Logo
|
Monday 25th November 2024
Logo

epaper

किन हुन्छ बच्चामा बारम्बार संक्रमण र बहुआंगिक समस्या ?



डा. धर्मागत भट्टराई,पेडियाट्रिक ( एम.डी.), पेडियाट्रिक इम्युनोलोजी एवं र्युम्याटोलोजी (डिएम)

बालबालिकामा संक्रमण (इन्फेक्सन) हुनु अस्वाभाविक होइन तर ब्याक्टेरिया, भाइरस, ढुसी, प्रोटोजुवा (एककोषिय प्रजिवाणु), किटाणु, परजीवी, जुका, घातक यौगिकयुक्त जीव या यस्तै जुनसुकै तत्वले संक्रमण÷चोट गरेको किन नहोस्, यिनलाई शरीरको प्रतिरक्षा (इम्युनिटी) प्रणालीले सकेसम्म निस्तेज पार्न खोज्छ । तसर्थ तिनमा निर्दिष्ट आवृति भन्दा बढी (बारम्बार) एकै प्रकारको या थरीथरी संक्रमण हुनु बिल्कुल स्वभाविक होइन । तर कति बालबालिका, किशोरकिशोरीमा धेरै पटक वा धेरै समय संक्रमण हुने हामीले देखेकै कुरा हुन् ।

जतिपटक जस्तोसुकै संक्रमण भएपनि हामीहरु तत्कालिन उपचार गर्दै बसिरहेका हुन्छौं । बारम्बार हुने यी संक्रमणको मूल जड कारण पत्ता लगाई त्यसको रोकथाम र उपचार नगरिएमा बच्चामा गम्भीर र दीर्घ असर पर्ने, अंगभंग हुने र ज्यानै जाने हुनसक्छ । अभिभावकले यी संक्रमण कस्ता र कति हुनु सामान्य हुन्, के भए सोचनीय हुन्, बुझ्न बान्छनीय हुन्छ ।

यस्तै अर्को हामीकहाँ भइरहने तर हामीले हल्का रुपमा लिएर बिर्सने समस्या हो– बालबालिकाको कम वृद्धि–विकास । अनि अहिल्यै या लामो समयदेखि सँगसँगै विभिन्न प्रणाली (जस्तै श्वास–प्रश्वास, स्नायु, छाला, रक्त–प्रणाली आदि) का अंगमा देखिने गडबडी । त्यसो हुँदा हामी अंगअनुसारका चिकित्सक (जस्तै छाला, फोक्सो, मृगौला आदि) कहाँ त जान्छौं, तर ती सबै अंगका समस्या उही बच्चामा के कारणले आए भनी खोजिएन भने तत्कालीन लक्षण सञ्चो होला तर मूल–रोग या जड कारण ज्यूँ का त्यूँ रहने हुनाले बच्चा सँधै बिमार भइरहन्छ र ज्यान सम्म जानसक्छ ।

यसलाई यसरी बुझ्न सकिन्छ, मानौं मूल–रोग पुरा जंगल जस्तो हो, हरेक अंगका गडबडी (बिमारी) त्यसका एक–एक रुख जस्तै हुन् । हामीले माथिबाट विहंगम दृष्टि दिएमात्र जंगल देखिन्छ, तर एक रुखमा मात्रै दृष्टि दिईए जंगलको केही भेउ पाइन्न । त्यही विहंगम दृष्टि नै मूल कारण पत्ता लगाउने उपाय हो, जसबारे हामी यहाँ संक्षिप्त चर्चा गर्दैछौं ।

कति र कस्ता संक्रमण हुनु चिन्ताजनक हुन् ?

