बिरामीको पीडा बुझ्ने डाक्टर

प्रा.डा. उत्तम शर्मा, युरोलोजिष्ट एण्ड किड्नी ट्रान्सप्लान्ट सर्जन || प्रकाशित मिति :2018-10-12 06:17:36


प्रा.डा. शर्माले युरोलोजीमा सेवा दिन शुरु गर्नुभएको २० वर्ष भइसकेको छ । यो अवधिमा सानो ठूलो गरी करिब २० हजार भन्दा बढी बिरामीले उपचार सेवा लिन सफल भइसकेका छन् । प्रा.डा.शर्मा अहिले पनि दैनिक व्यक्तिगत करिब ३० जना बिरामीलाई ओपिडी सेवा प्रदान गर्नुहुन्छ । उहाँले सातामा १० वटा भन्दा बढी युरोलोजी सम्बन्धि शल्यक्रिया सेवा प्रदान गर्दै आउनुभएको छ । प्रा.डा. शर्माको संलग्नतामा त्रि.बि. शिक्षण अस्पतालमा हप्तामा २ वटा मिर्गौला प्रत्यारोपण भइरहेको छ । प्रा.डा.शर्मा इन्स्टिच्युट अफ मेडिसिनमा एमसिएच अध्ययनको को—अर्डिनेटर हुनुहुन्छ । यसका साथै उहाँ एमएस, एमबीबीएस, एमसिएचका विद्यार्थीलाई अध्यापन गराउनुहुन्छ ।
खासगरी मुलुकमा एमसिएच युरोलोजीको अध्यापन आईओएम त्रि.बि. शिक्षण अस्पताल र चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा भइरहेको छ । चितवनको भरतपुर मेडिकल कलेजले एमसिएच युरोलोजीको अध्यापन शुरु गरेको भएपनि यसले निरन्तरता पाउन सकेन । महिला र पुरुषको मिर्गौला, पिसाब नली, पिसाव थैली र मुत्रनलीसँग युरोलोजी विधाको सम्बन्ध हुन्छ । त्यसका साथै अण्डकोष र लिङ्ग, एडे«नल ग्ल्यान्ड, पुरुषहरुको हर्मोन परिवर्तन, पुरुषहरुमा बच्चा नहुने समस्या युरोलोजीअन्तर्गत पर्छ ।
‘सबैभन्दा पहिला असल डाक्टर बन्नुपर्छ । बिरामीको पीडा बुझ्न सक्नुपर्छ । बिरामीको कुरा जस्टिफाई गर्नुपर्छ । तपाइको क्षमताले कति दिन सक्नुहुन्छ ? त्यो कुरा बिरामीलाई स्पष्ट भन्नुपर्छ । सम्भावित कम्प्लिकेसनबारे बिरामीलाई राम्ररी जानकारी गराउनुपर्छ । बिरामीको सुरक्षामा विशेष ध्यान पु¥याउनुपर्छ । आफूले नसकेको अवस्थामा रिफर गर्न सक्नुपर्छ ।’ भन्ने बताउने उनै शर्मालाई असल डाक्टरको रुपमा हामीले जनस्वास्थ्य सरोकारको कभर पेजमा प्रस्तुत गरेका छौं ।

पिसाबमा रगत आउने: हेमाचुरिया
पिसाबमा रगत देखिने समस्यालाई हेमाचुरिया भनिन्छ । साधारणतया पिसाबमा रगत हुदैन । सामान्य भएपनि सिमित मात्रामा हुन्छ । यसलाई उच्च पावरको माइक्रोसकोपबाट मात्र देख्न सकिन्छ । फिजियोलोजीकल कारणले पिसाबमा रगत देखिनसक्छ । धेरै शारीरिक अभ्यास गर्ने, दौडिने मानिसमा पिसाबमा रगत देखिनसक्छ । शारीरिक अभ्यास गर्दा स–साना भेसल्सहरुमा पर्ने प्रेसरले आँखाले नदेखिने रगतको कारण पिसाबमा देखिनसक्छ ।
पत्थरी र संक्रमणका कारण हेमाचुरिया हुनसक्छ । संक्रमण क्षयरोगजस्ता स्पेसिफिक र सामान्य किटाणुजस्ता नन स्पेसिफिक संक्रमणजस्ता समस्याले हुनसक्छ । कहिलेकाँही ट्युमर र चोटपटक समस्याका कारण हेमाचुरिया हुनसक्छ । शरीरमा प्लेटलेटको मात्रा कम र भेसल्सहरु कमजोर भएका व्यक्तिहरुलाई पनि हेमाचुरियाको समस्या देखिनसक्छ ।

