नेपालमा पेट सिटी सेवाको सफलता

डा.कृताञ्जली कोइराला, रेडियोलोजिष्ट, सूरिया डायग्नोष्टिक प्रा.लि. || प्रकाशित मिति :2017-10-05 10:13:27

नेपालमा एक वर्षदेखि शुरु गरिएको पेट सिटी सेवाबाट करिब ६ सय भन्दा धेरै क्यान्सरका बिरामी लाभान्वित भइसकेका छन् ।

विगतमा यस किसिमको सेवा सिटी स्क्यान र एमआरआईबाट हुँदै आएको थियो । आर्थिक अवस्था मजबुद भएकाहरु विदेश जान्थे । नहुनेहरुका लागि अर्को विकल्प थिएन । रेडियोलोजिष्ट डाक्टर कृताञ्जली कोइरालाको समूहले एक वर्षदेखि मुलुकमा पेट सिटी सेवा दिइरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालमा भोलुन्टियर भएर रेडियोलोजी अध्यापनमा सहयोग गरिरहनुभएको डा. कोइरालालाई हामीले प्रस्तुत गरेका छौं ।
मुलुकमा पेट सिटी सेवा शुरु गर्नुको तात्पर्य के हो ?
एकजना चिनेको साथीलाई प्याँक्रियाजको क्यान्सर भएर शल्यक्रिया गरिएको थियो । उहाँ निकै कमजोर हुनुहुन्थ्यो । महिनौं अस्पतालमा बसेर उपचार गराइरहनुभएको थियो । त्यो अवस्थामा उहाँलाई पेट स्क्यान गरेर आउन भनियो । बिरामी अन्तिम अवस्थामा हुनुहुन्थ्यो । निकै कठिनका साथ भारतमा पेट स्क्यान गराएर एअर एम्बुलेन्सबाट नेपाल ल्याउनुपरेको थियो । अघिल्लो दिन आउनुपर्ने बिरामी हुरि बतासका कारण अर्को दिन कुर्नुपरेको थियो । यस किसिमको सुविधा नेपालमा नहुँदा उहाँजस्ता धेरैले दुःख पाएको कुरा ख्याल गरेर विगत एक वर्षदेखि मुलुकमा पेट सिटी सेवा शुरु गर्ने प्रेरणा मिलेको हो ।
नेपालमा हुने पेटसिटी गुणस्तरीयताको दृष्टिले कतिको प्रतिस्पर्धी छ ?
यदि गुणस्तरीयता र मूल्यमा फरक हुने भए नेपालमा यो सेवा शुरु नै गरिँदैनथ्यो । मैले मुम्बइको प्रख्यात टाटा मेमोरियल क्यान्सर हस्पिटलमा ट्रेनिङ लिँदाको बखत पाएको अनुभव र नेपालमा शुरु गर्दाको अवस्था दुवैलाई हेर्दा हाम्रो सेवा उत्कृष्ठ छ । सबै ठाउँमा प्राविधिक प्रोटोकल एउटै हुन्छ । पेट सिटीका लागि आवश्यक पर्ने औषधि हवाइजहाजबाट ल्याउँदा बाटोमा कति उडेर जान्छ भन्ने क्याल्कुलेसन गरिएको हुन्छ । औषधिको एक्युरेट मात्रा मेसिनमा नापेपछि मात्र बिरामीमा प्रयोग गरिन्छ । हामीसँग अत्याधुनिक अमेरिकन कम्पनि जिई को मेसिन छ । त्यसमा शंका गर्नुपर्ने कुनै आवश्यकता छैन । हामी एकपटकमा १० जना बिरामीलाई सेवा दिन्छौं । तर हवाइजहाजको उडान ढिला भएर