१३ वटा शल्यक्रिया गरेर क्यान्सरबाट पुनर्जीवन
घरमै आत्महत्या गर्नै लाग्दा छोराको आवाजले मृत्युलाई रोकेँ
हालसम्म १३ वटा शल्यक्रिया गरेर क्यान्सरलाई पराजित गर्नुभएकी केसी दृढ आत्मविश्वास र उच्च मनोबलकै कारण रोगलाई जितेको बताउनुहुन्छ। अरूको खुसीका लागि खुसी भइदिनुपर्ने मानव जीवनका पीडादायी भोगाइलाई सहजै पराजित गर्नुभएकी केसी पीडा भुलाउन नित्य व्यायाम गर्नुपर्ने सुझाउनुहुन्छ। जन्मघर दाङ र कर्मघर प्यूठान एवं कैलाली भए पनि उहाँको बसाइ हाल काठमाडौंमा छ। बिनुलाई लागेको क्यान्सर र पीडादायी अनुभवको संगालोः
म १६ वर्षकी हुँदा ३ वटा शल्यक्रिया भइसकेका थिए । कोखको बाँया भागमा बाहिर देखिने गिर्खा ‘हेमान्जियोमा’ थियो । उमेर बढ्दै जाँदा त्यो पनि बढ्दै गयो । बुबाले भारत लगेर जाँच गराउँदा त्यहाँका डाक्टरले समस्या नहुने बताएका थिए । एकपटक विद्यालयमा फुटबल खेल्दा गिर्खा भएको कोखमा फुटबल लागेर ढलेँ । त्यो बेला १५ वर्षकी थिएँ । दुखाइ बढ्दै गयो । बुबाले उपचारका लागि काठमाडौँ ल्याउनुभयो । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा पार्सियल एनेस्थेसिया दिएर हेमान्जियोमाको शल्यक्रिया गरिए पनि सफल भएन । शल्यक्रियाका क्रममा ब्लिडिङ भयो । चार–पाँच दिनपछि फूल एनेस्थेसिया दिएर दोस्रोपल्ट मेजर शल्यक्रिया भयो । यसपल्ट भने सफल भयो । हेमान्जियोमा एक गैरक्यान्सर ट्युमर हो । यो जन्मनेत्तिकै वा जन्मेको ७ देखि १४ दिनभित्र विकसित हुने गरेको पाइन्छ । यसलाई जन्मचिन्ह पनि मानिन्छ । समयसँगै यो निको हुन्छ ।
शल्यक्रियापछि बायोप्सी टेस्ट (मासुको सानो टुक्रा जाँच) का लागि नमुना ल्याबमा पठाइयो । ल्याबका मान्छेले नमुना हराएछन् । जाँचै नगरी नर्मल भनेर रिपोर्ट दिए । यद्यपि उनी आफ्नै मान्छे थिए । त्यसपछि डा. मदनकुमार पियासँग जाँच गर्न गएँ । उहाँले अल्ट्रासाउन्ड गरेर हेर्नुभयो । क्यान्सर नभएको ठोकुवा गरेपछि म ढुक्क भएँ । २०५२ मा स्नातक पढ्दै गर्दा एपेन्डिक्सको पनि शल्यक्रिया भयो ।
२०५८ मा विवाह भयो । २०६४ मा सपरिवार काठमाडौं आयौं । म ठमेलमा व्यापार गर्थें । श्रीमान् कलेज पढाउनुहुन्थ्यो । छोरा जन्मिइसकेको थियो । दिदी पनि यतै हुनुहुन्थ्यो । दिदी र मेरो छोरा सँगै हुर्कंदै थिए । त्यही बीचमा रिंगटा लाग्ने, प्रेसर लो हुनेजस्ता समस्या देखिन थाले । राती निसास्सिन्थेँ । झ्याल खोल्न लगाउँथेँ । शरीर पसिनाले भिज्थ्यो । कामको धपेडीले हो कि भन्ने लाग्थ्यो । तर, समस्या बढ्न थालेपछि फिजिसियनकहाँ पुगेँ । उहाँले खानपानमा ध्यान दिन भन्नुभयो । त्यसको एक महिनाको बीचमा पूरै शरीरमा कमिलाले टोकेजस्तो डाबर आयो । छालाको जाँच गरेँ । खासै समस्या देखिएन । छोराले दूध चुस्न छाडेको ४ महिनापछि दाहिने स्तनबाट दूध निस्कन थाल्यो । सुत्दा थिचिएर हो कि भन्ठानेँ ।
