Logo
|
Sunday 5th May 2024
Logo

epaper

हात्ती पाइलो रोगविरुद्धको औषधि खुवाउने अभियान वैशाख १६ गतेबाट शुरु



नेपाल हेल्थ न्युज, जनकपुरधाम । हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशसहित भारतसँग सिमाना जोडिएको तराई मधेशका ७ जिल्लामा संक्रमितहरु फेला परेपछि यस रोग विरुद्धको औषधि खुवाउने अभियान वैशाख १६ गतेबाट शुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउनका लागि सबै प्रकारको तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।

१६ गतेबाट शुरु भएर वैशाखको ३० गतेसम्म चल्ने सो कार्यालयले जानकारी दिँदै औषधिहरू सबै पालिकाहरूमा पठाउने काम भइरहेको सिनियर अहेव अधिकृत शिवजी दासले जानकारी दिनुभयो । नेपाल सरकारले हात्ती पाईले रोगको संक्रमण देखा परेका जिल्लाहरूमा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा औषधि खुवाउन लागेको हो ।

विश्वबाट हात्ती पाईले रोगको निवारण गर्ने अभियान अन्तर्गत निवारण हुन नसकेका देशहरूमा हात्ती पाईले रोग विरुद्धको औषधिमा विश्व स्वास्थ्य सङ्गठन जस्ता निकायहरूले काम गरिरहेको छ । तीन प्रकारको औषधि खुवाइने भएको छ ।

समयमा हात्ती पाईले रोग विरुद्धको औषधि नखाएको खण्डमा यसको संक्रमण भएको खण्डमा हात खुट्टा, अण्डकोष तथा महिलाहरूको स्तन सुनिने र कुरूप हुने भएकाले सबैलाई औषधि खानका लागि स्वास्थ्य कार्यालयले सवैमा आग्रह गरेको छ ।

धनुषामा मात्र १ हजार ३ सय ५० जना रोगी रहनुका साथै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मात्र २ सय २ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ । भारतसँग सीमाना जोडिएको नगराईन नगरपालिकामा १ सय ९५ जना तथा मुखीयाट्टी गाउँपालिकामा १ सय ५ जनामा संक्रमण फेला परेको छ । धनुषाका १८ पालिकामा नै हात्ती पाईले रोगबाट संक्रमित फेला परेको पनि कार्यालयले जानकारी दिएको छ ।

पूर्ण रुपमा औषधि सुरक्षित रहेको बताउँदै स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत रामबाबु ठाकुरले जानकारी दिनु भएको छ । एक जनाले नौ चक्की औषधि खानु पर्नेछ । औषधि आएपछि हात्ती पाईले रोग लागेकाहरूबाट सर्ने सम्भावना ९६ प्रतिशतले न्यून हुने भएको छ ।

हात्ती पाईले रोग विरुद्धको औषधि २ वर्ष मुनिको बालबालिका, दीर्घ रोगी, गर्भवती महिला तथा ७ दिनको सुत्केरी महिलाले खान नहुने पनि स्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य प्रशासक उमेश कुमार यादवले जानकारी दिनु भयो । औषधि खुवाउनका लागि सबै स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यका कर्मचारीहरूलाई परिचालन गरिइएको छ ।

धनुषा जिल्लामा कूल जनसङ्ख्या ८ लाख ७४ हजार रहेको र त्यस मध्ये ७ लाख ५० हजारलाई औषधि खुवाएको खण्डमा लक्ष्य पुरा हुने पनि कार्यालयले जानकारी दिएको छ । खास गरेर औषधि खानमा छुट्नेमा पुरुषको सङ्ख्या नै बढी रहेकाले आफूहरू यस पटक सचेत रहेको जानकारी दिँदै यो कार्यक्रम सबैको कार्यक्रम रहेकाले सफल बनाउनका लागि कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्