औषधिको मात्रा कम आएमा पछिको बिरामीले अर्कोपटक कुर्नु पर्नसक्छ । हप्तामा एकपटक यो औषधि ल्याउँछौं । FDG-18 नामक विकिरणीय औषधि जति ढिलो भयो त्यति नै यसको मात्रा कम हुँदै जान्छ । मैले रेडियोलोजीमा तालिम लिएको बेला टाटा मेमोरियल क्यान्सर हस्पिटलमा पनि स्पेसिफिक अंगको पेट स्क्यान गर्दा औषधि दिल्लीबाट झिकाउने गरिन्थ्यो ।
साइक्लोट्रोन औषधि उत्पादन नहुने क्यानडा र अमेरिकाकाका धेरै ठाउँमा पनि हवाइजहाजबाट नै औषधि लैजाने गरिन्छ । श्रीलंकामा पनि निजी क्षेत्रले हजाइजहाजबाट नै औषधि ल्याउने गर्छन् ।
पेट स्क्यान र सिटीमा के फरक छ ?
पेट स्क्यानमा ग्लुकोजसँग मिसाइएको विकिरणयुक्त औषधि इन्जेक्सनबाट शरीरमा पठाइन्छ । यो रगतमार्फत हरेक कोषमा पुग्छ । यसबाट सम्बन्धित अंगमा भएको जीवित वा मरेको क्यान्सर राम्रोसँग पत्ता लाग्छ । सिटी क्यानमा पनि क्यान्सर त देखिन्छ । तर क्यान्सर कस्तो गतिमा छ भन्ने कुरा यसले पत्ता लगाउन सक्दैन । यद्यपी पेट स्क्यानले क्यान्सर पत्ता लगाउनेदेखि क्यान्सरको उपचारपश्चात् क्यान्सर कोष मरे नमरेको र औषधिले काम गरे नगरेको वा कतिसम्म काम गरेको छ ? भन्नेबारे सजिलैसँग पत्ता लगाउन मद्धत गर्छ ।
विदेशको तुलनामा यहाँ कतिको सस्तो हुन्छ ?
यातायात, खाना, बस्ने, बिरामीलाई पर्ने असुविधा सबै दृष्टिकोणले विदेश जाँदाको तुलनामा नेपालमा पेट सिटी सेवा निकै धेरै सस्तो पर्छ । धेरैजसो मानिस दिल्ली जाने गर्छन् । तर नेपालमा नै सेवा उपलब्ध भइरहेको अवस्थामा अनावश्यक दुःख पाउनुको कुनै औचित्य छैन । यहाँ धेरै प्रतिष्ठित व्यक्तिहरुले पेट स्क्यान सेवा लिइरहनुभएको छ । विगतमा विदेशमा गएर सेवा लिने व्यक्तिहरु अहिले नेपालमा भएको यो सुविधाप्रति खुशी हुनुभएको छ । हामीसँग लिखित रिपोर्ट र रेकर्डेड इमेज हुन्छ । कतिपयले यसलाई विदेश पठाएर अध्ययन गर्न पनि लगाउँछन् तर हाम्रो सेवामा कसैले पनि खोट लगाउने अवस्था सृजना भएको छैन । त्यसैले हाम्रो सेवाको गुणस्तर उत्कृष्ठ छ । धेरै व्यक्तिलाई यसबारे थाहा हुन जरुरी छ ।
घर परिवार सबैलाई मिलाएर सेवा दिन महिलाहरुलाई कतिको चुनौति ?
महिला भएपछि घरको सबै काम गर्नुपर्छ । घर परिवारप्रति विचार पु¥याउनुपर्छ । कहिलेकाँही राति १—२ बजे उठेर पनि रिपोटिङ गर्छु । छुट्टीमा कतै घुम्न जाँदा पनि रिपोटिङ हेर्ने गरेकी हुन्छु । ।

