Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य बिमितले पाउँदैनन् औषधि



मुसिकोट नगरपालिका १ का चन्द्रप्रसाद शर्माले स्वास्थ्य बिमा गरेका छन् । वर्षमा ५० हजार रुपैयाँसम्म उपचार सेवा पाउने आसमा स्वास्थ्य बिमा गरेका शर्मा आफूले चाहेको समयमा उपचार सेवा नपाउँदा खिन्न छन् । स्वास्थ्य बिमाको कार्ड गोजीमा राखेर उनी मेडिकलबाट औषधि किन्न बाध्य छन् ।

सोही ठाउँकी चन्द्रकला बीसीलाई पनि स्वास्थ्य बिमा गरेर गल्ती गरें भन्ने लागेको छ । ऋण जोहो गरी २५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गरेकी बीसीले पनि चाहिएका बेला सोही कार्डका आधारमा औषधि पाइनन् । भदौ २८ गते बेलुका जिल्ला अस्पताल पुगेकी उनले औषधि नपाउँदा पैसा तिरेर निजी मेडिकलबाटै औषधि किनेको बताइन् ।

अस्पताल, स्थानीय तह र स्वास्थ्य बिमा बोर्ड गम्भीर नबन्दा शर्मा र बीसीजस्ता थुप्रैले सास्ती भोग्दै आएका छन् । भदौ २५ यता बिहान १० बजेअघि, बेलुका ५ बजेपछि, रातिको समय, सार्वजनिक बिदा र शनिबारको दिन जिल्ला अस्पताल आउने जोकोही स्वास्थ्य बिमितले स्वास्थ्य बिमा गरेको कार्डका आधारमा औषधि पाउँदैनन् ।

जिल्ला अस्पतालले चौबीसै घण्टा फार्मेसीको व्यवस्था गर्न नसक्दा बिमितलाई औषधि दिन नसकेको जनाएको छ । त्यसअघि अस्पतालले बिहान १० बजेअघि, बेलुकी ५ बजेपछि, शनिबार र सार्वजनिक बिदाका दिन पनि औषधि दिइन्थ्यो । सजिलोका लागि भन्दै एक निजी मेडिकलसँगको सहकार्यमा अस्पतालले जतिबेला पनि बिमितलाई उनीहरूसँग भएको कार्डका आधारमा औषधि दिने गरेको थियो तर अस्पतालले भदौ २५ देखि निजी मेडिकलबाट औषधि ल्याउन पनि बन्द गरिदिएको छ ।

जिल्ला अस्पताल प्रमुख डा. सुशील पोखरेलले एक कर्मचारी मात्रै भएकाले चौबीसै घण्टा फार्मेसी सञ्चालन गर्न नसकिएको र त्यसबाट स्वास्थ्य बिमितलाई असर परेको बताए । ‘हामीले मुसिकोट नगरपालिका र अन्य सरोकारवालासँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘समस्या समाधानका लागि केही उपाय निस्किन्छ कि हेरौं ।’ स्वास्थ्य बिमा गरेका बिरामीले टिकट काउन्टर र प्रयोगशालामा भने चौबीसै घण्टा बिमा कार्डअनुसार छुट पाइरहेको उनले बताए ।

चैत १ देखि हालसम्म जिल्लाका २२ हजार ७ सय ४८ जनाले स्वास्थ्य बिमा गरेका छन् । तीमध्ये जिल्ला अस्पतालबाट हालसम्म ८ सय ५५ जनाले सेवा लिएका छन् । त्यसबापत स्वास्थ्य बिमा बोर्डले जिल्ला अस्पताललाई ६ लाख ५४ हजार ४ सय रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

जिल्लाको पश्चिम क्षेत्रका सर्वसाधारण उपचारका लागि चौरजहारी अस्पताल पनि जाने भएकाले जिल्लाभित्रका उपचार लिएका स्वास्थ्य बिमितको संख्या ८ सय ५५ भन्दा धेरै हुने अनुमान गरिएको छ । जेठ १ देखि मात्रै स्वास्थ्य बिमा गरेको कार्डका आधारमा उपचार सुरु गरिएको थियो । स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक भरतबहादुर खडकाले पनि बिमित बिरामीले भनेकै समयमा औषधि नपाइरहेको बताए । स्वास्थ्य बिमा गरेकालाई उनीहरूकै अनुकूलतामा औषधि मिल्ने व्यवस्थाका लागि पहल भइरहेको उनको भनाइ छ ।

इएपछि बिमा गर्नुको कुनै अर्थ रहेन,’ उनले भने, ‘बिरामीलाई अनुकूल हुँदैन भने किन बिमा गर्नु ?’ भदौ २६ गते राति पत्नी उपचारका लागि औषधि लिन स्वास्थ्य बिमाको कार्ड बोकेर जाँदा नपाएको उनले गुनासो गरे ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्