बालबालिकामा संक्रमण नै हुँदैन भन्ने होइन । अतः कस्ता र कति संक्रमण भएमा चिन्ताजनक मानिनुपर्ने र त्यसको मूल कारण खोजिनुपर्ने भन्नेबारे हामी स्पष्ट हुनु जरुरी छ ।

मानव शरीरमा हुने कुनैपनि शरीरक्रियाहरु अपवाद–रहित नहुने भएपनि यी संक्रमणबारे केही विशिष्ट मापदण्ड छुट्टयाइएकाछन् । ती मध्ये अति सरल त्यस्ता मापदण्ड हुन् जेफ्री मोडेल फाउन्डेशन (जेएमएफ) र इम्युन डेफीसियन्सी फाउन्डेशन (आइडिएफ) बाट दिइएको सुची र मार्गचित्रहरु । अति सरल र उपयोगी यो सुचीअनुसार हामीले तल उल्लेखित अवस्थामा संक्रमणको मूल कारण खोज्नैपर्छ (अर्थात् इम्युन (प्रतिरक्षा)–कमीका संकेतको रुपमा बुझ्नुपर्छ) ।

  • एक बर्षमै २ पटक भन्दा बढी निमोनिया भएमा वा ४ भन्दा बढीपटक कानको संक्रमण भएमा ।
  • एक बर्षमै २ भन्दा बढीपटक साइनस (नाक आसपासको भित्री खाली क्षेत्र/पिनासक्षेत्र) संक्रमण भएमा । दुई महिनाभन्दा बढी समय एन्टीबायोटिकमा रहनपरेमा या त्यसको खासै प्रभाव नदेखिएमा ।
  • बच्चाको तौल/उचाई नबढेमा, वृद्धि विकास नभएमा, या बहुप्रणालीगत जटिलता आएमा ।
  • छालामुनि/अंगहरुभित्र पीप जमेमा, मुखभित्र सेतो तह जम्ने (बाख्री पर्ने) या गहिरा आंगिक घाउहरु भएमा ।
  • संक्रमण निम्ति लगातार सुइबाट दिइने एन्टीबायोटिक चाहिएमा या कमजोर जीवले जटिलरोग निम्त्याएमा
  • लामो समय पखाला, ज्वरो, मुखका घाउ, गाँठागुँठी, तौल घट्ने, अस्वाभाविक मुसा–घाउ बढ्ने भएमा ।
  • अस्वभाविक गम्भीर संक्रमण, अस्वभाविक सघनता, अस्वभाविक जीवाणु वा अस्वभाविक आवृति (दुई भन्दा बढी पटक) भएमा ।
  • बहु–आंगिक संक्रमण÷जटिलता या संक्रमण उपचारमा हरेक चोटि सुई औषधिको र आईसियु जरुरी परेमा ।
  • परिवारमा इम्युन–कमी रोग कसैलाई भएको भएमा र बंशवृक्षभित्रै बिहे भएको भएमा ।

यी त भए संक्रमणको प्रकृति र आवृति (चोटि) लाई वस्तुगत हिसाबले पर्गेल्ने तरिकाहरु । अझ समान्यीकृत गरी बुझ्दा यो भन्न सकिन्छ कि कुनैपनि संक्रमण धेरै पटक या लामो समय भइरहेको, औषधिले सन्चो हुन हरेक पटक हम्मे–हम्मे परेको, सघन या गम्भीर, अरुलाई संक्रमण नगर्ने खाले कमजोर किटाणुले पनि उसलाई संक्रमण गरेको, महिनौंदेखि पटकपटक गरी ज्वरो आउने, नरम सतहहरुबाट रगत बगेको, रगत कमीसँगै कलेजो, फियो बढेको, अंगको या छालाको अस्वाभाविक एलर्जी भएको, ओठ या स्वरयन्त्र सुन्निएको अनि परिवारमा अर्कोलाई पनि कुनै पुस्तामा भएको आदि अवस्थालाई चिन्ताजनक लिइनुपर्छ र तिनमा त्यो चोटीलाई मात्रै थामथुम पार्ने होइन, जरैदेखि कारण खोजिनुपर्छ । ती गम्भीर प्राथमिक इम्युन कमी/गडबडी हुन सक्छन् र यी रोगले निदान/उपचार नभए ज्यान लिनसक्छन् ।