कसरी हुन्छ उपचार ?
यसको पूरा नाम पोजिट्रोन इमिशन टोमोग्राफी हो । यसले शरीरका कोषिकाहरुमा भइरहेको शुक्ष्मस्तरको सामान्य एवं असामान्य क्रियाशीलताको मापन, रोगको अवस्था पत्ता लगाउन मद्धत गर्छ । मुटुरोग, न्युरोलोजी, विभिन्न संक्रमण सम्बन्धी रोग अध्ययन र जाँचमा समेत पेट सिटी प्रविधिको प्रयोग गरिने भएपनि नेपालमा क्यान्सरमा यो प्रविधि प्रयोग हुँदै आएको छ ।


अंगको क्रियाशिलता जाँच
पेट सिटीमा विभिन्न रेडियोधर्मीहरु (कार्वन, अक्सिजन, नाइट्रोजन आदि प्रयोग गरिन्छ । तर क्यान्सर परीक्षणका लागि मुख्य FDG-F18 (फ्लोडीअक्सी ग्लुकोज) को प्रयोग हुन्छ । यद्यपी पेट सिटीले रक्त प्रवाहको मात्रा, अक्सिजनको प्रयोग, ग्लुकोज खपतको अध्ययन गरी विभिन्न अंगहरुको क्रियाशीलता जाँच गर्छ र त्यो अंगको अवस्था पत्ता लगाउन मद्धत गर्दछ ।
कसरी पत्ता लाग्छ ?
पेट सिटीले क्यान्सरका कारण कोषमा हुने स—साना अनियन्त्रित परिवर्तनलाई सुक्ष्म रुपमा किटान गरिदिन्छ । शरीरको क्रियाशिलता बढी भएका अंगहरुमा ग्लुकोजको खपत बढी हुने गर्दछ । जसरी हुर्कने बच्चालाई बढी खाना चाहिन्छ त्यस्तै क्यान्सरका कोषलाई बढी खाना चाहिन्छ र उसले बढी ग्लुकोज खपत गर्छ । क्यान्सर भएका कोषिकाहरु असामान्य तथा अनियन्त्रित बृद्धी हुने भएकाले यसमा क्रियाशीलता बढी भई ग्लुकोजको मात्रा बढि खपत हुन्छ । यसलाई पेट सिटी स्क्यानको माध्यमबाट इमेजमा परिवर्तन गरी अध्ययन गरिन्छ ।
यसमा विशेष विकीरणयुक्त ग्लुकोज जस्तो पदार्थ उपयोग गरिन्छ । बिरामीलाई रगतको नसाबाट इन्जेक्सन दिइन्छ । शरीरभरी भएका क्यान्सरका कोषले ग्लुकोजलाई अधिक मात्रामा लिन्छन् । त्यसपछि स्क्यान मेसिनको प्रयोगले विकिरणयुक्त पदार्थ कुन कुन ठाउँमा छ भन्ने फेला पार्छ । यसबाट शरीरको कुन ठाउँमा यो औषधिको मात्रा अर्थात रेडियो ट्रेसर छ भन्ने पत्ता लाग्छ र कुन ठाउँमा क्यान्सर छ भन्ने जानकारी प्राप्त गर्न सकिन्छ ।
के के मा प्रयोग हुन्छ पेट सिटी ?
– क्यान्सर पत्ता लगाउन
-क्यान्सर शरीरको एक भागमा मात्र छ वा विभिन्न भागमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन
– उपचार शुरु गर्नुअघि क्यान्सरको स्टेजिङ्ग गर्न
– उपचारपछि उपचारको प्रभावबारे मापन गर्न
– कहिलेकाँही रोग पत्ता लगाउन बायोप्सी (मासु जाँच) गर्न कठिनाइ हुँदा बायोप्सीका लागि सही ठाउँ पत्ता लगाउन
– रेडियोथेरापी (कुनै कुनै क्यान्सरमा) उपचारको योजना बनाउन
– मुटुको माशंपेशीमा रक्त प्रवाह हेर्न
– मुटुको विभिन्न रोगको अध्ययन गर्न
– मस्तिष्कको विभिन्न अवस्था अध्ययन गर्न गरिन्छ ।

