किन गर्छ मान्छेले आत्महत्या ? आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी

जनस्वास्थ्य सरोकार ,काठमाडौं || प्रकाशित मिति :2018-09-09 05:14:42

यही सेप्टेम्बर १० तारिख अर्थात् भदौ २५ गते नेपालमा पनि विश्व आत्महत्या रोकथाम दिवस मनाउने तयारी छ । आत्महत्या अर्थात् आफैले आफ्नो हत्या गर्ने काम। एक तथ्यांकअनुसार विश्वमा प्रत्येक ४० सकेन्डमा मान्छेले आत्महत्या गर्छन् । नेपालमा पनि आत्महत्याको दर डरलाग्दो नै छ।

आखिर बाँच्नका लागि अनेक संघर्ष गर्ने मान्छे आफैले आफैलाई मार्ने अवस्थामा किन पुग्छ ? यसको रोकथाम गर्ने कुनै उपाय छ कि छैन ? प्रस्तुत छ– यस विषयमा काठमाडौं, महारागन्जस्थित त्रिवि शिक्षण अस्पताल, मानसिक रोग विभागका प्रमुख डा. सरोजप्रसाद ओझासँग गरिएको  कुराकानीः  

यही सेप्टेम्बर १० (भदौ २५) मा वर्ष विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि मनाइँदैछ ? यसको औचित्य?
आत्महत्याका घटना विश्वभरी बढ्दै गइरहेको छ । नेपालमा पनि यो एउटा ठूलै समस्या बनेको छ। जसलाई रोक्ने प्रयास हुनु आवश्यक छ । सोही प्रयासअन्तर्गत विश्वमा मनाउने गरिएको विश्व आत्महत्या रोकथाम दिवसको विशेष महत्व हुने नै भयो । आत्महत्या विश्वकै साझा समस्या भएकाले नेपालमा पनि यसको रोकथाम प्रयास हुनु जरुरी छ । यसैकारण विश्वसँगै नेपालमा पनि यो दिवस मनाउन लागिएको हो।

आत्महत्या भनेको के हो?
आफ्नो इच्छाले आफैलाई मार्ने प्रक्रिया हो– आत्महत्या । आत्महत्या मान्छेले विभिन्न तरिकाले गर्ने गरेका छन्। नेपालको सन्दर्भमा मुख्यगरी डोरीमा झुन्डिएर, विष खाएर, घरको छतबाट तथा खोलामा हामफाल्ने गरेर आत्महत्या गरेको पाइन्छ । यसबाहेक आफैले आफ्नो हात काट्ने, अत्यधिक रक्सी पिउने पन गरेको देखिन्छ।

एकछिन् अघिसम्म ठीकठाक देखिएको व्यक्तिले पनि आत्महत्या गरेको देखिन्छ, सुनिन्छ । आखिर, मान्छेले आत्महत्या किन गर्छ?
मान्छेले आत्महत्या गर्नुको मुख्य कारण मानसिक रोग हो । मानसिक रोगले चाप्दै गएपछि मान्छे आत्महत्या गर्ने अवस्थामा पुग्छ । कुनै मानसिक रोग लामो समयदेखि लागिरहेको हुन्छ भने कुनै तत्काल भएको घटनाका कारण उत्पन्न मनोसमस्या।

‘‘आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन्। रक्सी खाने, कडा मानसिक रोग पनि पुरुषमा बढी हुने, व्यापार–व्यवसायको प्रतिस्पर्धामा पनि पुरुष नै बढी हुने भएकाले डिपे्रसन तथा इम्पल्सिन एक्ट पनि पुरुषमै बढी हुने कारण आत्महत्या गर्नेमा पुरुष नै बढी देखिन्छन्।’’   

सिजोफेनिया, कडा किसिमको डिप्रेसनजस्ता मानिसिक रोग भएका व्यक्तिले पनि आत्महत्या गर्छन् । अर्को कारण भनेको तत्कालै उत्पन्न हुने मनोरोग(इम्पल्सिन एक्ट)का कारण पनि मान्छेले आत्महत्या गरेका हुन्छन्।

यद्यपि आत्महत्याको पहिलो कारण डिपे्रसन (निराशा, उदासिनता) नै हो । दोस्रो कारण हो– एम्पिल्सन अर्थात् आवेग । तेस्रो कारण, कडा खालको मानसिक रोग सिजोफेनिया, यस्ता मानसिक समस्या भएकामध्ये सात  प्रतिशत मानिसले आत्महत्या गर्छन् । रक्सी बढी खाने व्यक्तिमा पनि मानसिक समस्या आएर आत्महत्या गर्न पुग्छन् । क्यान्सर, खुट्टाको रोग लागेर थला परेका बिरामीमा पनि डिपे्रसन भएको हुन्छ र आत्महत्याको बाटो रोजेका हुन्छन्।

आत्महत्या नै गराउने मानसिक रोग कसरी लाग्छन्?
कतिपयलाई मस्तिष्कको न्युरो सिस्टम(स्नायु प्रणाली)मा गडबडी आएर कडा खालका मानसिक रोग लागेको हुन्छ । यस्तै एक्कासि प्रियजनको मृत्यु हुँदा, पति–पत्नी बीचको सम्बन्ध बिग्रिँदा, आफूले सोचेको काममा ठूलो असफलता हात पर्दा, व्यापार व्यवसाय डुबेर ठूलो घाटा बेहोर्नु पर्दा, बलात्कार, घरेलु हिंसाजस्ता घटनामा पर्दा पनि मान्छेमा मानसिक समस्या देखापर्छ र उसले आत्महत्याबाहेक अरू विकल्प देख्दैन।

