयो । ऐटिकेमका अध्यक्ष प्रभु वैद्यले नेपालमा रेम्डिसिभिरको खुद्रा मूल्य छ हजार चार सय रुपियाँ निर्धारण गरेको जानकारी दिनुभयो ।  ऐटिकेमले ४८० डोज सेप्टेम्बर १० मा र एक हजार ४० डोज सेप्टेम्बर २५ मा नेपाल भित्रिने जनाएको छ ।

अमेरिकी औषधि तथा खाद्य प्रशासनले अमेरिकामा कोरोना सङ्क्रमितमा रेम्डिसिभिरको प्रयोगको अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानले समेत अक्सिजनको कमी हुन जाने सङ्क्रमितमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुने क्लिनिकल ट्रायलबाट प्रमाणित भएको जनाएको छ ।गोरखापत्रदैनिकबाट

प्रतिक्रिया दिनुहोस्