 

पिसाब थाम्न नसक्ने: इन्टरस्टियल सिस्टाइटिस
इन्टरस्टिसियल सिस्टाइससको समस्यामा छिटो छिटो पिसाब लाग्ने, तल्लो पेट दुःख्ने, पिसाब थाम्न गारो हुन्छ । यो पिसाबथैलीको एक्स्ट्रिम कन्डिसन हो । यस्तो अवस्थामा मुत्रथैली चनचले हुन्छ । तर खासगरी यसको कारण अहिले सम्म पत्ता लागेको छैन । यस प्रकारको समस्यामा कुनै पनि समयमा पिसाब लाग्नसक्ने र पिसाबमा रगत देखिनसक्छ । यो समस्या विदेशतिर धेरै देखिने गरेको छ ।

यौन सम्बन्ध राख्दा लिंग दुख्ने: पेरोनिज डिजिज
लिंगमा हुने एक प्रकारको गिर्खा जसले लिंग बांगो गराउँछ । त्यसलाई पेरोनिज डिजिज भनिन्छ । केटा मान्छेको लिङ्गमा ट्युनिका एल्बुजिनिया भन्ने भाग हुन्छ, त्यो भागमा एउटा प्लाक (छालाको पत्रमा गिर्खा) बन्छ । यसलाई फाइब्रोसिस भनिन्छ । त्यो गिर्खा बढ्दै प्लाकजस्तो बन्छ । दाग ठूलो हुँदै गएपछि छाम्दा गिर्खा जस्तो भेटिन्छ । दागले लिङ्ग बाङ्गो गराइदिन्छ । यस्तो समस्या भएका व्यक्तिहरुमा यौन सम्पर्क राख्दा लिंग दुख्छ । धेरै व्यक्ति क्यान्सर हो कि भनेर आत्तिने गरेको पाइन्छ । तर यो क्यान्सर होइन । यस प्रकारको समस्या समाधानका लागि धेरै उपचार विधि भएपनि शत्प्रतिशत सफल छ्रैन ।

प्राकृतिक प्रकृयाबाट पिसाब ननिस्कने: युरिनरी डाइभर्सन
प्राकृतिक प्रक्रियाबाट निस्कनुपर्ने पिसाब विभिन्न कारण अर्को बाटो पहिचान गरी निकाल्ने प्रक्रियालाई युरिनरी डाइभर्सन भनिन्छ । सामान्यत मिर्गौला, युरेटर, ब्ल्याडर, युरेथ्रा हुदैँ पिसाब लिङ्ग भएर बाहिर निस्कन्छ । यो प्राकृतिक प्रक्रिया हो ।

तर दुर्घटना रोगलगायतका विभिन्न कारण पिसाव नेचुरल प्रकृयाबाट नभई अन्य भागबाट बाटो बनाएर बाहिर निकालिन्छ । त्यो नै युरिनरी डायभर्सन हो । युरेटरबाट निकालिने पिसाब युरेटर डाइभर्सन, मिर्गौलाबाट निकालिने पिसाबलाई युरिनरी डाइभर्सन, ब्लाडरबाट निकालिने पिसाबलाई ब्लाडर डाइभर्सन अथवा सिस्टोस्टोमी भनिन्छ ।
पिसाब भित्रै थेग्रिने: युरिनरी रिटेन्सन
प्राकृतिक प्रक्रियाबाट पिसाब बाहिर नआई भित्रै थेग्रिएर बस्ने समस्यालाई युरिनरी रिटेन्सन भनिन्छ । मिर्गौैलामा पत्थरी र प्रोस्टेटको समस्याका कारण युरिनरी रिटेन्सन हुन्छ । भर्खरै जन्मेको बच्चामा युरिन पास गर्न नसक्ने समस्यालाई जन्मजात पिसाब अवरोध भनिन्छ ।

    Comment Here!