त्यसो भए मानसिक रोग बढेकै कारण आत्महत्या पनि बढेको हो?
यथार्थ यही हो । आजका मानिसको जीवनशैली जटिल बन्दै गइरहेको छ । व्यापार, व्यवसायमा हुने घाटा, पढाइमा हुने असफलताजस्ता अनेक चिन्तामा मान्छे जेलिएका छन् । बाहिर हेर्दा सामान्य देखिएका मानिसलाई पनि भित्रभित्रै अनेक किसिमका मनोसमस्या अर्थात् मानसिक रोग लागेको हुन सक्छ । जसलाई वेवास्ता गर्दा रोग छिप्पिँदै गएर गम्भीर नोक्सान भएपछि मात्र थाहा  हुन्छ । शारीरिक रूपमा तन्दुरुस्त देखिएका मानिसलाई पनि भित्र डिपे्रसन, सिजोफेनियाजस्ता गम्भीर मानसिक रोग लागिरहेको हुन सक्छ।

आत्महत्या गर्नेमा महिला बढी छन् कि पुरुष?
महिलाको तुलनामा पुरुष बढी छन् । रक्सी खाने, कडा मानसिक रोग पनि पुरुषमा बढी हुने, व्यापार–व्यवसायको प्रतिस्पर्धामा पनि पुरुष नै बढी हुने भएकाले डिपे्रसन तथा इम्पल्सिन एक्ट पनि पुरुषमै बढी हुने कारण आत्महत्या गर्नेमा पुरुष नै बढी देखिन्छन्।

कुनै पनि व्यक्तिले आत्महत्या गर्दैछ भन्ने कसरी थाहा पाउने?
आत्महत्या गर्ने सोच मनमा आएका व्यक्तिले कुनै न कुनै रूपमा त्यसको तयारी गरिरहेका हुन्छन् । विशेषगरी डिपे्रसन, सिजोफेनिया मानसकि रोग भएका, लामो समयदेखि रक्सी खाँदै आएका, व्यापार व्यवसाय तथा अन्य उद्देश्यमा असफल भएका व्यक्तिहरूलाई परिवारले बढी ख्याल गर्नु पर्छ।

यसैगरी आत्महत्या गर्ने मानिसले अलि फरक व्यवहार गर्न थालेको हुन्छ । जस्तो कि कुराकानीका क्रममा ‘मलाई बाँच्न मन छैन’ भनिरहेका हुन्छन् । कतिपयले आफूले मृत्यु रोजेको विषयमा सुसाइड नोट लेखेर राखेका हुन्छन् । कसैले बजारबाट डोरी किन्ने, किरा तथा मुसा मार्नेजस्ता विषादी किनेर तयारी गरेका हुन सक्छन् । यस्तो भेटिएमा परिवारले तुरुन्तै चिकित्सकहाँ लगेर उपचार गराउनु पर्छ।

आत्महत्या गर्नुका अन्य कारण के–के छन्?
सामाजिक, आर्थिक कारणले पनि मान्छेले आत्महत्या गरेका हुन्छन् । जस्तो, कुनै पनि गम्भीर प्रकृतिका हिंसामा परेका महिलाहरू, सामूहिक बलात्कारमा परेका महिलाहरूमा डिप्रेसन भएको हुन सक्छ । यस्तो बेलामा पनि मान्छेले आत्महत्या गर्न सक्छन् । आफूले सोचे खोजेअनुसार परिस्थिति नभएका व्यक्तिहरूले  पनि डिपे्रसन भएर आत्महत्या गर्न सक्छन्।

महिलाहरूले आत्महत्या गर्ने कारण पुरुषको भन्दा फरक हुन्छ कि?
पुरुष र महिला दुवैले आत्महत्या गर्ने कारण समान नै छन् । कडा मानसिक रोग लागेको अवस्थामा र अन्य प्रतिकूल परिस्थितिले निम्त्याउने मनोरोगका कारण पनि महिला वा पुरुषले आत्महत्या गर्छन्।

नेपालमा आत्महत्याको दर बढेको हो?
नेपालमा मात्र हैन, विश्वभर नै आत्महत्याको दर बढेको छ । विश्वमा हरेक ४० सेकेन्डमा ९ जनाले आत्महत्या गर्छन्।

नेपालको सन्दर्भमा आर्थिक वर्ष ०७४/०७५ मा मात्र ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा बढी हो। अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए । दुई वर्षअघि ४ हजार ६ सय ८० जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।

आत्महत्याको रोकथाम कसरी गर्न सकिन्छ?
नेपालमा अहिले पनि आत्महत्यालाई मानसिक/सामाजिक समस्याका कारण उत्पन्न समस्या हो भन्ने बुझाइ छैन ।  मानसिक समस्या नै आत्महत्याको मूल कारण हो । यसलाई समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरै आत्महत्या रोक्न सकिन्छ । आत्महत्या गर्न लागेका लक्षणहरू परिवार र समाजले बेलैमा बुझेर छिटो उपचारमा लैजानु उत्तम उपाय हो।

यस्तो अप्ठेरो परिस्थतिमा सम्बन्धित परिवारले मानसिक चिकित्सकबाट परामर्श लिनु पर्छ । टोलफ्री नम्बरको व्यवस्था भएमा मानसिक चिकित्सकले जुनसुकै बेला पनि परामर्श दिन सक्छन् । नेपालमा सरकारले यो सेवा अहिलेसम्म दिन सकेको छैन । गैरसरकारी क्षेत्रले सीमित मात्रामा सञ्चालन गरेका छन्।

स्थानीय तहमा मानसिक स्वास्थ्य सेवाको पहुँच भएमा पनि यसको समयमै उपचार हुन सक्थ्यो र मानसिक रोग जटिल बनेर हुने आत्महत्यालाई रोक्न धेरै मद्दत पुग्थ्यो। नागरिक दैनिक

    Comment Here!