प्राथमिक इम्युन कमीका रोग संसारमा प्रतिहजारमा एकजनालाई हुने भएपनि अविकसित देशहरुमा विज्ञ र सचेतनाको कमीले गर्दा यी सोचिइन्नन् र पत्ता नै लाग्दैनन् । यी सबै रोग जन्मँदै देखिन्छन् भन्ने छैन । कुनै यस्ता बिमारी समयक्रममा बढ्दै गएर किशोर या युवा अवस्थामा बल्ल देखिने पनि हुन्छन् । धेरै यस्ता बिमारी अरु रोगसँग झुक्याउने हुनपनि सक्छन् । जस्तै ‘विस्कट अल्ड्रीच सिन्ड्रोम’ या ‘एआरपिसी डिफेक्ट’ लाई कसैले एलर्जी भनेर या कसैले ‘आईटिपी’ भन्दै उपचार गरिरहेका हुनसक्छन् । ‘एससीआईडी’ बिमारीमा परजीवी र भाइरसको सामान्य बिमारी मात्रै मानिएको हुनसक्छ । ठुला रक्तनलीको टाकायासु रोगलाई जोर्नीको बाथमात्रै मान्दै उपचार गरिएको हुनसक्छ । ‘क्रोनिक ग्रानुलोमाटस डिजिज’ का गाँठागुँठी, ग्रानुलोमाहरु टिबी जस्तै देखिन्छन् । ‘आईपेक्स’ भनिने बिमारीमा हर्मोनको कमीमात्रै मानेर उपचार गरिरहिने सम्भावना हुन्छ ।

मूल समस्याको खोजी

मूल जड कारणको कुरा गर्दा बच्चामा बारम्बार संक्रमण हुने थुप्रै समुहगत कारण भेटिन्छन् । तीमध्ये सबभन्दा महत्वपूर्ण हो– उसमा हुने प्रतिरक्षा–अवयव या तत्व (इम्युनिटी या त्यो प्रदायक तत्व) को कमी । यस्ता कमी जन्मजात पनि हुन सक्छन् र जन्मपश्चातका पनि । जन्मजात र जन्मपश्चात अवस्था कुन हो भनि छुट्याउने केही सरल सुचक पनि भेटिन सक्छन् । जस्तै जन्मजात रोगमा परिवारमा, रगतको नाताभित्र मिल्दोजुल्दो रोग हुनु, बंश–शाखाप्रवरभित्र बिहे हुनु, परिवारमा आसपास पुस्तामा बच्चाको अनायास मृत्यु भएको हुनु, अत्यन्त कमजोर या अनौठो जीवले या अति सघन संक्रमण हुनु आदि । तर यी नभएमा पनि जन्मजात कमीका रोग हुनचाँही सक्छन् । यी कोरा र सामान्य सूचक मात्र हुन् ।

