Logo
|
Friday 26th April 2024
Logo

epaper

कोमाका बिरामी सुटुक्क



आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ ।

सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपल्ट रुकुमको चौखावाङ–९ गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याएको हो । बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै ओम समाजका मेडिकल निर्देशक डा. भीमनाथ खरेलले केही बिरामी ल्याइसकेको बताए ।
‘‘आर्थिक लाभका लागि ओम समाज अस्पतालले परिवारलाई थाहै नदिई कतारबाट कोमाका बिरामी ल्याउने गरेको छ ।’’

चार वर्षदेखि कोमामा रहेका बुढालाई नेपाल लैजाने प्रबन्ध मिलाउन हमादले कतारस्थित नेपाली दूतावासलाई दबाब दिँदै आएको थियो । बिरामी ल्याउन आफू तयार भएको भन्दै ओम अस्पतालले गत सेप्टेम्बर १८ मा हमादलाई पत्र पठाएको थियो ।

कतार टेक्निकल आल्मुनियम कम्पनीमा स्काफफोल्डिङको काम गरिरहेका बेला फलामको पाइप खसेर टाउकोमा लाग्दा बुढा कोमामा गएका थिए । कमजोर आर्थिक अवस्थाका बुढाका परिवारले नेपाल ल्याएर उपचार गर्न नसक्ने दूतावासलाई जानकारी गराएको थियो । ‘हामीले क्षतिपूर्ति प्रक्रिया अगाडि बढाउने अधिकार (पावर अफ अटर्नी) मात्रै नेपाली दूतावासलाई दिएका थियौं । त्यसमा बिरामी नेपाल ल्याउने विषय लेखिएको थिएन,’ ललितका दाजु गोवद्र्धन बुढाले कान्तिपुरलाई भने, ‘एक्कासि अस्पतालले तपाईंको भाइ आउँदै छ भनेर फोनमा काठमाडौं बोलायो ।’ ललितलाई हमाद अस्पतालको चिकित्सकसहितको टोलीले गत बिहीबार मेडिकल स्कर्टिङमा नेपाल ल्याएको थियो ।

बिरामी अस्पतालको जिम्मा लगाएर टोली फर्किइसकेको छ । ‘म त बिरामी ल्याएको दुई दिनपछि मात्रै रुकुमबाट काठमाडौं आइपुगेको हुँ,’ गोबर्धनले भने, ‘बिरामीलाई ल्याउन कसले अनुमति दियो ? अस्पतालले कसरी ल्याएर राख्यो ? केही थाहा भएन ।’ निर्देशक खरेलले परिवार र नेपाली दूतावासको स्वीकृतिमा आफूहरूले बिरामी बुझेको दाबी गरे । ‘कतारबाटै बिरामी बुझ्न हामीलाई भनियो । परिवारको सहमतिबिना बुझ्ने गरेको छैन,’ उनले भने ।

कतारका लागि नेपालका राजदूत डा. रमेश कोइरालाले ललितलाई नेपाल पठाउन दूतावासले स्वीकृति नदिएको बताए । ‘दुई अस्पतालबीच आपसी सम्पर्क वा सम्झौताअनुसार बिरामी लिएर गएको हो, यसमा हाम्रो संलग्नता छैन,’ उनले भने, ‘पीडित परिवारले सहमति नदिएसम्म हाम्रो तर्फबाट बिरामी पठाउने कार्यमा सहजीकरण गर्न मिल्दैन ।’

बिरामी ल्याए बापत अस्पतालले खर्च दिने बताए पनि कति रकम हो भन्ने डा. खरेलले खुलाएनन् । केही समय अगाडि हमादले कोमाका बिरामी राख्ने अस्पताललाई ५० हजार रियाल (१५ लाख रुपैयाँ) दिने वचन दिएको थियो । ‘दूतावासले कोमाका बिरामी लैजान सहयोग नगरेको भन्दै हामीलाई अनुरोध गरेको थियो । त्यतिखेर ५० हजार रियाल र दुई महिनासम्मको खर्च बेहोर्न तयार रहेको बताएको थियो,’ गैरआवासीय नेपाली संघ कतारका तत्कालीन अध्यक्ष मक्सुद आलामले भने ।

उनले भने, ‘नेपालमा परिवारसँग भेटाउन पनि बिरामी पठाउनुपर्छ भन्ने लागेको थियो । अस्पताललाई सहयोग गर्न अग्रसर पनि भयौं । तर, परिवारले सहमति नदिएपछि हामी पछाडिहट्यौं ।’ पहिला एउटा बिरामी ल्याएपछि आफूहरूको सम्पर्क हमाद अस्पतालसँग भएको र त्यसपछि २–४ जना ल्याएर राखेको डा. खरेलले बताए । ‘केही दिन राखेपछि परिवारले आफूलाई पायक पर्ने ठाउँमा लिएर गए । हामी अप्ठ्यारोमा परेकालाई मात्रै सहयोग गर्छौं । जोसुकैलाई गर्दैनौं,’ उनले दावी गरे ।

अस्पतालले ललितलाई ल्याएको ७ दिन कटेको भन्दै अन्तै लैजान परिवारलाई दबाब दिन थालेको छ । ‘७ दिन कटिसक्यो । बाहिर लिएर जानु भनेको छ,’ उनका आफन्त दीपक केसीले भने, ‘वीर र टिचिङ अस्पताल गयौं । उनीहरू ठाउँ छैन भन्छन् । हामी त समस्यामा छौं ।’

परिवारले ललितलाई गाउँ लिएर जाने अवस्था नभएको बताएको छ । ‘हामी दैनिक श्रम गरेर ज्यालादारी गरिरहने सामान्य परिवार हो । ललित दुर्घटनामा परेको एक वर्षपछि श्रीमतीले छोडेर गइन् । पाँच वर्षकी छोरी मामाघरमा छिन् । घरमा ८० कटेका बुबाआमा छन्,’ गोवद्र्धनले भने, ‘उता कुन अस्पतालमा लगेर राख्ने ? उपचार खर्च कति लाग्ने हो ? कसले बेहोर्ने ?’

परिबारले बिरामीको जिम्मा लिई उपचार खर्च बेहोर्न वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई आग्रह गरेको थियो । बोर्डले कोमाका बिरामीबारे बनेको कार्यविधिमा छलफल भइरहेको भन्दै खर्च तत्काल बेहोर्न नसकिने जवाफ दिएको छ ।

केही अघि कतार भ्रमणमा पुगेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसमक्ष कतारी अधिकारीले कोमाका बिरामीलाई नेपालमा लैजानेबारे विषयको ध्यानाकर्षण गराएका थिए । कतारका अस्पतालमा १४ जना नेपाली कोमामा छन् । स्रोतः कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्