Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वाइनफ्लु परीक्षणमा समस्या



‘किट’ नभएपछि बाँकेमा अहिले बिरामीको रोग पत्ता लगाउन समस्या भएको छ ।

टाउको दुख्ने, ज्वरो आउने र शरीर दुख्ने लक्षण लिएर आएका बिरामीलाई यहाँका चिकित्सकले ‘स्वाइनफ्लुु को आशंका गरेका छन् ।

भेरी अञ्चल अस्पतालमा केही दिनदेखि दैनिक १० जना बिरामी यही लक्षण लिएर आउने गरेका छन् । तर, अस्पतालसँग रोग पत्ता लगाउने किट नहुँदा रोग एकीन हुन सकेको छैन । त्यसैले सामान्य रोकथामबाहेक बिरामीका लागि औषधिसमेत चलाउन समस्या देखिएको डाक्टरले बताएका छन् ।

अस्पतालका फिजिसियन डा.खगेन्द्र शाहीका अनुसार अञ्चल अस्पताल नेपालगन्जमा मात्र दैनिक ८÷१० जना शंकास्पद स्वाइनफ्लुका बिरामी आउने गरेका छन् । तर, स्वाइनफ्लु पत्ता लगाउने किटको अभाव हुँदा बिरामीको औषधोपचारमा समस्या देखिएको छ । टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेजस्ता लक्षण भएका बिरामी दैनिक १० जनासम्म आइरहेको डा. शाहीले बताए । यस्तो लक्षण स्वाइनफ्लुका बिरामीमा देखिन्छ । ‘पछिल्लो समय उपचारका लागि आएका धेरै बिरामीमा देखिएका लक्षण ‘इन्फ्लुएन्जा लाइक इलनेसु भित्र पर्छु, उनले भने, ‘सिम्टम हेर्दा स्वाइनफ्लुसँग मिल्दोजुल्दो देखिन्छ ।

तर अस्पतालमा स्वाइनफ्लु रोग पत्ता लगाउने किटको अभाव भएकाले यही नै हो भन्न सकिएको छैन ।’ यी बिरामीमा देखिएको लक्षण र अन्य जिल्लामा पनि यो रोग देखिइसकेकाले यहाँ पनि स्वाइनफ्लु हुनसक्ने अनुमान मात्रै चिकित्सकले गरेका छन् ।

देशका अन्य भागमा पनि स्वाइनफ्लुका बिरामी भेटिएकाले शंकास्पद बिरामीलाई गम्भीरतापूर्वक हेरिरहेको डा. शाहीको भनाइ थियो । ‘तर रोग पत्ता लगाउने किट नहुँदा उपचारमा समस्या भइरहेको छ । जतिसक्दो चाँडो किटको व्यवस्था गर्न हामीले जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमार्फत र आफ्नै च्यानलबाट पनि पहल गरिरहेका छौं,’उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी तथा सरुवा रोग नियन्त्रण फोकल पर्सन रामबहादुर चन्दले स्वाइनफ्लुको भाइरस पत्ता लगाउने किट १÷२ दिनमै ल्याउने तयारी भइरहेको बताए । ‘शंकास्पद स्वाइनफ्लुका बिरामी भेटिएको जानकारीमा आएपछि हामीले महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखालाई पत्राचार गरेर किट मगाइसकेका छौं,’ चन्दले भने, ‘शुक्रबारसम्ममा किट आइपुग्ने छ ।’
सरकारसँग अहिले स्वाइनफ्लु पत्ता लगाउने किट नै छैन । बजारमा नपाइने यो किट विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले उपलब्ध गराउँदै आएको छ । डा.शाहीले चाँडो किट उपलब्ध गराइदिन बिहीबार बिहान मात्र डब्ल्यूएचओका प्रतिनिधिसँग आग्रह गरेका थिए । तर, त्यहाँ पनि पर्याप्त किट उपलब्ध नभएको जानकारी आएकाले केही दिन अँझै बिरामीको उपचारमा समस्या आउने देखिएको डा.शाहीले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा.मधु अर्यालले पनि शंकास्पद स्वाइनफ्लुका बिरामी उपचारार्थ आउने गरेको बताए । तर भाइरस पत्ता लगाउने परीक्षणको अभावमा स्वाइनफ्लु भए÷नभएको एकिन गर्न नसकिएको उनको भनाइ छ । ‘दुई सातायता उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा आउने ५० प्रतिशत बिरामीमा स्वाइनफ्लुजस्तो लक्षण देखिएको छ ’डा.अर्यालले भने, ‘ज्वरो आउने, घाँटी दुख्ने, ज्यान दुख्ने, टाउको दुख्नेजस्ता लक्षण बिरामीमा पाइएको छ । ’ नेपालगन्ज मेडिकल कलेजले चाँडै नै स्वाइनफ्लु भाइरस पत्ता लगाउन किटको प्रबन्ध गर्न लागेको पनि उनले जानकारी दिए ।