जन्मजात कारण

बंशवृक्षको कुनै पुस्तामा भएको निर्दिष्ट बंशाणुमा भएका मिहीन गडबडीहरुको संयोजनको फलस्वरूप कुनै दम्पतिका बच्चामा बंश–सृजित रोग लाग्न सक्छ भने कतिपयको युग्मकोष या प्रारम्भिक भ्रूण बन्नेबेला आसपासमा भएका जिनका आमुल उतारचढाव या अप्रत्याशित उत्परिवर्तन (म्युटेसन) ले गर्दा गम्भीर जन्मजात रोग लाग्नसक्छन् । यसमा कुनैपनि वंश–सृजित रोग र वंशानुगत रोग, जन्मजात प्रणालीगत रोगहरु, आंगिक खोट, उपापचय–रोग (मेटाबोलिज्मका जन्मजात रोग) या रोगउद्द्यत/रोग–प्रवृत्त अवस्थाहरु पर्छन् । इम्युन–कमीका रोगहरु ठूलो हिस्सामा यस्तै प्रकृतिका हुन्छन् जसलाई इन्बर्न इरर अफ इम्युनिटी (प्रतिरक्षाका जन्मजात रोग) भनिन्छन् । यी रोगमा शरीरको रोग क्षमता शक्ति प्रदान गर्ने कुनै प्रकारका कोष (जस्तै टि सेल), अंग÷अवयव (जस्तै थाइमस, लिम्फ ग्रन्थी, इन्नेट संयन्त्र) या तत्व (जस्तै एन्टीबडी) को सामान्यदेखि गम्भीर कमी हुन्छ । फलस्वरूप प्रतिरक्षाको त्यो हिस्साले गर्ने सुरक्षा नहुँदा हुनसक्ने विभिन्न प्रणालीका समस्या एकपछि अर्को थपिँदै देखिदै जान्छन् ।

बच्चा बारम्बार बिरामी हुने, संक्रमण हुने, हरेक चोटि एन्टिबायोटिक चाहिने, लक्षणहरु निर्मुल नहुने, थुप्रै अंग र प्रणालीमा एकैचोटी समस्या थपिंदै जाने, रोग बुझ्न गाह्रो हुने, आईसीयु भर्ना बढ्ने आदि हुन्छ । यस्तो बेला बच्चालाई समस्या हुन थालेदेखिका सम्पूर्ण रोगको विस्तृत इतिहास पूरैलाई विश्लेषण र जाँच गरिनुपर्छ ।

त्यसबाट बच्चाको बारम्बार संक्रमण र बहु–आंगिक समस्याको मूल कारणमा पुगी उपचार गर्न सकिन्छ । इम्युनोलोजी अर्थात् प्रतिरक्षा विज्ञानको यो एक मुख्य पाटो हो । यसर्थ बहु–आंगिक या अति–संक्रमण भएमा इम्युनोलोजिकल रोग या जेनेटिक प्रवृत्त अवस्था पनि सोचिनुपर्छ । इम्युनोलोजिष्टद्धारा निदानपछि गरिएका उपचारबाट यी रोग पूर्णतः सञ्चो या नियन्त्रित हुन सक्छन् । केही नगरेमा अधिकाश ‘इम्युनिटीका जन्मजात रोग’ बाट बारम्बार संक्रमण, अंगभंग हुने र ज्यान जानसक्छ ।

इम्युनोलोजी नविनतम विज्ञान हो । सन् १९७९ बाट पत्ता लाग्न थालेका यी निदान गर्न जटिल रोगको समुहमा हालसम्म ४८५ भन्दा बढी इम्युनिटीका जन्मजात रोगहरु छन् र हरेक रोगको आफ्नै निर्दिष्ट प्रस्तुति छ र निदान÷उपचार विधि छ । सचेतनाको कमीले गर्दा हाम्रा जस्ता थुप्रै अविकसित देशमा यी रोग–पिडित बच्चा अति बढी संक्रमित भइ विभिन्न उमेरमा ज्यान गुमाउन पुगेको तथ्य छ । यस्ता बच्चा थुप्रै चिकित्सककहाँ धेरै पटक थरीथरी संक्रमण लिएर पुग्ने, छालाका रोग लाग्ने, वृद्धि नहुने, रगत बग्ने या आंगिक समस्या देखापर्ने, एकपछि अर्को एन्टिबायोटिक सेवन गर्ने, एक्स–रे सिटी स्क्यान आदि थुप्रै पटक गरेपनि रोगको भेउ नपाइने, खासै रोग निको नहुने हुँदै दर्जनौं पटक भर्ना भएका, पीडित बाँचिरहेका र ज्यानै गुमाएका समेत हुन्छन् ।

