रोग पराजय गर्ने संकल्पः क्यान्सर जितेपछिको जीवन झनै सुन्दर
बिरामीलाई हौसला र उत्प्रेरणा दिन पाउँदा आत्मसन्तुष्टि
स्वास्थ्यप्रति निकै सचेत थिएँ । प्रत्येक ६/६ महिनामा ‘होल बडी’ परीक्षण गराउने बानी थियो । सबै स्वास्थ्य रिपोर्ट सामान्य नै थिए । सन् २०११ तिरको कुरा हो, जेठाजुको छोराको विवाहमा सहभागी हुन बेलायत ( लन्डन) गएँ । लन्डनबाट फर्किएपछि एक्कासी अनुहारमा असामान्य डन्डिफोरजस्ता खटिरा देखिन थाले । बिस्तारै खटिरा फुटेर अनुहार वरिपरि कालो दाग देखिन थाल्यो । कहिलेकाहीँ खटिरा आफैँ निको हुन्थ्यो । अनुहारमा देखिएको खटिरा ढाड हुँदै स्तनमा समेत देखिन थाल्यो । स्तनमा स–साना गाँठा देखिन थालेपछि तुरुन्तै स्त्रीरोग विशेषज्ञलाई देखाउन गएँ । पिलो आउन लागेको भन्दै चिकित्सकले एन्टिबायोटिक औषधि खान परामर्श दिए । लगातार १५ दिनसम्म औषधी सेवन गर्दापनि सुधार भएन ।
रिपोर्टमा माइल्ड सेल
एकदिन अफिसमासँगै काम गर्ने एउटी दिदीलाई स्तनको गाँठाबारे सुनाएँ । तुरुन्तै अस्पताल जान सुझाउनुभयो । चाबहिलको मेडिकेयर अस्पताल गएँ । त्यहाँका स्त्रीरोग विशेषज्ञले एकपटक ब्रेस्ट सर्जनलाई देखाउन सुझाए । स्तनमा नदुख्ने गाँठा आएमा क्यान्सर हुन सक्ने सुनेकी थिएँ । तर, ती गाँठा चलाउँदा दुख्थ्यो । त्यसपछि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ सर्जन डा. प्रकाश सायमीलाई भेट्न गएँ । उहाँले स्तनको गाँठा निकालेर बायोप्सी (एफएनएसी) का लागि पठाउनुभयो । प्याथोलोजिस्ट डा. गीता सायमीले एफएनएसी जाँच गर्नुभयो । उहाँले रिपोर्टमा माइल्ड सेल देखिएको जानकारी दिनुभयो । त्यतिबेला वास्ता गरिएन ।
भोलिपल्ट डा. सायमीलाई रिपोर्ट देखाउन एक्लै अस्पताल गएँ । अन्तिममा पालो आयो । रिपोर्ट वल्टाइपल्टाइ हेरेर डा. सायमीले भन्नुभयो– ‘तपाईंको मान्छे खोइ? तपाईंलाई स्तन क्यान्सर देखिएको छ । तुरुन्तै उपचार सुरू गर्नुपर्छ ।’
रोग पराजय गर्ने संकल्प
क्यान्सर शब्द सुन्नेबित्तिकै म छाँगाबाट खसेझैँभएँ । चक्कर लाग्लाझैँ भयो । आकस्मिक कक्ष अगाडि भुइँमा थचक्क बसेँ । घरमा ८०–९० वर्षका वृद्ध सासूससुरा र दुई छोरा थिए । श्रीमान् कामको सिलसिलामा देशबाहिर जानुभएको थियो । आफूलाई क्यान्सर होला भन्ने कल्पनासमेत गरेकी थिइनँ । अब परिवारलाई के भन्ने, कसरी सुनाउने, समाजसँग कसरी सामना गर्ने आदि÷इत्यादि अनेकौँ कुरा मनमा खेल्न थाले ।
परिवार र छरछिमेकीसामु कमजोर बन्नुहुन्न । जसरी पनि रोगलाई पराजय गर्ने संकल्प लिएँ । आफूलाई सम्हालेँ । त्यतिबेलै मनभित्रको युद्ध जितिसकेकी थिएँ । मन आत्तिएको थियो तर आँखाबाट आँसु खसेन ।
त्यसपछि सामान्य अवस्थामा घर फर्किएँ । परिवारका सबै सदस्यलाई एकैठाउँ बोलाएर यथार्थ बताएँ । श्रीमान् भोलिपल्टै नेपाल फर्कनुभयो ।
नेपाली डाक्टसँग भरोसा राखेँ
छरछिमेकीले नेपालमा क्यान्सरको राम्रो उपचार हुँदैन, बिरामी बाँच्दैन, उपचारका लागि इन्डिया लैजानू भन्न थाले । तर, नेपाली डाक्टरको विश्वास गरेर स्वदेशमै उपचार गर्ने निधो गरेँ । शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक हुन्थ्यो । डा. सायमीले जसोतसो पुरुष सर्जिकल वार्डमा शल्यक्रिया गर्ने व्यवस्था मिलाउनुभयो । तुरुन्तै उपचार सुरू भयो । अर्को दिन बिहान ११ बजे होश खुल्यो । डाक्टरको राउन्ड समय भएको रहेछ । ‘आत्तिनुपर्दैन । क्यान्सर सेल सोचेजति फैलिएको रहेनछ । अब चाँडै निको हुन्छ ।’ डाक्टरको त्यही शब्दले आज जीवितै छु । क्यान्सरलाई पराजित गरेको १३ वर्ष पूरा भयो । अहिले हरेक वर्ष नियमित फलोअपमा गइरहन्छु । स्वास्थ्य अवस्था र जीवनशैली सामान्य छ ।
