मानसिक हस्पिटलमा पेइङको नाममा चर्को शुःल्क

फातिमा बानु || प्रकाशित मिति :2018-11-11 05:53:08

काठमाडौँ — सम्बन्धविच्छेदपछि मानसिक समस्या भोगिरहेकी स्याङ्जाकी भगवती पौडेल केही दिनअघि उपचारका लागि पाटनस्थित मानसिक अस्पताल पुगिन् । अस्पतालमा टिकट शुल्क कतै टाँसिएको देखिनन् । साथमा गएका छोरा आशिष पौडेलले टिकटबारे काउन्टरमा सोधपुछ गरे ।

टिकट शुल्क ४ सय रुपैयाँ भनेपछि उनी अचम्म परे । उनले भने, ‘सरकारी अस्पतालमा पनि टिकटको ४ सय लिइँदो रहेछ, ४ सय तिरेर ४ घण्टा कुरेपछि बल्ल डाक्टर भेटिए, तर जम्मा ३ मिनेट मात्रै समय दिए ।’ पहिलो दिन महँगो शुल्क तिरेपछि हरेक फलोअपमा पनि ४ सय खर्च हुँदा पौडेल परिवार दु:खी छ । ‘लामो समय उपचार गर्नुपर्छ रे, कहिलेसम्म निजी अस्पतालमा जस्तो धेरै पैसा खर्च गर्नु,’ पौडेलले भने ।

मानसिक अस्पतालमा साधारण ओपीडी शुल्क ४० रुपैयाँ हो । पौडेलले काटेको टिकट विस्तारित ओपीडी सेवाको थियो । सरकारी अस्पतालमा ४ बजेपछि दिइने ‘पेइङ क्लिनिक’ विस्तारित ओपीडी सेवा हो । यस्तो सेवा शुल्क साधारणभन्दा महँगो हुन्छ । विशेषगरी सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अभ्यासतर्फ आकर्षण घटाउन सरकारले यस्तो सेवा चलाएका हो ।

तर, अस्पताल प्रशासनले बिहानैबाट ‘पेइङ क्लिनिक’ को टिकट बेच्न थालेपछि सोझासाझा बिरामी मारमा पर्ने गरेका छन् । राजधानीको वीर अस्पताल, ट्रमा सेन्टर र प्रसूति गृहमा पनि यस्तो सेवा सञ्चालनमा छ । बेलुका मात्रै हुनुपर्ने यस्ता सेवाको टिकट बिहानै काटिन थालेपछि महँगो शुल्क तिर्न बाध्य भएकोबिरामी सुनाउँछन् ।

मानसिक अस्पताल परिसरमा कतै पनि टिकट शुल्क दर लेखको या टाँसिएको छैन । बिरामी अलमल पर्छन् । पौडेलको ओपीडी बुकअनुसार अस्पतालले १२ बजेर ५५ मिनेटमा ‘पेइङ क्लिनिक’ को टिकट काटेको छ । बुकमा सेवाको प्रकार ओपीडी नै लेखिएको छ । शुल्क भने ‘पेइङ क्लिनिक’ को ४ सय लिएको देखिएको छ । मानसिक अस्पतालमा ‘पेइङ क्लिनिक’ सेवाका लागि टिकट लिने समय दिउँसो साढे दुई बजे तोकिएको छ । तर, काउन्टर कर्मचारीले बिरामीलाई सोध्दा पनि नसोधी १२ बजे अगाडि नै महँगो शुल्कको टिकट थमाइदिने गरेका छन् ।

यसबारे अस्पतालका सूचना अधिकारी डा. अनन्त अधिकारी भन्छन्, ‘पेइङ क्लिनिक बिरामीले रोज्ने विषय हो, बिरामीलाई नसोधी यो टिकट बेच्न पाइँदैन ।’ कर्मचारीको यस्तो अभ्यासबारे आफूलाई केही थाहा नभएको उनले बताए । कार्यालय समयमा अस्पताल जान नभ्याउने बिरामीले यो सेवा लिने गरेका छन् । यो सेवामा बिरामीले पालो नकुरी आफूले रोजेको चिकित्सकबाट उपचार लिन सक्छन् ।

बिरामीलाई थाहा नदिई समयअगावै ‘पेइङ क्लिनिक’ को टिकट बेच्नु न्यायसंगत नभएको डा. अधिकारी बताउँछन् ।

टिकट बेच्ने विषय त उदाहरण मात्रै हो । मानसिक उपचारका लागि देशको एक मात्रै रिफरल केन्द्रका रूपमा स्थापित पाटन मानसिक अस्पताल अव्यस्थित हुँदै गइरहेको छ । यो अस्पताललाई सरकारले विशेष प्राथमिकतामा राखेको पनि छैन । स्थापनाकालदेखि नै अपुग जनशक्ति, साँघुरो भौतिक संरचना, कर्मचारी समन्वय अभावमा अस्पताल चलिरहेको छ ।

दैनिक करिब डेढ सयको हाराहारीका बिरामीको आगमन हुने अस्पतालमा ५० बेड मात्रै छन् । अस्पतालले बिरामीको चाप थेग्नै सकिरहेको छैन । भर्ना भएर उपचार गर्नुपरेका बिरामीले कम्तीमा २० दिन कुर्नुपर्ने अवस्था छ । त्यसमा पनि राजनीतिक पहुँच हुने बिरामी उपचारको पहिलो प्राथमिकतामा पर्ने गरेका छन् ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पनि न्यून छ । तीन चिकित्सकको दरबन्दी खाली नै छ । चिकित्सक अभावका कारण अस्पतालले खाली दरबन्दीमा चिकित्सक ल्याउन सकेको छैन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतका आवासीय चिकित्सकले सेवा केही सजिलो बनाउन सघाएका छन् ।

कार्यरत नर्स मानसिक रोग सेवा पृष्ठभूमिका छैनन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बिरामी र नर्सको अनुपात पनि मिलेको छैन । नर्सहरू मानसिक रोगबारे पढेका र तालिम लिएका हुनुपर्ने अस्पताल कर्मचारीको माग छ । त्यस्तै, बिरामीको चापअनुसार सेवा चुस्त दुरुस्त बनाउन बेडको संख्या बढाउनुपर्ने उनीहरू बताउँछन् । डा.अधिकारी भन्छन्,‘हामीले तीन सय बेड मागेका छौं, केही उपकरण पनि अत्यावश्यक छ ।’
स्रोतःकान्तिपुर दैनिक

    Comment Here!