जन्मपश्चातका कारण

कुपोषण

पोषण राम्रो हुँदैमा कुनैपनि रोगै नलाग्ने भन्ने कुरा भएन किनभने रोग लाग्नुका थुप्रै सुरुवाती कारक छन् । तर सर्वविदित कुरा हो—सन्तुलित भोजन/समुचित पोषण (कार्बोहाईड्रेट, प्रोटिन, चिल्ला पदार्थ, भिटामिन, खनिज, पानी, रेशेदार खाना र संयोजक यौगिकहरु सही अनुपातमा दिइनु) बालबालिकाको निम्ति सर्वोपरी आवश्यकता हो । पोषणले समष्टिगत वृद्धि विकास, इम्युनिटी प्रणालीको चुस्त विकास, प्रणालीगत काम चुस्त–रुपमा सुचारु राख्न अहम भूमिका खेल्छ । असन्तुलित आहार या कुपोषण भएमा कमी अनुरुपका निर्दिष्ट समस्या हुन्छन् । मूलतः यी बच्चा दुब्ला, कम बढ्ने, भएको तौल पनि घट्दै जाने, उचाई नबढ्ने, आंगिक वृद्धि नहुने हुन्छ । सुक्ष्म जरुरत पर्ने खनिज आदि तत्वको कमीले कुनै प्रणालीगत कार्यमा आँच पुर्याउँछ । क्रमशः यिनमा कुपोषणले गर्दा प्रतिरक्षा (इम्युनिटी) कोष र तत्वमा प्रतिकूल असर परी बारम्बार संक्रमण हुनपुग्छ ।

आयामिक असन्तुलन

स्वास्थ्यका विभिन्न पाटा÷आयाम हुन्छन् । एकातिर शारीरिक, मानसिक, सामाजिक, व्यवहारगत र बौद्धिक सबलताका कुरा छन् । अर्कोतिर स्वस्थता प्राप्तिलाई चाहिने तमाम अभिन्न आयामहरु जस्तै निद्रा, व्यायाम (या बच्चामा बालसुलभ कार्य÷खेल) चुस्तता, तन्दुरुस्ती, इम्युन–प्रदायक अंगको विकास एवं सुचारु कार्य, तनावमुक्त जीवन, स्वस्थ जीवनशैली आदि रोग–क्षमता शक्ति चुस्त हुन नभईनहुने तत्व हुन् । यो वा त्यो चिज या औषधि खाँदैमा इम्युनिटी बढ्ने भन्ने हुन्न । जन्मिँदा आएको इम्युन प्रणालीको चुस्त विकास र सुचारु कार्यमा यी सबै आयामको सन्तुलित भूमिका हुन्छ । कुनैपनि आयामको असन्तुलनले प्रणालीको भूमिकामा आँच आउनसक्छ । त्यसो हुँदा कालान्तरमा इम्युन प्रदायक अवयव या तत्व कमी भै बारम्बार संक्रमण या बहु–आंगिक रोग ल्याउन सक्छ । यो मानिन्छ कि रोग लाग्न त्यसको कारक तत्व (एजेन्ट), असन्तुलित या गडबड प्रणाली सहितको शरीर (होस्ट), त्यसलाई टेवा पुर्याउने जेनेटिक, आन्तरिक या बाह्य या दुवै वातावरण, पश्च–जननिक÷परा–बंशाणुगत एपिजेनेटिक प्रभाव, अनि प्रतिक्रियात्मक क्षमता जस्ता गहन पाटाको भूमिका हुन्छ । यिनको गडबडीमा पुनः बारम्बार संक्रमण हुन सक्छ ।