जीवनको अर्थ बुझेँ
जीवन पानीको फोकाजस्तै रहेछ । कुन बेला फुट्छ, थाहा नहुने । अहिले मृत्युलाई जितेको महसुस हुन्छ । अब जस्तो परिस्थिति आएपनि डर लाग्दैन । हामीले यथार्थमा बाँच्नुपर्छ । राम्रो कर्म गर्नुपर्छ । समाजशास्त्रमा स्नातकोत्तर पूरा गरेपछि जेन्डर स्टडीसम्बन्धी परियोजनामा आबद्ध भएँ । माओवादी द्वन्द्वकालमा ३० जिल्लामा काम गरेकी थिएँ ।
दुर्गम जिल्लाका महिलाको अवस्था नजिकबाट नियाल्ने अवसर मिल्यो । त्यतिबेला महिलाको स्वास्थ्य क्षेत्रमा काम गर्न पाए हुनेझैँ लाग्थ्यो । अहिले क्यान्सरलाई पराजित गरेपछि त्यो सपना पूरा भएको छ ।
आत्मसन्तुष्टि नै उपलब्धि
सबैभन्दा ठूलो उपलब्धि भनेको आत्मसन्तुष्टि मिलेको छ । बिरामीलाई हौसला र उत्प्रेरणा दिन पाउँदा खुसी लाग्छ । मृत्युको त्रास र निराश मुद्रामा भेटिएका बिरामी आत्मबल बलियो बनाएर फर्कन्छन् । डाक्टरलाई भन्न नसकेका कतिपय कुरा हामीलाई सुनाउँछन् ।
जीवनशैलीमा विशेष ध्यान
क्यान्सर मृत्युको पर्याय होइन । क्यान्सरपछिको जीवन झनै सुन्दर छ । क्यान्सर लाग्न नदिन खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । यदि रोग लागिहालेडराउनुपर्दैन ।
आत्मबल बलियो बनाउनुपर्छ । सधैँ सकारात्मक सोच्नुपर्छ । ध्यान, योगा वा सिर्जनशील काममा आफूलाई व्यस्त राख्नुपर्छ । समयमै रोगको पहिचान र राम्रो उपचार पाए क्यान्सर पूर्ण रुपमा निको हुन्छ । नियमित चिकित्सकको निगरानीमा बस्नुपर्छ ।
सोसाइटीमार्फत प्रेरक परामर्श
सुरुआती दिनमा एउटा अस्पतालबाट क्यान्सरसम्बन्धी परामर्श, सचेतना र स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्यौँ। देशभरका अस्पताल र दूरदराजका क्यान्सरका बिरामीको आवाज बन्नुथियो । त्यसका लागि विसं. २०७४ चैत २६ गते नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी गठन गरियो । हाल सोसाइटीमा १ सय बढी क्यान्सर विजेता आबद्ध छन् । संस्थाले देशभरका क्यान्सरका बिरामीलाई प्रेरक परामर्श दिने काम गर्छ । विभिन्न अस्पतालका डाक्टरसँग समन्वय र सहकार्य गरिरहेका छौँ । हामीले टेलिफोन, भिडियोकल र फेस टु फेस माध्यमबाट बिरामीलाई परामर्श दिँदै आएका छौँ ।
अपहेलना र यातना
अर्को कुरा, महिला हिंसा, महिला अधिकारको वकालत गरिरहँदा क्यान्सरभित्रको हिंसा छायाँमा परेको छ । क्यान्सरपीडित महिलालाई आफ्नै घरपरिवारका सदस्यले अपहेलना र यातना दिने गरेका छन् । क्यान्सर उपचार चलिरहेको अवस्थामा लुगा धुनुपर्ने, भाँडा माझ्नुपर्ने र उब्रिएको खाना खानुपर्नेजस्ता बाध्यता छन् ।
श्रीमतीलाई क्यान्सर लागे श्रीमान्ले राम्रो उपचार गर्नुको साटो अर्को बिहे गर्नेसम्मको सोच बनाउँछन् । बिरामीको आत्मबल गिराउने काम गरिन्छ । त्यसकारण समाजमा क्यान्सर सचेतना फैलाउन जरुरी छ ।
हामीले विद्यालय स्तरमै क्यान्सर सचेतना कार्यक्रम सुरु गरिरहेका छौँ । देशका विभिन्न जिल्लामा हेल्थ क्याम्प सञ्चालन गरिरहेका छौँ ।
(नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीका अध्यक्षसमेत रहनुभएकी खनालसँग वार्तामा आधारित)