Logo
|
Tuesday 30th April 2024
Logo

epaper

नेपालमा पनि भेटियो ३० देशको टाउको दुखाइ बनेको प्राणघातक कोरोना भाइरस



सन् २००३ मा चीनलगायत ३० देशमा चार सयको ज्यान लिएको सार्स रोग कोरोना भाइरसबाटै फैलिएको थियो । सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ । यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले सात वर्ष लगाएर गरेको अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तर्रा्ष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको छ ।

अनुसन्धानकर्ताले जटिल प्रकारको निमोनिया फैलाउने कोरोना भाइरस मानिस, चमेरो, हाँस र मुसामा देखिएको बताएका छन् । सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा.. अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताए ।

सार्स र मर्स श्वासप्रश्वाससम्बन्धी रोग हुन्न्। उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्छ । सार्स जनावरबाट मानिसमा सर्छ । तर, नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने होरहोइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले बताएका छन् ।

सेन्टर फर डायनामिक नेपालका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले सात वर्षमा जनावर र मानिसमा ३० हजार नमुना परीक्षण गर्दा कोरोना भाइरसको प्रजाति भेटिएको बताए । मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने भन्दै डुब्लुएचओले सचेत गराउँदै आएको छ ।

चिकित्सकका अनुसार कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर पुर्‍याउँछ । भाइरस संक्रमणपछि ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन्छ । यसले निमोनिया तथा मिर्गौलासमेत फेल गराउन सक्छ । भाइरस संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा थुक र खकारमार्फत यो भाइरस अर्को व्यक्तिमा फैलिन्छ ।

नेपालमा सन् २०१२ देखि भएको यो अनुसन्धानले मुसाबाट मानिसमा सर्ने हान्टा भाइरससँगै १९ प्रकारका नयाँ भाइरस पनि पत्ता लगाएको छ । हान्टा भाइरसले भयावह रूप लिन सक्नेतर्फ चिकित्सकले सचेत गराएका छन् ।

अनुसन्धानले कुकुर–स्यालबाट रेबिज, कुखुरा र हास (चराचुरुङी) बाट बड्फ्लु (एच७ एन९), सुंगुरबाट स्वाइनफ्लु (एच१ एन१), बिरालोबाट टोक्सोप्लाज्मोसिस, मुसाबाट लेक्टोस्पाइरोसिस प्लेग, चमेरोबाट इबोला, बाख्रा र गाईबाट ग्रुचेलोसिस टिबी, रेवाबाट क्रिप्टोच्कोरिबिओसी सर्ने गरेको देखाएको छ ।

अनुसन्धानकर्ताले मानिस र जनावरबीचको दूरी नजिक भएको ठाउँमा नमुना परीक्षण गरेका थिए । काठमाडौंको बागमती किनारका सुकुमबासी बस्ती, टेकुदोभान, कलंकी, मकवानपुर, लाजिम्पाट, चितवनलगायत क्षेत्रका मानिस, मुसा, बाँदर र चमेरोमा अध्ययन गरिएको थियो ।

वान हेल्थको नीति अवलम्बन गर्दै जंगली जनावर, घरपालुवा जनावर र मानिसबाट संकलन गरिएको नमुना परीक्षण गरिएको संस्थाले जनाएको छ । नेपालमा यस्तो अनुसन्धान पहिलो पटक भएको सेन्टर फर डायनामिक नेपालका कार्यकारी निर्देशक दिवेश कर्मचार्यले बताए ।

विश्वमै इबोला, सार्स, मर्स, निपाजस्ता रोग देखिन थालेपछि विश्वव्यापी रूपमा वान हेल्थ नीतिअनुसार अध्ययन चलिरहेको उनको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्