इम्युन–असन्तुलन

जन्मिँदा ठिक भएपनि बंशाणुगत झुकाव या प्रवृति हुनाले या प्रतिकूल वाताबरणीय प्रभावले गर्दा थुप्रै स्व–प्रतिरक्षित (अटो–इम्युन), स्व–सुजन (अटो–इन्फ्लेमेटरी), लिम्फ–अंग बढ्ने रोग या गम्भीर रक्त–गडबडी देखिन सक्छन् । बाल–बाथ रोगहरु अधिकांशतः यही इम्युन असन्तुलनका उपज हुन् । यी अवस्थामा पनि बच्चालाई एवं किशोर किशोरीलाई बारम्बार संक्रमण हुने, अनेक अंग (जस्तै छाला, जोर्नी, फोक्सो, रक्तनली आदि) मा समस्या आउने, गाँठागुँठी आउने, थुप्रै प्रणालीमा एकै अवधिमा समस्या देखिने, बाल–वृद्धि रोकिने, अंगभंग हुने हुन्छन् क्ष्

गम्भीर संक्रमण

सबैलाई विदित कुरा हो कि कुनै कुनै गम्भीर संक्रमणले थप इम्युनिटीलाई कमजोर तुल्याउँछ । सबैले जानेको उदाहरण हो – एचआईभी÷एड्स । यो एचआईभी भाइरसद्वारा हुने गम्भीर बिमारीले व्यक्तिको प्रतिरक्षाका सिडी ४ टि–हेल्पर कोष, मोनोसाइट र महत्वपूर्ण कोष–संदेश रिसेप्टरको संख्या र कामलाई निस्तेज पार्छ, घटाउँछ । यसले गर्दा यी संक्रमण भएका बच्चामा सजिलै संक्रमणले समाउने र संक्रमण भइसकेपछि नियन्त्रणमा आउन नसक्ने÷समय लाग्ने हुँदा बहु–आंगिक समस्या र बारम्बार संक्रमण हुनसक्छ । एचआईभी त एउटा प्रतिनिधि उदाहरणमात्रै हो । योबाहेक अरु थुप्रै भाइरस या विषाणु÷जीवाणु÷परजीवी (जस्तै एप्स्टेन–बार भाइरस, पार्वो–भाइरस, दादुरा, इन्फ्लुएन्जÞा, रिकेट्सिया, कालाजार, टीबी, औलो र लहरेखोकीका कारक किटाणुहरु आदि) ले पनि बच्चा र किशोर किशोरीको इम्युन प्रणालीमै उथल–पुथल ल्याउन सक्छन् । त्यसो भएमा बारम्बार संक्रमण, वृद्धि स्थगन तथा बहु आंगिक समस्या हुन सक्छन् ।

कहिलेकाँही गम्भीर र जटिल रोग आँफैले इम्युन प्रणालीको चुस्त कार्य व्यवस्थापन खल्बल्याइदिन्छ । यसका उदाहरण हुन्– क्यान्सर रोग, विकिरण, जटिल रक्त–रोगहरु (जस्तै एप्लास्टिक एनिमिया, बोन–म्यारो काम नगर्नु, हज्किन रोग आदि), हर्मोनका रोगहरु, चोटपटक, तनाव, कोष स्खलन हुनु आदि । यी अवस्थाले पनि इम्युन–कमी बनाई संक्रमण निम्त्याउन सक्छन् । यस्तै पेटका रोग (इन्फ्लेमेटरी रोग, गहुँजन्य एलर्जी, प्रोटिन–जाने रोग आदि) मा पनि यस्तो अवस्था आउन सक्छ । अत्यन्त कम मात्रामा चाहिने केही निर्दिष्ट खनिजहरु जस्तै जिंक, सेलेनियम, कपर, म्याग्नेसियम, एमिनो एसिड, जरुरतवाला फ्याटि एसिड आदिको कमीले इम्युन प्रणालीको चुस्त कार्य सम्पादनमा कुनै तहमा आँच पुर्याउन सक्छन् । त्यस्तै तन्तु–सुजन रोक्न, किटाणु बिरुद्ध लड्न र एन्टीबडी बनाउन थुप्रै भिटामिन र खनिज (जस्तै भिटामिन ए, डी, सी, बि१२,बि६, फोलिक एसिड, जिंक आदि) को उत्प्रेरक भूमिका चाहिन्छन् । तर यी चिज अत्यधिक खाँदैमा इम्युन प्रणाली बढी राम्रो हुन्छ भन्ने चाँही पटक्कै होइन ।