बिरामीले ख्याल गर्नुपर्ने कुरा

क्यान्सर पहिचानका लागि पेट सिटी गर्नुभन्दा केही घण्टाअघिदेखि खाली पेट बस्नुपर्छ । मधुमेह नभएकाहरुले पेट स्क्यान गर्न आउँदा ६ घण्टा अघिदेखि खाली पेट बस्नुपर्छ । मधुमेह भएकालाई धेरे समय खाली पेट बस्न नहुने भएकाले उनीहरुलाई भने ४ घण्टा अघि खाली पेटमा पेट स्क्यान गर्नुपर्छ । यसपछि सुईको माध्यमबाट एफडिजी शरीरमा दिइन्छ । करिब ४५ मिनेटदेखि १ घण्टापछि बिरामीलाई स्क्यान मेसिनमा राखिन्छ । यो समय औषधिलाई शरीरको हरेक कोषमा जान राखिन्छ । एउटै मेसिनमा पहिले सिटी स्क्यान त्यसपछि पेट स्क्यान गरिन्छ ।
पेट स्क्यानको माध्यमबाट ति अंगहरुको क्रियाशिलताका बारे अध्ययन हुन्छ र पेटमा सिटी स्क्यानर हुने भएकाले अंगहरुको इमेज पनि देखिन्छ । यसले अध्ययनलाई सहज बनाइदिएको छ । जाँचपछि जहाँ कोषिकाहरु धेरै क्रियाशील हुन्छन त्यो भागमा ग्लुकोजको क्रियाशीलता पनि बढी देखिन्छ जसलाई ‘हट स्पट’ भनिन्छ यो पूरा स्क्यान प्रक्रियालाई आधा घण्टा जति लाग्नसक्छ । विशेष अवस्थामा कहिलेकाँही समय लम्बिन पनि सक्छ ।

के छ फाइदा ?
यसले शरीरका विभिन्न अंगको बनावटको साथसाथै क्रियाशीलता पनि एकैचोटी जाँच गरी देखाउँछ । अरु इमेजिङ पद्धतिबाट प्राप्त गर्न नसकेका सूचना यसबाट प्राप्त गर्न सकिन्छ । यसले विभिन्न क्यान्सर रोग पत्ता लगाउन मद्धत गर्दछ । यसले आवश्यक उपचार पद्धतिको योजना बनाउन सकिन्छ । यसले शुरुवाती अवस्थामा रोग पत्ता लगाउन मद्धत गर्छ ।
ध्यान दिनुपर्ने
यसमा प्रयोग हुने रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थको आयू थोरै (११० मिनेट) हुन्छ र सेल्फ लाइफ १२ घण्टाको हुन्छ । यसले गर्दा यो पदार्थ बनिसकेपछि जतिसक्दो चाँडो प्रयोग गर्नुपर्दछ । हाम्रो देशमा विभिन्न संक्रामक रोगहरु जस्तैः क्षयरोग, सार्कोइडोसिस धेरै मात्रामा पाइने गर्दछ जसले लिम्फ ग्रन्थी सुन्निने हुन्छ । यस्तो अवस्थामा पेट स्क्यान गर्दा क्यान्सर नभए पनि पोजेटिभ रिजल्ट आउन सक्छ । त्यसैले रिपोर्ट गर्ने चिकित्सकले यस्ता कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ । यस्तो अवस्थामा क्यान्सर र क्षयरोग छुट्याउन गाह«ो हुनसक्छ ।

पेट सिटीमा प्रयोग गरिने रेडियो न्युक्लियर औषधि FDG-F18 उत्पादन हाम्रो देशमा हुन सकेको छैन । किनभने नेपालमा साइक्लोट्रोन मेसिन छैन । यो न्यूक्लिनियर मेडिसिन भारतबाट खरीद गरेर ल्याउनुपर्छ ।

    Comment Here!