Logo
|
Saturday 27th April 2024
Logo

epaper

आईभिएफ प्रविधिबारे सात भ्रम, सात यथार्थ



महिला र पुरुषबीच परिवार नियोजनको कुनै पनि अस्थायी साधन प्रयोग नगरी एक वर्षसम्म शारीरिक सम्पर्कमा रहँदा बच्चा नभएको अवस्थालाई निःसन्तान भनिन्छ । अमेरिकन सोसाइटी अफ रिप्रोडक्टिभ मेडिसिनको गाइडलाइनअनुसार विवाहित महिला ३५ वर्ष वा सोभन्दा बढी भए यो समयलाई एक वर्ष नभई ६ महिना भनिएको छ ।

६ महिनासम्म परिवार नियोजनको कुनै पनि अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्बन्ध राख्दा गर्भधारण नभए विशेषज्ञको परामर्श लिनुपर्छ । यसैगरी, ४० वर्ष वा सोभन्दा बढी उमेर भएमा विवाहलगत्तै चिकित्सकसँग परामर्श लिनु बुद्धिमानी हुन्छ ।


विभिन्न कारणवश सामान्य तरिकाबाट सन्तान सुख प्राप्त नभएका दम्पत्तिहरूका लागि आईभिएफ सबैभन्दा वैज्ञानिक र सुरक्षित प्रविधि मानिन्छ । तर, नेपालमा यसबारे अझै धेरै भ्रम प्रचलित छ । यसै सन्दर्भमा पटक पटक सोधिने केही सवालको यहाँ चर्चा गरिन्छ ।


भ्रम नं. १. आईभिएफमार्फत जन्मने बच्चा अन्य सामान्य बच्चा जस्तै हुन्छन् ?
तथ्य :
प्राकृतिक रुपमा गर्भवती हुँदा अण्डाको विकासदेखि भ्रूण बन्ने प्रक्रिया सबै आमाकै शरीरमा हुन्छ । तर, आईभिएफको हकमा अण्डा र शुक्राणुको मेल अथवा भ्रूण बन्ने प्रक्रिया सबै आईभिएफ ल्याबमा हुने र त्यसपछि बनेको भ्रूण आमाको पाठेघरभित्र राखिन्छ । ल्याबमा भ्रूण बन्ने भएकाले धेरैलाई आईभिएफमार्फत जन्मेको बच्चा सामान्य हुँदैन की भन्ने लागेको हुनसक्छ ।
तथ्य
भ्रूण प्रयोगशालामा बनाए पनि पूर्ण विकास आमाको गर्भमा नै हुन्छ । भ्रूणको विकास सामान्य गर्भावस्थामा जस्तै हुन्छ । त्यसैले आईभिएफमार्फत गर्भवती हुने महिलालाई सामान्य गर्भावस्थामा जस्तै अनुभव हुन्छ ।


यसबाहेक यदि परिवारमा कुनै वंशाणुगत रोग भएमा जेनेटिक टेष्टिङ (भ्रूणको जाँच) पनि गर्न मिल्छ । जसमार्फत यो रोगको जिन भए नभएको पत्ता लगाउन सकिन्छ । यसो गर्दा जन्मेको बच्चा अझ स्वस्थ्य हुन्छ ।

भ्रम नं. २ : आईभिएफ गरेपछि गर्भवतीले नौ महिनासम्म ओछ्यानमा आराम गर्नुपर्छ ।
तथ्य :
आईभिएफ गर्भवती हुने एउटा प्रक्रिया मात्र हो । एकपटक भ्रूण पाठेघरमा राखेपछि बच्चाको विकास सामान्य गर्भावस्थामा जस्तै हुन्छ । अर्थात् सामान्य गर्भावस्थामा डाक्टरले जुन काम गर्न अनुमति दिएको हुन्छ यसमा पनि चिकित्सकको सल्लाहमा त्यही काम गर्न सकिन्छ । तर, सामान्य गर्भावस्थामा पनि कारणवश केही कम्प्लिकेशन भए आराम लिनुपर्छ । त्यस्तै, आईभिएफको दौरान यस्तो समस्या आए आराम लिनुपर्छ ।

