Logo
|
Friday 26th April 2024
Logo

epaper

न्युजिल्यान्डमा युवा आत्महत्या किन बढी छ ?



न्युजिल्यान्ड पहाड, नदी र हरियालीले भरिएको देश हो । यति सुन्दर देशमा कुनै पनि समस्या छैन भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं बिल्कुलै गलत सोचिरहनुभएको छ । न्युजिल्यान्डको दोस्रो पाटो पनि छ, जसले संसारलाई हैरान बनाइदिन सक्छ । वर्षौंदेखि यो देश डिप्रेसन र आत्महत्याको समस्यासित जुधिरहेको छ । युनिसेफले जारी गरेको एक नयाँ रिपोर्ट फेरि पनि न्युजिल्यान्डलाई हैरान पार्ने खालको छ ।

युनिसेफको रिपोर्टअनुसार विकसित देशहरूमध्ये न्युजिल्यान्डमा संसारमै सबैभन्दा बढी युवाले आत्महत्या गरिरहेका छन् । जब कि बाँकी संसारका लागि भने यो रिपोर्ट अचम्मलाग्दो छैन । यसरी युवा आत्महत्यामा न्युजिल्यान्ड अगाडि भएको रिपोर्ट पहिलोपटक सार्वजनिक भएको होइन । युनिसेफको रिपोर्टअनुसार ४१ युरोपेली देशमध्ये सबैभन्दा बढी न्युजिल्यान्डमा १५ देखि १९ वर्ष उमेरका युवाले आत्महत्या गरिरहेका छन् । प्रति एक लाखमा १५।६ आत्महत्याको दर अमेरिकाभन्दा दोब्बर हो भने बेलायतको भन्दा झन्डै पाँच गुना बढी हो ।

आखिर न्युजिल्यान्डमा यस्तो किन भइरहेको छ र ?
न्युजिल्यान्डमा यसरी युवाको आत्महत्या बढी हुनुका पछाडि कैयौँ कारण छन् । युनिसेफ, न्युजिल्यान्डका डा। पु्रडेन्स स्टोनका अनुसार यो घटना केवल तत्यांकसँग सम्बन्धित छैन । युवा आत्महत्याको यो डरलाग्दो तथ्यांकको सम्बन्ध अन्य कैयौँ घटनासित जोडिएको छ । स्टोनका अनुसार यहाँका बालबालिकामा गरिबीको उच्च दर, किशोरीहरूको गर्भधारण र बाबुआमाले काम नगर्ने परिवारका कारण यहाँ यसरी युवा आत्महत्या बढी हुने गरेको छ । न्युजिल्यान्ड मेन्टल हेल्थ फाउन्डेसनका सन रबिन्सनका अनुसार स्कुलहरूमा डर देखाउने तथा धम्काउने मामिलामा न्युजिल्यान्डको अवस्था अत्यन्त खराब छ । परिवाहरूबीचको हिंसा पनि निकै बढी छ । यहाँका बालबालिकाले निकै प्रताडना झेल्नुपर्छ । यसका साथै बालबालिकामा गरिबीको दर पनि निकै उच्च छ । यसलाई तत्काल सुल्झाउनु वा सम्बोधन गर्नु जरुरी छ ।

न्युजिल्यान्डको यस तथ्यांकबाट यहाँको मावरी समुदाय र प्यासिफिक द्विपवासीमा आत्महत्याको दर निकै उच्च छ भन्ने प्रस्ट हुन्छ । स्टोनले भनेका छन्— यसबाट यो सांस्कृतिक पहिचान र औपनिवेशीकरणको प्रभावको परिणाम हो भन्ने प्रस्ट हुन्छ । र, यसबाट हाम्रो समाजमा स्थानीय तथा सांस्कृतिक नश्लभेद कुन स्तरमा छ भन्ने पुष्टि हुन्छ । यस्ता घटनामा समस्या समाधानको उपाय खोजी गरी समाधान निकाल्न सकिने गरी कुनै जाँच पनि हुँदैन । जब कि, यस्ता घटनाबारे बारम्बार सचेत गराउने काम भने भइरहेको हुन्छ ।

अन्य पश्चिमी देशको तुलनामा न्युजिल्यान्डको स्वास्थ्य सेवा पनि खराब छ । स्टोनका अनुसार यहाँका पुरुषमा कठोर छविको संस्कृति छ । यस कारण कैयौँ अवस्थामा उनीहरू एक किसिमको दबाबमा रहन्छन् । यस्तो अवस्थामा पुरुषहरू निकै जमेर बियर पिउने गर्छन् । डाक्टरहरूको भनाइअनुसार पछिल्लो समयमा केही सुधार आएको छ । यहाँका केही संगीतकार र फिल्म निर्माताहरू पुरुषको यस्तो छवि बदल्ने कोसिस गरिरहेका छन् । रबिन्सनको भनाइअनुसार न्युजिल्यान्डले आफ्नो देशका किशोरहरूलाई दबाबसित जुध्न कुनै पनि मद्दत गरिरहेको छैन । यहाँका युवा जेजस्ता दबाब र मानसिक चुनौतीसित जुधिरहेका छन्, त्यसमा सुधार ल्याउन तथा युवाहरूलाई मद्दत गर्न न्युजिल्यान्डले कुनै कदम चालेको छैन । परिणामतः युवा आत्महत्याको दर उच्च हुँदै गएको छ । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्