Logo
|
Tuesday 30th April 2024
Logo

epaper

नेपालमा नोबेल कोरोना भाइरस भेटिएको स्वास्थ्य मन्त्रालयको पुष्टि

नोबेल कोरोना भाइरसबारे यस्तो छ भ्रम र यथार्थ ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा नोबेल कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिको प्रारम्भिक जाँचमा सो भाइरस देखिएको हो । कोरोना भाइरसको निश्चित पहिचानका लागि विश्व स्वास्थ्य संगठन कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएको जाँचको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपालमा कोरोना भाइरस भेटिएको पुष्टि गरेको छ । ‘कोरोना भाइरस संक्रमित व्यक्ति प्रत्यक्ष निगरानीमा रहेका छन्’—शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले भन्नुभयो—‘इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे सघन निगरानी राखी विस्तृत अध्ययन गरिरहेको छ ।’
‘बिरामीको नजिकको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको खोजी गरी पहिचान र परीक्षणको काम भइरहेको छ ।’— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले भन्नुभयो—‘अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधान अनुसार विश्व स्वास्थ्य संगठनलाई विस्तृत विवरणसहित यसबारे जानकारी गराएका छौं ।’
विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट नै बनाएर उपलब्ध गराउने काम गरिरहेको महाशाखा प्रमुख डा. विवेक लाल कर्णले जानकारी दिनुभयो । अलगोरिधम चार्टमा अस्पताल र स्वास्थ्यकर्मीहरुले शंकास्पद बिरामीको पहिचान र उपचारमा उपनाउनुपर्ने विधि, शंकास्पद बिरामी, परिवार र कुरुवाहरुले रोग सर्न नदिन अपनाउनुपर्ने सावधानीबारे सचेत गराइएको हुन्छ । यसलाई निगरानी र रिपोर्टिङ, बिरामीको उपचार, संक्रमण, रोकथाम र नियन्त्रण, जोखिम सञ्चार, प्रयोगशाला नमुना संकलन र ढुवानी व्यवस्था गरी पाँच समूहमा राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुबीच बिमानस्थलमा रहेको सहायकता कक्षको क्षमता बढाएको र आवश्यक जनशक्ति र उपकरणहरुसहित नेपाल भित्रिने शंकास्पद बिरामीहरुको निगरानी कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । बिमानस्थलबाट ज्वरोसहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरुमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइरहेको मन्त्रालयले जनाएको छ । चीनबाट नेपाल आउने हरेक बिमानहरुमै यात्रुहरुको स्वास्थ्यसम्बन्धि फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ । शंकास्पद बिरामीको रिपोटिङ गर्ने फाराम र रोगबारेको सूचना सामाग्रीहरु सबैले पाउने गरी उपलब्ध गराइसकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्