गम्भीर अवस्था

उच्च कोषरसको भेल

शरीरमा इम्युन प्रतिक्रियात्मक अवस्था आएमा पनि जटिल अवस्था सिर्जना हुन सक्छ । एमआईएससी गराउने कोभिडको इम्युन प्रतिक्रिया जस्तै कालाजार, पित–ज्वर, एनाप्लाज्मा, बर्खोल्ड़ेरिया, अर्लिकिया, डेंगु, इबोला, इन्फ्लुएन्जा जस्ता किटाणुले शरीरमा उच्च कोषरसको तुफान ल्याइदिन सक्छन् । फलतः यो आंधीभेल पछि संक्रमण र बहु–आंगिक रोग हुन सक्छ ।

इम्युनिटी प्रणालीमा उथलपुथल ल्याउने औषधिहरु
एलर्जी, अति–संबेदनशिलता (हाइपर–सेन्सीटीभीटी), क्यान्सर, छारेरोग, गम्भीर बाथ–रोग, सोरियासिस आदिमा प्रयोग हुने केही औषधिहरुले इम्युन प्रणालीकै सुचारु कार्यमा प्रतिकुल असर पुर्याउन सक्छन् । यी पनि इम्युन गडबडीका केही कारण हुन् ।

बहु–आंगिक जटिल रोग हुँदा के कस्ता लक्षण देखिनसक्छन् ?

  • बारम्बार कुनैपनि प्रकारको संक्रमण (पिनास, निमोनिया, आन्तरिक अंगको संक्रमण, भित्री अंगमा पिप जम्ने, सघन या लामो समय संक्रमण) भएमा ।
  • औषधिको प्रभाव कम देखिने या पटकपटक एन्टी बायोटिक, सुईबाट औषधि जरुरत पर्ने भएमा ।
  • बारम्बार या रहिरहने खाले झाडापखाला, पिलाखटिरा, छालाका घाउ, एलर्जी, उकुच, ऐजेरु, गाँठागुँठी या आंगिक खोक्रोपना देखिएमा ।
  • बच्चाको सम्पूर्ण वृद्धि (तौल, उचाई, टाउको गोलाई आदि) या आंगिक विकास रोकिएमा या सामान्य किटाणु (जसले स्वस्थहरुमा संक्रमण गर्दैन) ले गम्भीर बिमारी बनाएमा ।
  • स्वप्रतिरक्षित (अटो–इम्युन समस्या) बिमारी, स्व–सुजन, या रोग–प्रतिक्रियात्मक अवस्थाहरुमा ।
  • एकभन्दा बढी इन्डोक्राइन हर्मोनको कमी अरु कुनै लक्षण संगै देखिएमा या बोन म्यारो (मासी) तथा रक्तकोषमा एक भन्दा बढी धारमा समस्या देखिएमा ।
  • कारण पत्ता लगाउन गाह्रा पटकपटक आउने ज्वरो आएमा, जिउ अस्वाभाविक गल्ने, उमेरअनुसार बच्चा हिँडडुल नगर्ने, नाजुक रही लामो समय नखेल्ने भएमा ।
  • अस्वाभाविक ओठ फुल्ने, एलर्जी हुने, हड्डी दुख्ने, लिम्फ या फियो/ तिल्ली (कउभिभल) को आकारप्रकार बद्लिएमा ।
  • सापेक्ष लक्षणसंगै जोर्नी, हड्डी, टेण्डन (मांश–पट्टा), लिगामेन्ट (हड्डी–बन्धन), ढाड, घिच्रो, छाला, लिम्फ, पाचन नली आदि अङ्गमा दुख्ने या सुन्निने भएमा ।
  • छाला, तालु, मुखभित्र, आँखाको बाहिर–भित्र, अरु लक्षण सहित घाउ आएमा, लामो समय चर्मदाग, डाबर, चर्मसुजन, बिबिरा रहिरहेमा, मुख आँखा सुक्खा भइरहेमा, दुबैतिर कान्मुनी प्यारोटिड ग्रन्थी बढेमा, देख्न गाह्रो अनुभूति भएमा ।
  • ‘बारम्बार गर्भपात’, ‘लुपस’ या ‘सोगरेन रोग’ भएका आमाका नवजात शिशु भएमा । बिशेषतः जन्मेको बच्चामा अनुहार र शरीरमा दाग तथा मुटुको गति कम भएमा ।
  • बालबालिकामा रक्तनलीका समस्या जस्तै सुन्निने, संकुचन आउने, तिनमा गाँठा देखिने, क्लट जम्ने भएमा, या अत्याधि या पाखुरा र खुट्टामा अलग रक्तचाप (बिपी) भएमा ।
  • छालामा या मुख आँखाभित्र दाग, मांशपेशी कम्जोर भै उठबस, कोरीबाटी, भर्याङ्ग चढ्न गारो हुने, नङ् बिग्रने, कपाल झर्ने, औला सख्त हुने, नङ्गसिलिका कोशीका रक्ताम्मे हुने, औंलाका टुप्पा चिसोमा सेता हुने आदि भएमा ।
  • अरु लक्षण (जस्तै लामो ज्वरो, कपाल झर्ने, एलर्जी, रगत आउने) संगै श्वाससंयन्त्र (मुख, कान, नाक, स्वरयन्त्र, फोक्सो) साथै मृगौलामा समस्या देखिएमा ।


