Logo
|
Saturday 27th April 2024
Logo

epaper

बोलीसम्बन्धी अनेक समस्या



कुनै पनि व्यक्तिलाई बोली र भाषासम्बन्धी समस्या भएमा स्पिचथेरापीद्वारा उपचार गराउन सकिन्छ । बोली र भाषासम्बन्धी समस्या भन्नाले शब्द तथा वाक्य प्रस्टसँग उच्चारण गर्न नसक्नु, भकभकाउनु, स्वर भासिनु, नाके स्वर आउनेजस्ता समस्या पर्दछन् । यस्तो समस्या कतिपयमा जन्मजात रूपमा देखिने गर्छ भने कसैलाई पछि देखा पर्छ । स्पिचथेरापीका माध्यमबाट यस्ता व्यक्तिको उपचार गर्न सकिन्छ ।

आर्टिकुलेसन डिसअर्डर
यस्ता समस्या भएमा शब्द तथा वाक्य उच्चारण गर्दा प्रस्टसँग सुनिँदैन । या उच्चारण गर्नै नसक्ने हुन्छ । यस्तो समस्या भएका कतिपय मानिसले गलत तरिकाले उच्चारण पनि गर्छन् । यस्ता व्यक्तिले बोलेको बोली बुझिँदैन ।

फ्लुन्सी डिसअर्डर
यस्ता समस्या भएका मानिसले वाक्य प्रस्टसँग उच्चारण नगर्ने मात्र नभई भकभकाउने गर्छन् । मानिसले शब्द तथा बाक्यलाई पूरा उच्चारण नगरी बीचैमा छोडिदिने समस्या पनि हुन्छ ।

रिसोनन्स वा भ्वाइस डिसअर्डर
यस्ता समस्या भएकाले उच्चारण गरेको स्वर प्रस्ट नसुनिने, भासिने तथा नाके स्वर आउने हुन्छ । जसका कारण मानिसले भन्न खोजेको कुरा नै बुझिँदैन । यस्ता मानिसले बोल्दा घाँटीमा दुखाइ वा असजिलो महसुस हुन्छ ।

रिकेप्टिभ डिसअर्डर
यो भाषासम्बन्धी समस्या हो । भाषामा हुने दुईमध्ये एक समस्या हो, रिकेप्टिभ डिसअर्डर । यस्तो समस्या भएका मानिसले बोलेको भाषा पनि बुझ्न साह्रै कठिनाइ हुन्छ ।

एक्सप्रेसिभ डिसअर्डर
यस्तो समस्या भएका मानिसमा शब्दको निकै ज्ञान त हुन्छ, तर उनीहरूले राम्रोसँग मिलाएर बोल्न सक्दैनन् । वा यसो भनौँ शब्द संयोजनमै चुक्छन् ।

कग्नेटिभ कम्युनिकेसन डिसअर्डर
यस्तो समस्या भएका मानिसले कुनै पनि कुरा राम्रोसँग सम्झन र बुझ्न सक्दैनन् । उनीहरूको एकाग्रतामा समस्या हुन्छ । कग्नेटिभ कम्युनिकेसन डिसअर्डर भएमा मानिसमा ज्ञान भण्डारको कमी हुने भएकाले स–साना गणितीय समस्या पनि समाधान गर्न असमर्थ हुन्छन् ।

उपचार
यस्तो समस्याको पहिला त पहिचान गर्न जरुरी हुन्छ । त्यसपछि मात्र चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । माथि उल्लेख गरिएकामध्ये कुनै एक समस्या भएमा त्यहीसम्बन्धी दक्ष प्राविधिकबाट उपयुक्त तरिकाले बोली–भाषासम्बन्धी अर्थात् स्पिच एन्ड ल्यांग्वेज थेरापीका माध्यमले समाधान गर्न सकिन्छ ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्