स्वास्थ्यमा बेथिति : छैन जनशक्ति र संरचना

 भीमबहादुर सिंह, जाजरकोट || प्रकाशित मिति :2019-01-06 04:42:09

गत वर्षको फागुनमा जिल्ला अस्पताल भर्ना भएकी कुशे गाउँपालिका ४, तम्तीकी ४० वर्षीया विपना शाही तीन दिनसम्म पनि सुत्केरी हुन सकिनन् ।

जाजरकोट अस्पतालको जीर्ण भवन र अस्पतालको फार्मेसी कक्षअघि घाम ताप्दै बिरामी । तस्बिर : भीमबहादुर/कान्तिपुर

अवस्था जटिल हुँदै गएपछि हेलिकप्टरद्वारा नेपालगन्ज पुर्‍याएर ज्यान बच्यो । सोही गाउँपालिका ८, रिजापहाडाकी ३० वर्षीया चन्द्रादेवी रोकामगरको सुत्केरी भएको ९ दिनसम्म रक्तस्राव नरोकिँदा थप उपचारका लागि हेलिकप्टरबाटै नेपालगन्ज पुर्‍याउनुपर्‍यो ।

विशेषज्ञ चिकित्सकसहितको अस्पतालमा पुगेर पनि ज्यान जोगाउन हेलिकप्टरको सहारा लिनुपर्ने यी केही प्रतिनिधि हुन् । अस्पतालमा दरबन्दीअनुसार जनशक्ति र संरचना नहुँदा जिल्लाका बासिन्दाले सास्ती भोगिरहेका छन् । बर्सेनि झाडापखाला, स्वाइन फ्लुलगायत महामारीको मारमा पर्ने यो जिल्लामा सरकारले अझै पनि स्वास्थ्य क्षेत्र प्रवद्र्धनमा चासो नदेखाएको स्थानीयको आरोप छ ।

५० शय्याको जिल्ला अस्पतालमा ‘सिजरियन डेलिभरी’ (शल्यक्रिया गरी बच्चा निकाल्ने) सेवा सञ्चालनमा छैन । स्त्रीरोग विशेषज्ञ (कन्सल्टेन्ट सर्जन) को दरबन्दी त छ तर चिकित्सक छैनन् । यसले गर्दा जटिल अवस्थाका गर्भवती/सुत्केरीले सास्ती भोग्नुपरेको हो ।

‘हुन त विशेषज्ञ चिकित्सक भएको अस्पताल हो, सर्जन नहुँदा समस्या भइरहेको छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशरजंग कार्कीले भने, ‘यसले गर्दा जटिल प्रकृतिका सुत्केरीलाई जिल्लाबाहिर रिफर गर्न बाध्य छौं ।’

उल्टो बच्चा भएका, लामो समयसम्म व्यथा लागेका र सुत्केरी हुनुअघि वा पछि उच्च रक्तस्राव भएका सुत्केरीलाई रिफर गर्नुको विकल्प नरहेको उनले बताए । मंसिर ४ गते बारेकोट २, रोकायागाउँकी ४२ वर्षीया मैसरा थापा अस्पतालको यही दुरावस्थाको नियति भोग्न बाध्य भइन् ।

अस्पतालमा ४ दिन राख्दा पनि सुत्केरी गराउन नसकिएपछि उनको परिवारले हेलिकप्टरबाट बाहिर लग्यो । दुई साताअघि मात्र भेरी नगरपालिका ३, ठाँटीबजारकी प्रतिभा पुनलाई चौरजहारीबाट जहाज चार्टर गरी नेपालगन्ज पुर्‍याइयो । सुत्केरीपछि उनमा उच्च रक्तचाप देखिएको थियो ।

‘सुत्केरी गराउनसमेत नसक्ने अस्पतालबाट हामीले के आशा–भरोसा गर्ने ?’ स्थानीय प्रकाश शाहीले भने, ‘सेवा सुविधा हेर्ने हो भने त यसलाई अस्पताल भन्नै लाज लाग्छ ।’

१५ शय्याको अस्पताललाई ३ वर्षअघि ५० शय्यामा स्तरोन्नति गरिएको हो । तर, सो अनुुसार संरचना र जनशक्ति नथपिँदा सर्वसाधारणले सहज सेवा पाउन सकेका छैनन् । अस्पतालमा ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसियासमेत गरी ९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ ।

तर, हालसम्म एकजना पनि विशेषज्ञ आएका छैनन् । भौतिक पूर्वाधार अवस्था पनि उत्तिकै नाजुक छ । बिरामीलाई सुताउने बेडसमेत गतिला छैनन् । ७ वर्षअघि निर्माण सुरु भएको मातृशिशु भवन अलपत्र छ । डिजिटल एक्स–रे, भिडियो एक्स–रे, ल्याबकोठालगायत व्यवस्था नहुँदा उपचारमा समस्या हुने गरेको निमित्त सुपरिटेन्डेन्ट कार्की बताउँछन् ।

यसले गर्दा जटिल अवस्थाका सुत्केरी मात्र होइनन्, अन्य स्वास्थ्य समस्या लिएर पुग्ने बिरामी पनि ढुक्कसँग उपचार पाउन सक्दैनन् ।

बर्सेनि विभिन्न महामारीले सताइरहने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको अवस्था पनि उत्तिकै नाजुक छ । गर्खाकोट र लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा वर्ष दिनदेखि चिकित्सक छैनन् । औषधि अभावले बिरामी निजी मेडिकल धाउन बाध्य छन् ।

कतिपय बिरामी त धामीझाँक्रीकोमा समेत धाउन बाध्य छन् । मेडिकल सुपरिटेन्डेन्ट डा. कार्कीले जिल्लाभरका करिब ३ दर्जन स्वास्थ्य संस्थामा औषधि, उपकरण र जनशक्ति अभाव रहेको बताए ।

यसैबीच, जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले एक वर्षदेखि अतिरिक्त भत्ता पाउन सकेका छैनन् । ड्युटीको बेलाभन्दा थप काम गरेबापत दिइने भत्ताबाट वञ्चित गरिँदा चौबीसै घण्टा सेवा सञ्चालन गर्न गाह्रो भएको अस्पतालको भनाइ छ । कान्तिपुुरदैनिकबाट

    Comment Here!