स्त्री रोगको डाक्टरलाई जँचाउदा दूध सुकाउने औषधी दिनुभयो । तर, एक महिना खाँदा पनि सुकेन । छाती पनि दुखेकाले छातीको डाक्टरलाई देखाएँ । उहाँले प्रेसर लो भएकाले खानपानमा ध्यान दिन सुझाव दिनुभयो । तर, कसैले पनि मलाई स्तन विशेषज्ञकहाँ सिफारिस गर्नुभएन । यो क्रम एक वर्ष चल्यो । एक दिन बाथरुममा नुहाउने क्रममा आफ्नो स्तन हेरेँ । स्तन वरिपरि ३ वटा दाग (छिटा) देखेँ । निचोरेको त रगत निस्कियो ।
तत्काल दिदीलाई देखाएँ । ढिला नगरी हामी डा. प्रकाश सायमीकहाँ गयौँ । एफएनएसी गरियो । २०६८ माघ २४ गते स्तन क्यान्सर पहिचान भयो । त्यो बेला छोरा ३ वर्षको थियो । म धुरुधुरु रोएँ पनि । तर, आफूलाई बलियो बनाउनुपर्छ भन्ने लाग्यो । इनिसियल स्टेज रहेछ । क्यान्सर छरिएको भागको मात्र मासु निकालिदिनुभयो । खाल्टो भएको भागमा पानीजस्तै जेल भरेर जस्ताको तस्तै स्तन बनाइदिनुभयो । त्यसपछि हामी भारतको नयाँ दिल्लीस्थित राजीवगान्धी क्यान्सर हस्पिटल गयौँ । नन्द फुर्वा सिंहले निकै सहयोग गर्नुभयो । हस्पिटलमा बिरामीको अवस्था देखेर हामी आत्तियौँ । त्यसपछि निजी अस्पतालमास्तन निकालियो । किमो चलाइयो । ४ वर्षपछि पेट स्क्यान गर्दा त्यही ठाउँमा फेरि क्यान्सर देखियो । मेदान्त हस्पिटलमा शल्यक्रिया र रेडियसन चलाइयो । त्यसको ३ वर्षपछि देब्रे स्तनमा पनि समस्या भयो । त्यो पनि निकालियो । श्रीमान्को आग्रहमा फैलन सक्ने भाग पाठेघर पनि निकालियो ।
मानव जीवन अरूको खुसीका लागि आफू खुसी भइदिनुपर्ने । एकपटक त म डिप्रेसनमै गएँ । आफ्नो मान्छेदेखि टाढा जान मन लाग्ने, रुन मन लाग्ने हुन थाल्यो । श्रीमान्लाई पीडा सेयर गर्न नसक्ने अवस्था थियो । मलाई भेट्न आउनेले भन्ने गरेको विचरा, सानो उमेरमा, हजुरले केही गर्नुभएको थिएन, यति सानो बच्चालाई टुहुरो बनाउनुहुन्न भगवान्ले जस्ता कुराले कमजोर भएँ ।
समिर (श्रीमान्) घर न घाटको हुने भो भन्ने कुरा पनि गर्थे । यसले धेरै बाँच्ने रहेनछु जस्तो लाग्यो । छोरा र श्रीमान्ले बिर्सन गाह्रो होला जस्तो लाग्थ्यो । मनमा धेरै नकारात्मक कुरा खेलिरहे । डाक्टरको सिफारिसमा डिप्रेसनको औषधी चलाइयो । डिप्रेसनको औषधीले पर्दा खोलेको पनि मन नपर्ने, बत्ती बालेको पनि मन नपर्ने, एक्लै हुँदा आफू मजबुत भएको अनुभव हुने, तर मान्छे देख्नै नहुने ।
यसले गर्दा एकपटक त आफ्नै घरको छतमा आत्महत्यासमेत गर्ने सोच आएछ । तीनै जना सुतिरहेका थियौँ । लेखमा सबैको जिम्मेवारी लेखेँ । पीडामा डायरी लेख्ने बानी छ । पहिला धेरै लेखेकी छु । आत्महत्या गर्नै लाग्दा एक्कासी छोराको आवाज आयो । दौडेर रूममा आउन बाध्य भएँ । एकपल्ट सबैको अनुहार हेरेँ । गल्ती अनुभूति गरेँ । महिनौँसम्म निद्रा नलाग्ने समस्या थियो ।त्यसपछि डिप्रेसनको औषधी छाडेँ र ध्यानतिर लागेँ । ओशोमा गएँ । मेडिटेसनले डिप्रेसबाट बाहिर निकाल्यो ।
तीन वर्षपछि सेम डिप्रेसन भयो । भूकम्पका बेला भएकाले फोक्सोमा छिटा देखियो । २१ दिनको ४ लाख २० हजार पर्ने औषधी खान भन्नुभयो । तर, सक्ने अवस्था थिएन । एक वर्ष समयको माग गर्नुभयो । एक महिनाको समय दिनुभयो । विस्तारै औषधीले डेढ वर्षमा पूरै निको भयो । त्यो ओरल किमो थियो ।