स्वाइनफ्लु एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्छ । यो रोग फैलाउन मुख्यतया चार प्रकारका भाइरस एच वान एन वान, एच वान एन टु, एच थ्री एन टु र एच थ्री एन वान जिम्मेवार मानिन्छन् । जसमध्ये एच वान एन वान भाइरस सबैभन्दा खतरनाक मानिन्छ । यसको संक्रमण संसारका करिब दुई सय देशमा देखिइसकेको छ ।

भेरी अञ्चल अस्पतालका फिजिसियन डा. शाहीका अनुसार समयमै स्वास्थ्य संस्थाको सम्पर्कमा आएर रोग पत्ता लाग्यो भने स्वाइनफ्लुको उपचार सम्भव छ । ‘बिरामीले समयमै उपचार नपाउँदा जटिल किसिमको निमोनिया हुन जाने र छातीमा गम्भीर प्रकृतिको समस्या आउने हुन्छ । यसका कारण बिरामीको मृत्यु हुनसक्छ,’डा। शाहीले भने, ‘तर समयमै उपचार गर्न सक्यो भने निको हुन्छ ।’

दुईजनामा स्वाइनफ्लु
बुटवल ः रूपन्देहीका दुईजना व्यक्तिमा स्वाइनफ्लु देखिएको छ । बुटवलका अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका लागि पुगेका उनीहरूमा स्वाइनफलु देखिएको हो ।

रूपन्देहीका जनस्वास्थ्य प्रमुख केयरसिंह गोदारले दुईजनामा सिजनल इन्फ्लुन्जाको जिवाणु भेटिएको बताए । ‘हामीले उनीहरूको बसोबास भएको क्षेत्र आसपासमा निगरानी ग¥यौं तर अरूमा त्यस्तो लक्षण भेटिएको छैन,’उनले भने ।

जनस्वास्थ्य कार्यालयले उच्च ज्वरोसहित उपचारमा आउने बिरामीको निरन्तर निगरानी गरिएको जनाएको छ । रूपन्देहीका अस्पतालमा फ्लु परीक्षण गर्ने किट नहुँदा बिरामी काठमाडौं जान बाध्य छन् ।

लुम्बिनी अञ्चल अस्पतालमा अहिले ज्वरो आएर उपचारमा आउने बिरामीको संख्या अत्यधिक बढेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए । जनस्वास्थ्य कार्यालयले उच्च ज्वारो, शरीर दुख्नेजस्ता लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा चेकजाँच गर्न आग्रह गरेको छ । ‘डराइहाल्नुपर्ने अवस्था त छैन तर रोग प्रतिरोध क्षमता कम भएकाहरू सचेत हुनुपर्छ,’ जनस्वास्थ्य प्रमुख गोदारले भने, ‘अन्य रोगका बिरामी, वृद्ध, गर्भवती, बालबालिकाहरूमा यो संक्रमण बढी हुनसक्छ ।

अन्नपूर्णपोस्ट

प्रतिक्रिया दिनुहोस्