भ्रम नं. ३ : आईभिएफ प्रक्रियाले सबै अण्डा नष्ट गर्छ र महिलामा रजोनिवृत्ति निम्त्याउँछ ।
तथ्य:
आईभिएफ प्रक्रियाले तपाईंको अण्डा सकाउने भन्ने हुँदैन । प्राकृतिक चक्रमा महिलाको अण्डाशयबाट हरेक महिना कहिले दायाँ त कहिले बायाँबाट परिपक्व अण्डा बाहिर निस्कन्छ । त्यो अण्डा फर्टिलाइज भएपछि मात्र भ्रूण बन्छ । अन्यथा गर्भ रहँदैन । एउटा अण्डाको जीवित रहने समय २४ घण्टासम्म हुन्छ । यो परिपक्कबाहेक अरू अण्डा पनि हुन्छन् जो परिपक्क नभई आफैं खेर जान्छन् ।

आईभिएफमा ती खेर जाने समेत गरी १० देखि १५ वटा अण्डा निकाल्ने प्रयास गरिन्छ । आईभिएफको लागि अण्डा निकालेपछि अर्को महिना अण्डा बन्दैन भन्ने धारणा गलत हो । यी अण्डाहरू अर्को महिना फेरि निस्कन्छन् ।


भ्रम नं. ४ः आईभिएफ प्रक्रियामा जुम्ल्याहा बच्चा हुन्छन् ।
तथ्य :
आईभिएफमा महिलाको उमेर र निःसन्तानपनको कारण बुझेर एक वा सोभन्दा बढी भ्रूण ट्रान्सफर गरिन्छ । दुई वा सोभन्दा बढी भ्रूण ट्रान्सफर गरे मात्रै जुम्ल्याहा हुने सम्भावना बढ्छ । तर, जुम्ल्याहा हुन पनि आफ्नै कम्प्लिकेशन हुन्छन् । यद्यपि, सिंगल इम्ब्रियो ट्रान्सफर प्रक्रिया धेरैले अपनाउँदै आएका छन् ।

डा. अर्चना शाक्य धाख्वा

भ्रम नं. ५ : यो युवा जोडीहरूका लागि मात्र उपयोगी हुन्छ ।
तथ्य :
आईभिएफ प्रक्रियामा युवा जोडी अथवा २५ देखि ४५ वर्षसम्मका लाग मात्र नभई महिनावारी सुकिसके (रजोनिवृत्ति) को महिलालाई गर्भधारण गराउन पनि सकिन्छ ।

अहिले प्रायः महिलामा कामको व्यवस्तता वा कुनै कारण ढिलो विवाह गर्ने सोच वा ढिलो बच्चा जन्माउने सोच देखिन्छ । यस्तोमा समयमै आफ्नो अण्डा निकालेर ल्याबमा फ्रिज गरेर राखेरपछि आईभिएफमार्फत बच्चा जन्माउन सकिन्छ ।


भ्रम नं. ६ : एकपटक आईभिएफ गरेर बच्चा जन्मिएपछि दोस्रोमा पनि आइभिएफ नै गर्नुपर्छ ।
तथ्य :
एकचोटी आईभिएफ गरेर बच्चा जन्माएपछि फेरि गर्भधारण प्राकृतिक रुपमा हुँदैन भन्ने होइन । आईभिएफ गरेर बच्चा भएमा डेलिभरीपछि दोस्रो बच्चाको योजना गर्दा महिलामा ओभुलेसन आफैं भएको र प्राकृतिक रुपमा गर्भवती भएका प्रशस्त छन् ।


भ्रम नं.७ : प्राकृतिक रुपमा बच्चा पाएकाहरूले आईभिएफ गर्नुपर्दैन ।
तथ्य :
पहिलोपटक आफैं बच्चा बस्यो भन्दैमा दोस्रोपटक पनि आफैं बस्छ भन्ने धारणा गलत हो । महिलाको उमेर बढ्दै जाँदा अण्डाको गुणस्तर र संख्यामा ह्रास आउँछ । जसका कारणले पहिले आफैं बच्चा भए पनि दोस्रोपटक आफैं नहुन सक्छ । यसबाहेक पाठेघरको नली बन्द हुनु, पतिको वीर्यमा समस्या हुनु जस्ता कारणले पनि दोस्रोपटक आफैं बच्चा नबसेर आईभिएफ प्रक्रियाको सहायता लिनुपर्ने हुनसक्छ ।
(डा. शाक्य नेपाल इन्टरनेशनल फर्टिलिटी एण्ड ल्याप्रोस्कोपिक सेन्टरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्