निष्कर्षमा बारम्बार संक्रमण हुने थुप्रै कारणहरु छन् क्ष्यिनका सबभन्दा बढी सम्बन्धित बिमारी ‘इम्युन कमी’ या ‘इम्युन गडबडी’ हुन्छन् चाहे ती जन्मजात हुन् या जन्मपश्चातका । जन्मजात भएपनि तिनको प्रस्तुत हुने उमेर फरक–फरक हुन सक्छ । कुपोषण, वातावरण प्रभाव, एपीजेनेटिक प्रभाव, जीवजीवाणुले गर्ने इम्युन प्रभावले पनि इम्युन रोग लाग्न सक्छ । यस्ता गम्भीर रुपमा बिमारी भएका कतिको त आन्तरिक रुपमा जटिल बिमारी भएपनि बाहिरी रुपमा ठीकठाक लाग्न सक्छन् । यसको अधिकांश हिस्सा ओगट्ने इम्युन (प्रतिरक्षा) रोगको निदान समयमा भए पूर्ण उपचार गर्न र रोगरहित या रोग–नियन्त्रित जीवन दिन सकिन्छ । पश्चिमी देशहरुमा र भारतमै पनि रोगको यस्तो मूल कारण सम्मै जाँचेर लक्ष्य–बिन्दुमै निर्देशित उपचार (टार्गेटेड थेरापी) गरिन्छ । हामीकहाँ यी रोगबारे सामान्य संचेतना समेत छैन । संचेतना भएमा कमसेकम यस्ता जटिल लक्षणमा हामीले आफ्ना बालबालिकामा यी रोग सोच्ने वातावरण बन्न सक्छ, र प्रतिरक्षा–रोग पत्ता लागि उपचार हुनसक्छन । यसो गरेमा दर्जनौं पटक भर्ना हुने, लाखौं खर्च हुने, दुर्बलता सहितको जीवन बाँच्नुपर्ने, अंगभंग हुने र ज्यान गुमाउन पर्ने अवस्थाहरु उल्लेख्य रुपमा कम गरी बच्चालाई सबल र सक्षम भविष्य दिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्