Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य बीमा प्रति बिमितको विश्वास घट्दो, पहिलो वर्ष नै १६ प्रतिशतले घट्यो नविकरण दर



सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावहीन भएको छ । स्वास्थ्य बिमामा आबद्ध भएको एक वर्षमै बिमाप्रति बिमितहरूको विश्वास घटेको हो ।

जनतालाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सरकारले ०७२ चैतदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको हो । आठ जिल्लाबाट पाइलट प्रोजेक्टका रूपमा सुरु भएको कार्यक्रम हाल ३२ जिल्लामा पुगेको छ । तर, बिमा कार्यक्रमप्रति जनताको विश्वास भने घट्दो क्रममा छ । पहिलो वर्ष नवीकरण गराउनेदरमा १६ प्रतिशतले कमी आएको छ । सरकारले भनेअनुसार सेवासुविधा नपाएको गुनासो गर्दै विमितहरूले नवीकरण नगराएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले अपेक्षित रूपमा नवीकरण नगरेको बताए ।

 साढे नौ लाख बिमामा आबद्ध
०७२ सालबाट सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म नौ लाख ३७ हजार ८७४ जना आबद्ध भइसकेका छन् । ७७ जिल्लामै बिमा कार्यक्रम पु-याउने सरकारको लक्ष्यअनुरूप हाल ३२ जिल्लामा पु¥याइएको छ । तर, अपेक्षाअनुसार सेवा दिन नसकेपछि स्वास्थ्य बिमा बोर्ड नै समस्यामा परेको छ । ‘बिमाप्रति जनताको आकर्षण बढेको छ । तर, नवीकरण गर्नेको संख्या कम हुँदै गएको छ । यसरी स्वास्थ्य बिमा नवीकरण नहुनु ठूलो चुनौती हो,’ स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले भने ।

गत असारभित्र नवीकरण गर्नुपर्ने १५ जिल्ला पर्छन्, तर आठ जिल्लाले मात्रै नवीकरण गराएको तथ्यांक छ । उक्त नवीकरणमा १६ प्रतिशतले घटेको बिमा बोर्डले जनाएको छ । निर्देशक उपाध्यायका अनुसार कति बिमितले नवीकरण गरेनन् भन्ने यकिन तथ्यांक अझै आउन सकेको छैन ।
नमुना परीक्षण गर्ने प्रयोगशालाका लागि समय लाग्नु, स्वास्थ्य संस्थामा चिकित्सक उपलब्ध नहुनु, आवश्यक औषधि नपाउनु, सेवामा समय लाग्नु नवीकरण नगर्नुका मुख्य कारण हुन् ।

 सुरुका आठ जिल्लाको अवस्था
जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन २५ चैत ०७२ देखि सरकारले कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । सुरुमा सरकारले आठ जिल्लाबाट कार्यक्रम थालेको थियो । पहिलो वर्ष स्वास्थ्य बिमा गर्ने आठ जिल्लाका परिवार संख्या ६३ हजार ९०४ रहेको थियो । नवीकरण गर्ने समयमा १० हजार ५४८ जनाले मात्रै गरेपछि बिमा कार्यक्रमप्रति सरकार सशंकित भएको हो ।

स्वास्थ्य बिमा गर्न पाँच सदस्य भएको परिवारले वार्षिक २५ सय रुपैयाँ प्रिमियम तिर्नुपर्छ । नवीकरण गर्न पनि त्यति नै रकम तिर्नुपर्छ । पाँचजनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य ४५० रुपैयाँ थप तिर्नुपर्छ । त्यस्तो परिवारले थप १० हजारभन्दा बढी रकमबराबरको सहुलियत पाउँछ ।

आवश्यक स्वास्थ्य सेवा नपाएपछि नवीकरण घट्यो
 डा. मदन उपाध्याय
निर्देशक, स्वास्थ्य बिमा बोर्ड
सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम दुर्गम जिल्लामा रहेका छन् । हामीले व्यापक रूपमा बिमा कार्यक्रमबारे छलफल गरेका छौँ । सेवा प्रदायक संस्थाबाट जुन रूपमा स्वास्थ्य सेवा हामीले पाउनुपर्ने हो, त्यो पाएनौँ भन्ने बिमितको गुनासो छ ।

हाम्रा पूर्वाधार, मानव स्रोतसाधनको समस्याका कारण पनि गुनासा धेरै आएका छन् । चिकित्सकको अभावका कारण दुई दिनसम्म एक संस्थामा धाएर तीन दिनका दिन अन्त उपचारका लागि जानुपर्दा बिमाप्रति सम्बन्धित जिल्लाका जनताको विश्वास घटेको हो ।  बिमितहरूलाई दिइने

निःशुल्क औषधिको समस्या छ । सबै स्वास्थ्य उपचार गराए पनि बिरामीले निःशुल्क औषधि नपाएमा गुनासो गर्छन् । समयमा सेवा नपाउनु नै जनताको बिमाप्रति विश्वास गुम्नु हो ।

नयाँ पत्रिकाबाट 

 

प्रतिक्रिया दिनुहोस्