Logo
|
Sunday 27th October 2024
Logo

epaper

गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत हाल कार्यान्वयनमा रहेको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार र उपचार कार्यक्रम ज्यादै प्रभावकारी देखिएको छ ।
सडक सञ्जाल नपुगेको दुर्गम र पिछडिएको क्षेत्रका महिला कार्यक्रमको प्राथमिकतामा परेकाले पनि कार्यक्रम प्रभावकारी भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने कार्यक्रम सुरु भएको १३ महिनामा गम्भीर अवस्थामा पुगेका ५३ जनाको ज्यान बचाउन सफल भएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७५ असोज ३० गते बनेपछि कार्यान्वयनमा आएको बताउनुभयोे । “यस कार्यक्रमले असाध्यै राम्रो परिणाम देखाएको छ, स्वास्थ्य गम्भीर अवस्थामा पुगेका सुत्केरी महिलाको उद्धार गरी उपचार गरेर आमा र शिशुको ज्यान बचेको छ,” उहाँले भन्नुभयो । स्वास्थ्य सेवाबाट वञ्चित दुर्गमका महिलाको ज्यान मात्र जोगिएको छैन, राज्यले नागरिकको जीवन रक्षाका लागि निर्वाह गर्नुपर्ने भूमिका प्रभावकारी भएको उहाँ बताउनुहुन्छ । “मातृशिशु मृत्यु दरमा कमी ल्याउनसमेत योगदान पुगिरहेको छ,” मन्त्री थापाले कार्यक्रममा प्रभावकारिता स्पष्ट पार्नुभयो ।
कार्यक्रमको कार्यविधिअनुसार दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य समस्या देखिए यो कार्यक्रम आकर्षित हुन्छ । सुविधासम्पन्न अस्पतालमा उपचार नगरिए ज्यान जान सक्ने सम्भावना भएमा स्थानीय वडा अध्यक्ष, उपाध्यक्ष, स्वास्थ्य स्वयंसेविकालगायत  स्थानीय स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको सिफारिस र खबरका आधारमा सो मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा गर्भवती वा सुत्केरी महिलालाई तत्काल हवाई उद्धार गरिँदै आएको छ ।
केन्द्रमा राष्ट्रपति उत्थान कार्यक्रम समन्वय एकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ । एक वर्षअघि कार्र्यिवधि बनेपछि गएको पुस ६ गते हुम्ला जिल्लाको २२ वर्षीया नीरा शाहीको पहिलोपटक उद्धार गरेर यस कार्यक्रमको सुरुआत भएको थियो ।
सो एकाइमा कार्यरत शाखा अधिकृत प्रमिला भण्डारीका अनुसार पछिल्लोपटक यही कात्तिक १८ गते मुगु जिल्लाको कर्मारोग गाउँपालिका–८ माङ्ग्री गाउँकी कर्मायोञ्जुङ लामाको उद्धार गरिएको जानकारी दिनुभयो ।
यस कार्यक्रमबाट जोखिममा परेका विन्दा भुजेल, लोककुमारी लिम्बू, रोमी विक, शान्ति बुढा, अञ्जना बोहोरा, मीना तामाङ, चन्द्ररूपा शाही, धनकुमारी राई, ललिता थापा, जुना तामाङ, जसुदेवी शाही, लगना बोहोरा, सुशीला विक, स्वस्तिका बम, कमला राईलगायत ५३ जनालाई उद्धार गरिएको छ । दुर्गममा बसोबास गर्ने विपन्न परिवारका महिलाले बढी प्राथमिकता पाइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।
दार्चुला, बैतडी, मुगु, डोटी, अछाम, जाजरकोट, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, म्याग्दी, ताप्लेजुङ, रसुवा, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिमका सडक सञ्जाल नपुगेका हिमाली र पहाडी भेगमा यो कार्यक्रम सञ्चालन गरिएको छ ।
कान्छी गुरुङ, दलिमाया तामाङ, ललिता बुढा, सरनमाया पुन, पासाङ डोल्मा, धना साउद, कर्मायोञ्जुङ लामा र प्रतीक्षा गुरुङले पनि सोही कार्यक्रमअन्तर्गत उपचार सेवा प्राप्त गर्नुभयो ।  गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्